१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दिनहुँ भेल तर्दै ‘स्कुल’

बाढीले पुल बगाएपछि विद्यार्थी तार्दै शिक्षकहरु।

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्‍यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले बगाउँदा खोला उर्लिएर आएपछि विद्यार्थी, शिक्षक, अविभावक सबै चिन्तित् हुन्छन्।  

वर्षात नभएको दिन ठूला कक्षामा पढ्नेहरु जसोतसो विद्यालय गएपनि स–साना बालवालिकालाई बोकेर तार्नुपर्छ। तीन सातादेखि यो क्रम चलिरहेको छ। जेठ २६ गते राति आएको बाढीले पुलमा क्षति पुगेपछि एक सय ५० जना विद्यार्थीलाई विद्यालय आउजाउ गर्न समस्या भएको धर्मोदय माविका प्रधानाध्यापक कृष्ण न्यौपानेले बताए। ‘दुई साता यता दिनहुँ जसो पानी परेको छ, खोला उर्लिएको बेला बोकेर विद्यार्थी तार्न सकिँदैन, सानो भएका बेला तारिरहेका छौँ।’ बालबालिकालाई खोला तार्न प्रहरी, स्थानीयबासी, अविभाबक, शिक्षकहरुले सघाउँदै आएका छन्।

विद्यार्थीलाई आलोपालो गरी खोला तार्ने गरिएको छ। पुल बगाएदेखि सबै विद्यार्थी नियमित विद्यालय आउनै समस्या भएको उनले बताए। केहीदिन यता विद्यालय जाने र फर्कने समस्यामा प्रहरीले खोलामा बसेर विद्यार्थी तार्ने गरेको छ। अविभाबक र शिक्षक पनि साथैदेखिन्छन्। सँधै यसरी संभव नभएको भन्दै तत्काल पुल बनाईदिन शिक्षक र अविभाबकले हारगुहार गरिरहेका छन्।  

सोही ठाउँको त्रिवेणी माविमा पढ्ने एक सय भन्दा धेरै विद्यार्थी चुक्ति खोलाको पुल तरेर विद्यालय आउजाउ गर्थे। उक्त पुल पनि जेठ २६ गते बगाएपनि अहिले खोलाबाट विद्यार्थी हेलिनुपरेको छ। ‘पानी ठूलो परेको दिन शिक्षकहरु त तर्न मुस्किल पर्छ’ शिक्षक भुबन सेढाँईले भने ‘विद्यार्थीले कसरी तर्न सक्नु।’

चुक्ती खोलाको बाढीले ढुंगेटारीको पुलमा क्षति पुर्‍याएपछि पालुङटार ९ को मदनेडाँडा माविका विद्यार्थी पनि समस्यामा छन्। बिर्दीबाट मदनेडाँडा पढ्न जाने १५/२० जना बालबालिका खोला बढेका बेला पढाइबाट बञ्चित हुने गरेका प्रधानाध्यापक रुद्र उप्रेतीले बताए।  

बाढीले पुल भत्काएदेखि मर्मत भएको छैन। वर्षात भएको दिन खोला तरेर जानुपर्ने विद्यार्थी निकै कम हुन्छन्। खोला तरेर विद्यालय जानुपर्ने विद्यार्थीलाई सँधै समस्या छ, पानीमा हेलिँदै जानुपरेको छ, पानी नपरेको दिन मात्रै पढ्नुपर्ने भयो’ स्थानीय दिपक अधिकारीले भने ‘संबन्धीत निकायले छिटो बनाउन पहल गर्नुपर्छ, अन्यथा जोखिम छ, दुर्घटना हुन सक्छ।’

बाढीले पुल बगाएपछि विद्यार्थी तार्दै प्रहरीहरु। तस्बिरः नागरिक  

प्रधानाध्याक, अविभाबकहरुले वडा अध्यक्ष, मेयरलाई पनि पुल नहुँदा विद्यार्थीलाई आउजाउमा समस्या भएको बारे ध्यानाकर्षण गराएका छन्। वडा अध्यक्ष भेजराज पाण्डेले वडाको बजेटबाट पुल तत्काल बनाउन संभव नभएको बताउँदै भने ‘यो समस्याको बारेमा नगरपालिकामा पनि भनेको छु, थप केही जानकारी आएको छैन, दिनदिनै दुःख थपिएको छ विद्यार्थी, शिक्षक, स्थानीयलाई पनि आउजाउ गर्न जोखिम बढेको छ।’

प्रकाशित: १३ असार २०७९ १५:१३ सोमबार