coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सप्तकोशी तटीय क्षेत्रका बासीन्दालाई सचेत रहन सन्देश

सप्तकोशीको पूर्वी तटीय क्षेत्रका बासीन्दालाई सर्तक रहन सुरक्षाकर्मीद्वारा गरिएको पूर्व अभ्यास। तस्बिर: नागरिक

धनकुटा मुलघाट टोल विकास समितिका अध्यक्ष टीकारामले माथिल्लो पहाडी भेगमा वर्षा हुनासाथ सुरक्षाकर्मीलाई सूचना दिन्छन्। सुरक्षाकर्मीको टोलीले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सर्तक रहन सुचना सकुर्लर गर्छन्। स्थानीय पनि सुरक्षित रहने उपायको खोजीमा जुटछन्।  

लगतै सप्तकोसी नदीमा आएको बाढीले एक जना युवालाई वगाएर ल्याउँछ, बचाउन गुहार मागिरहेका युवालाई सुक्षाकर्मीको टोलीले सकुसल उद्दार गर्छ। टोलीले उद्दारपछि उपचारका लागि तुरुन्त अस्पताल पठाउँछ। हरेक बर्खाको बेला विनासलीला मच्चाउने खतरा रहेको  सप्तकोशीले मान्छेहरु बगाँउदै ल्याउँछ, उद्दारकर्ताहरु निरन्तर खटिन्छन्। यसरी निरन्तर उद्दारकर्ता खटिदा थुप्रै वेपत्ता पनि फेला पर्छन्। वेपत्ता फेला पर्ने क्रममा कोही सकुसल उद्दार गरिएका हुन्छन त कोही मृत अवस्थामा भेटिन्छन्।  

देख्दा यथार्थ लाग्ने यी दृष्य वास्तविकता भने होइनन्। प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुनसरी वराहक्षेत्र नगरपालिका चतरामा विहीबार आयोजना गरेको विपद्का समयमा सुरक्षाकर्मीको पूर्व अभ्यास कार्यक्रम हो।  

वर्षायाममा पानी पर्दा नदीहरुमा वाढी आउनु स्वाभाविक मानिन्छ। तर, सप्तकोसी नदीमा पानीको वहाव वढनासाथ आसपासका बासीन्दालाई भने ठुलै चिन्ताले सताउने गर्छ। सप्तकोसी छेउछाउका बासीन्दालाई सालिन्दा वर्षा लागेर पानी पर्नासाथ गास, बास र कपासको भन्दा आफ्नो सुरक्षाले बढी पिरोल्छ। त्यही भएर सप्तकोशीको तटीय क्षेत्रका बासीन्दालाई सन्देश दिन यस्तो पूर्व अभ्यास गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव ओमकार न्यौपानेले बताए।  

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले विपद व्यवस्थापनको क्षेत्रमा प्रदेश सरकारले महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताए।  

प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश सरकारले विपद् हुनपुर्व नै नागरिकलाई सुरक्षीत स्थानमा सार्नका लागि जोखिम क्षेत्रको नक्साङकनको काम अन्तिम चरणमा पु¥याएको बताए। ‘विपद्का वेला हरेक नागरिकको जिम्मेवारी उत्तिकै रहने भएकाले विपद्का बेला श्रोत साधनसहित मानसिक रुपमा तयार रहनुपर्छ,’ उनले भने।  

सप्तकोशी नदी आसपास बसोबास गर्ने नागरिक वर्षेनी पानीको वहाब बढ्नेवित्तिकै त्राहीमाम हुने हुँदा यस्तो अभ्यासले पक्कै पनि उनीहरुलाई पूर्व सचेत गराउछ।  २०६५ भदौ–२ गते सप्तकोसी नदीले पुर्वी तटबन्ध भत्काएर कोशी गाउँपालिकाको चारवटा वस्ती डुब्दा सात हजार ५ सय ६३ परिवार विस्थापीत भएका  थिए।  

२०६५ सालमा सप्तकोसीले तटबन्ध भत्काँउदै धार परिवर्तन गरेकोेमा तीन महिनाको निरन्तर प्रयासपछि पुरानै धारमा फर्काइएको थियो। एकपटक पूर्वी तटबन्ध भत्काएर पुनः पुरानै अवस्थामा फर्काएपनि कुनै पनि बेला बिनासलिला मच्चाउन सक्छ।  

सप्तकोशीबाट २०६५ सालमा आएको बाढीबाट मात्र पीडित भएका होइनन्। बराहक्षेत्र नगरपालिका क्षेत्रका बासीन्दा २०२२ सालयता पीडित हुँदै आएका छन्। उनीहरुले बेला–बेलामा आन्दोलन पनि गर्ने गरेका छन। २०२२ सालयता सप्तकोसीले बराहक्षेत्र नगरपालिका क्षेत्रका ३ हजार नौ सय परिवार पीडित भएको तथ्याङ्कले देखाएको छ। 

तथ्याङ्कअनुसार आठ हजार ६ सय विघा  खेतीयोग्य उर्वर भूमि कोसीले कटान गरेको छ। यो तथ्याङ्क पूर्व प्रशासक रामप्रसाद खतिवडाको संयोजकत्वमा २०६४ सालमा गठित उच्चस्तरीय समितिले पनि तयार गरेको थियो। सप्तकोशी पीडितले मुआब्जा र क्षतीपूर्तिको आश गर्दै आएका छन्। ०४६ सालको परिवर्तनपछि बनेका हरेक सरकार र निर्वाचनताका प्रमुख मुद्धा बन्दै आएको यो पीडामा मल्हम लगाउन कसैले सार्थक प्रयास गरेको छैन।

प्रकाशित: १६ असार २०७९ १३:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App