२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोरखामा आत्महत्या गर्ने १८-२५ वर्षका धेरै

सामाजिक अपराध न्यूनिकरण गर्न सचेतना आवस्यक: मन्त्री दोबाटे

गोरखामा आत्महत्या गर्नेमा १८ देखि २५ वर्ष उमेर समुहका युवा धेरै देखिएका छन्। गत साउनदेखि असार दोस्रो साता सम्म ६३ जनाले आत्महत्या गरेकोमा १८–२५ वर्ष उमेरका १७ जना छन्। यो संख्या बिगत तीन वर्ष यताकै धेरै हो।  

आत्महत्या गर्नेमा ६० वर्ष उमेर माथिका १० जना रहेको गोरखाका प्रहरी प्रमुख एसपी केदार खनालले बताए। २५–३५ वर्षका १० जना, ३६–४५ उमेर समुहका ९ जना, ४६–६० वर्षका ९ जनाले यो वर्ष आत्महत्या गरेको प्रहरीको तथ्याङ्क छ। १८ वर्ष उमेर मुनिका पनि आठ जना छन्।  

‘युवा अवस्थाका धेरैले आत्महत्या गरेको देखियो’ एसपी खनालले भने। गत वर्ष गोरखामा ७९ जनाले आत्महत्या गरेका थिए। आत्महत्या गर्नेमा बालिका र पुरुषको संख्या धेरै छ। यो वर्ष ३२ जना पुरुष, २३ जना महिला, एक जना बालक र आठ जना बालिका आत्महत्याको शिकार बने। बालिका आत्महत्याको घटना तीन वर्ष यताकै धेरै हो।

‘गोरखा नगरपालिका, पालुङटार, भिमसेन थापा, बारपाक सुलिकोट लगायत पालिकामा आत्महत्याका घटना धेरै छ’ एसपी खनालले भने ‘लैङ्गिक असमानता, विभेद, पारिवारिक बिखण्डन, बैदेशिक रोजगार, गरिबी, लागु पदार्थको प्रयोग प्रत्यक्ष कारणका रुपमा देखिएका छन्।’  

गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले सामाजिक अपराध जटिल समस्याको रुपमा देखा परेको बताएका छन्। मन्त्रालयले सोमवार गोरखामा आयोजना गरेको आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रममा बोल्दै उनले भने ‘आत्महत्या दुरुत्साहन र हिंसाको कारण पनि बढेको छ।’

आत्महत्या, बिभिन्न खाले हिंसा, सामाजिक अपराध न्यूनिकरण गर्न सबै स्थानीय तहले कार्यक्रम गर्नुपर्ने उनले बताए। ‘सबै पालिकाले आफ्नो गाउँठाउँमा सचेतनाका कार्यक्रम गर्नुपर्ने देखिन्छ’ उनले भने ‘आगामी वर्ष प्रदेश सरकारले सबै जिल्लामा सामाजिक अपराध न्यूनिकरणको कार्यक्रमहरु गर्छ।’ आत्महत्या न्यूनिकरणको मुख्य माध्याम नै चेतनास्तर बढाउनु भएको बताउँदै उनले भने ‘अहिले पनि छुवाछुत, धनी गरिव भन्ने कुराको असर समाजमा देखिन्छ, स–साना विषयले पनि आत्महत्याको घटना घटेको देखिन्छ, यसलाई घरैबाट न्यूनिकरण सुरु गर्नुपर्छ।’  

कार्यक्रममा आत्महत्या रोकथाम र न्यूनिकरणको बारेमा सरकारी वकिल कार्यालय गोरखाका जिल्ला न्यायधिबक्ता खिमानन्द गौतमले सहजिकरण गरेका थिए। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केदार खनालले आत्महत्याको अवस्था, घटना, संभावित कारणहरुका बारेमा सहजिकरण गरेका थिए।  

‘प्रविधिको दुरुपयोग, क्षमता भन्दा धेरै अपेक्षा, अरुको प्रलोभन र माया प्रेममा फस्ने जस्ता कारणले आत्महत्या धेरै भएका छन’ गोरखाका प्रजिअ शंकरहरि आचार्यले भने। भिमसेन थापा गाउँपालिका अध्यक्ष लोकप्रसाद बञ्जाराले अभाव र तनाबले आत्महत्याको घटना बढेकाले त्यसलाई न्यूनिकरण गर्ने तरिका सिकाउनुपर्ने बताए। जिल्ला समन्वय समिति उपप्रमुख लिला परियारले सचेतनाका कार्यक्रममा टोलटोलमा, महिलासमुह, आमा समुह, युवा क्लवलाई दिनुपर्ने बताईन।  

घर परिवार, आफन्तले फरक ब्यवाहार, भावना देखाएको परिवारका सदस्यबारे बुझ्ने, मनोबल बढाउने कुरा, काम गर्ने, उत्साह थप्ने, हतोत्साहित हुन नदिने, उत्प्रेरण जगाउन सकियो भने आत्मावल बढाउन र आत्महत्या न्यूनिकरणमा मद्धत पुग्नेमा सहभागीले जोड दिएका थिए।  

फोटो  

आत्महत्या न्यूनिकरण सम्बन्धी सचेतना कार्यक्रममा सहभागी हुँदै गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्मा।  

तस्विर ः नागरिक  

 

 

 

प्रकाशित: १२ असार २०७९ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App