१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

जिल्ला प्रहरी कार्यालय कास्कीभित्र पुस्तकालय स्थापना

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र स्थापना गरिएको पुस्तकालय। तस्बिरः सन्देश श्रेष्ठ÷नागरिक

जिल्ला प्रहरी कार्यालय कास्कीको हाताभित्र पुस्तकालय स्थापना गरिएको छ। जिप्रका कास्कीले आफ्नो परिसर भित्रै पुस्तकालय स्थापना गरेको हो।  

जिप्रकाको मुख्य भवन भन्दा पूर्व दक्षिणतर्फ छुट्टै एकतले भवन निर्माण गरेर बनाइएको पुस्तकालयको सोमबार नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कृष्णप्रसाद शर्मा, प्राध्यायकहरु डा.कुसुमाकर न्यौपाने, कपिल अधिकारी र सरोज कोईरालाले संयुक्त रुपमा उद्घाटन गरे।

जिप्रका कास्कीको आफ्नै खर्चमा पुस्तकालय स्थापना गरिएको कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले बताए। पुस्तकालय स्थापनाका लागि पोखरा महानगरपालिका र रुपा गाउँपालिकाले संस्थागत सहयोग गरेको उनले जानकारी दिए। एसपी थापाले भने, ‘ज्ञानको भण्डार स्थापना गर्नेजस्तो पवित्र ठाउँ बनाउँदा अपवित्र ठाउँबाट खर्च लिनु हुँदैन भन्नेमा हामी दृढ छौं र त्यस्ताबाट सहयोग नलिई निर्माण ग¥यौं।’ पुस्तकालयसँगै कफी जोन पनि राखिएको छ। जहाँ पुस्तक अध्ययन गर्नेहरुले कफीको स्वाद लिन सक्नेछन्।

समाजलाई प्रहरीसँग जोड्ने उद्देश्यले स्थापना गरिएको सो पुस्तकालयमा सबै नागरिकको पहुँच हुनेछ। अर्थात जो कोही व्यक्तिले त्यहाँ गएर पुस्तक अध्ययन गर्न पाउनेछन्। साथै थुनुवालाई पनि पालैपालो आफूले चाहेको पुस्तक अध्ययन गर्न दिईने एसपी थापाले बताए।

एसपी थापाले पुस्तकालय निर्माण गर्नुको दुई उद्देश्य रहेको बताए। उनले भने, ‘पहिलो त समुदायलाई प्रहरी कार्यालयमा स्वागत गर्दै उहाँहरुसँग प्राज्ञिक बहस गर्ने र अर्कोचाहीँ प्रहरीलाई अध्ययनशील बनाएर क्षमता, दक्षता अभिबृद्धि गरी अनुसन्धानमा निपूर्ण बनाउनका लागि सघाउनु नै यसको उद्देश्य हो,’ उनले भने।

प्रा.डा.कुसुमाकर न्यौपानेले आपराधिक क्रियाकलापमा लागेकाहरुले पनि पुस्तकालयमा अरुले अध्ययन गरेको देखेर आफूलाई पनि सुधार गर्नुपर्छ भन्ने भावनाको विकास गर्न पुस्तकालयले सघाउने विश्वास व्यक्त गरे। ‘यो सत्कर्म गर्नु भो, यसले आपराधिक क्रियाकलापमा लागेकाहरुलाई पनि नैतिकवान र चरित्रवान बनाउन प्रेरित गर्छ,’ उनले भने।

गण्डकी विश्वविद्यालयका डिन प्राडा कपिल अधिकारीले प्रहरीलाई पुस्तकसँग जोड्नु राम्रो कुरा भएको बताए। संगठनको स्वास्थ्यसँग अध्ययनको भूमिका हुने भन्दै उनले भने,‘जुन संगठनका कर्मचारी अध्ययनशील हुन्छ त्यो संगठन स्वस्थ हुन्छ। अनि परिणाममुखी पनि बनाउँछ।’

पृथ्वीनारायण क्याम्पस पोखराका प्रमुख प्रा.डा.सरोज कोईरालाले पुस्तकालयलाई कुनै एउटा विषय केन्द्रीत गर्न सुझाव दिए। त्यसो भएमा सो विषयमा अध्ययन अनुसन्धान गर्न देशभरका मान्छे खोज्दै आउने उनको भनाई थियो। एसएसपी कृष्णहरी शर्माले प्रहरीले कानून सबै जान्नुपर्ने भएको र त्यो अध्ययनपछि मात्र थाहा हुने भएकाले पुस्तकालयले त्यसमा सघाउने विश्वास व्यक्त गरे। कास्कीका प्रमुख जिल्ला अधिकारी जयराम आचार्यले प्रहरी कार्यालय आउँदा नागरिक झस्किने स्थितिको अन्त्य पुस्तकालयले गर्ने बताए।

प्रकाशित: १३ असार २०७९ ११:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App