१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

खाँचीकोटको चुनढुंगा उत्खनन बन्द गर्न माग

सन्धिखर्क ७, खाँचीकोटको चुनढुंगा उत्खनन क्षेत्र।

नेपाली कांग्रेस अर्घाखाँचीले सन्धिखर्कमा भइरहेको चुनढुंगा उत्खननविरुद्ध संघर्ष गर्ने भएको छ। सन्धिखर्क नगरपालिका ७, खाँचीकोटमा उत्खनन भइरहेको चुनढुंगाले वातावरणीय प्रभाव परेको भन्दै उत्खनन बन्द गराउने निर्णय गरेको हो।

बीपी स्मृति भवन सन्धिखर्कमा बसेको जिल्ला कार्य समिति बैठकले जथाभावी चुनढुंगा उत्खननले पर्यटकीय क्षेत्रमा वातावरण प्रदूषित भएको भन्दै उत्खनन बन्द गर्ने निर्णय गरेको कांग्रेसका पार्टी सचिव कृष्ण खनालले जानकारी दिए। उनका अनुसार राष्ट्रकै गहनाका रूपमा रहेको ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल सुपादेउराली मन्दिरआसपासका क्षेत्रमा चुनढुंगा उत्खननले वातावरणमा असर पुर्‍याएको छ।

‘खाँचीकोटको तीनपाने लेकमा उत्खनन गरिँंदै आएको चुनढुंगा खानीका कारण सुपादेउराली क्षेत्रमा प्रदूषण बढ्दा पर्यटनमा ह्रास आउने देखिन्छ,’ उनले भने, ‘ अर्घाखाँचीको विशेष महत्व बोकेको क्षेत्रमा चुनढुंगा उत्खनन कार्यले खानी आसपासका सडक बिग्रने, भत्कने, धुलो–धुवाँ उड्ने, ध्वनि प्रदूषणलगायत वातावरणीय समस्याबाट त्यस क्षेत्रका स्थानीय, पर्यटक, सर्वसाधारणलाई प्रत्यक्ष असर परेको छ।’

चुनढुंगा खानीका क्षेत्रमा दिनहुँ उत्खनन गर्दा हेवी मेसिन (उपकरण) को प्रयोग, पर्यटकीय गन्तव्यबाटै दैनिक सयौं टिप्परको आवतजावत हुने हुँदा सडक बिग्रिएको र वातावरण प्रदूषित भएकाले समस्या बढ्दै गएको छ। वर्षौंदेखि यो क्रम चलिरहँदा तथा वैकल्पिक उपाय अवलम्बन नगर्दा वातावरणसँगै पूर्वाधार, पर्यटन र जल क्षेत्रमा ह्रास आउने देखिन्छ। टिप्परले ओभरलोड बोक्दा सन्धिखर्क–गोरुसिंगे सडक जीर्ण बन्दै गइरहेको छ। साँघुरो सडकमा टिप्पर हिँड्दा अन्य सवारी प्रभावित भएका छन्।

‘ओभरलोड बोकेर टिप्पर हिँडेका छन्,' कांग्रेस सभापति केशव श्रेष्ठले भने, ‘सडकको हालत जीर्ण छ, चरम लापरबाही भएपछि हामी बोलेका हौं।’ धार्मिक तथा प्राकृतिक सौन्दर्य मासिँदै गएको भन्दै सभापति श्रेष्ठले प्रचुर पर्यटकीय सम्भावना बोकेको क्षेत्र दिन–प्रतिदिन कुरूप बन्दै गएकोमा चिन्ता व्यक्त गरे। स्थानियसमेत चुनढुंगा उत्खननको विरोधमा छन्। खानीबाट निस्किएको प्रदूषणका कारण स्वास्थ्य र खेतीपातीमा समेत असर गरेको खाँचीकोटनिवासी राजेन्द्र रायमाझीले बताए। ‘यहाँका बालबच्चाको स्वास्थ्यमा असर त गरेको छ,’ उनले भने, ‘खेतीपातीमा समेत यसको असर हुने रहेछ।’

नरपानी क्षेत्रमा अर्घाखाँची सिमेन्टको चुनढुंगा उत्खनन ११ वर्षदेखि बन्द रहेको छ। कम्पनीले स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नगरेर जनतालाई धोका दिएको भन्दै स्थानीय संघर्षमा उत्रिएपछि उत्खनन कार्य रोकिएको थियो। चुनढुंगा उत्खननका कारण खानेपानीका मुहान सुकेको र वातावरणीय क्षति भएको भन्दै स्थानीयले २०६८ कात्तिक २० गतेदेखि नरपानीमा सञ्चालित चुनढुंगा उत्खननको कामकाज पूर्णरूपमा ठप्प पारेका थिए। त्यसलगत्तै भूगर्भ सिमेन्टले खाँचीकोटको तीनपाने लेकबाट चुनढुंगा उत्खनन गरिरहेको छ।

प्रकाशित: ६ असार २०७९ ०२:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App