६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पत्रकार डेकेन्द्रको घरमा मन्त्री भावुक

फाइल तस्बिर

द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादीबाट मारिएका दैलेखका पत्रकार डेकेन्द्रराज थापाकी आमालाई भेट्न नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला घरमै पुगेका छन्।

घरमा पुग्दा थापाकी आमा गंगादेवी थापा छोराको सम्झनाले भावुक बनिन्। छोराको सहपाठी मन्त्री भएर घरमै आउँदा डेकेन्द्रलाई सम्झेर भावुक भएकी हुन्। आमासँगै मन्त्री कोइराला पनि भावुक भएका थिए। विगतका सम्झनाले मन्त्रीहरू पनि भावुक भएका हुन्।

दैलेख आएका बेला मन्त्री थापाले डेकेन्द्रको घरमा पुगेर आमासहित परिवारलाई भेटेका थिए। गोविन्दलाई भेटेर आफ्नो छोराको झल्को आएको गंगादेवीले बताइन्। ‘जिल्लामा आउँदा गोविन्दले मलाई भेट्छन्,’ पत्रकार डेकेन्द्रकी आमा गंगादेवीले भनिन्, ‘आज देशकै गहनाका रुपमा कहलिएको देख्दा खुसी लाग्छ।’ द्वन्द्वका बेला भएका घटनाको न्याय पाउन नसकेकाहरूलाई न्याय दिलाउन पहल गर्न मन्त्री कोइरालालाई गंगादेवीले आग्रह गरिन्। डेकेन्द्र हत्या मुद्दामा वकालत गरेर मन्त्रीले परिवारलाई न्याय दिलाएका थिए। स्वर्गीय पत्रकार डेकेन्द्रराजसँगै जिल्लामा मन्त्री गोविन्द सामाजिक कार्यमा अग्रसर थिए।

मन्त्री कोइरालालाई जिल्लामा सम्मान

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालालाई गृह जिल्ला दैलेखमा भव्य सम्मान गरिएको छ। उनलाई दैलेख सदरमुकाममा भव्य स्वागत र सम्मान गरिएको हो। उनी सदरमुकामबाट हिँडेरै कार्यक्रमस्थल पुगेका थिए। आफन्त, साथीभाइ तथा स्थानीयले घरघरबाट उनलाई सम्मान गरेका थिए। त्रिभुवन मावि नयाँबजारका पूर्वविद्यार्थी एकता मञ्चले जिल्ला समन्वय समितिको हलमा भव्य कार्यक्रम गरी सम्मान गरेको छ। त्रिभुवन माविका पूर्व विद्यार्थी तथा जिल्लाबाट उच्च ओहदामा पुगेका पहिलो व्यक्ति भएकाले स्वागत तथा सम्मान गरिएको मञ्चका अध्यक्ष अभिषेक अनुरागले बताए। सम्मान कार्यक्रममा कार्यालय प्रमुख, विद्यार्थी, स्थानीयवासी, र पूर्व विद्यार्थी सहभागी थिए। त्यस्तै नारायण नगरपालिका, जिल्ला समन्वय समिति, दैलेख उद्योग वाणिज्य संघले पनि मन्त्री कोइरालालाई सम्मान गरेको थियो।

प्रकाशित: ७ असार २०७९ ०१:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App