२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

रौतहटमा पनि रासायनिक मलको अभाव

वर्षा सुरु भएसँगै रौतहटमा पनि रासायनिक मलको अभाव हुने संकेत देखिएको छ। लामो खडेरीले किसानको खेतको ब्याडमा धानको बेर्ना राम्ररी तयार नहुँदा ब्याडमा छर्नलाई नै मलको अभाव देखिन थालेको छ।  

किसानले धानको ब्याडमा छर्ने डिएपि र युरिया मलको अभाव देखिएको हो। खोजेको जति नपाइने अवस्था रहेको देखिएकोले रोपाइँको बेलामा मलको अभाव हुने संकेत देखिएको किसानहरुको भनाइ छ।

धान रोप्नासाथ खेतमा डिएपि मलको आवश्यकता पर्ने हुन्छ तर बजारमा अहिले नै आवश्यक मात्रामा डिएपि मलको अभाव देखिएको गरुडा नगरपालिका २ का किसान रामअश्रे साहको भनाइ छ।

गढीमाई नगरपालिका किसान राजु सहनीले पनि बजारमा डिएपि मलको लागि सोर्स चाहिने अवस्था सिर्जना भएको बताएका छन्। अहिले रोपाई सुरु हुन कम्तीमा दश दिन लाग्ने समय छ तर सानोतीनो खेतीको लागि पनि डिएपि मल नपाएको गुनासो छिमेकीहरुले गरिरहेको सहनीले बताएका छन्।  

बजारमा अहिले डिएपि मल प्रति बोरा तीन हजार दुई सय पचासदेखि तीन/तीन सय पचास रुपैयाँसम्म बिक्री भइरहेको छ। रासायनिक मल बिक्री गर्ने पसलले ग्राहकलाई हेरेर रासायनिक मल डिएपि भए/नभएको बताउन थालेका छन्।  

खडेरीले कमजोर भइसकेको धानको बेर्नालाई बलियो बनाउन र समयमा रोपाइँ गर्नको लागि तयार पार्न किसानहरुले डिएपि, युरिया र केही इन्जाइमहरु ब्याडमा छर्न थालेका छन्। लामो समयपछि वर्षा हुँदा एकातिर किसानहरु हर्षित भएका छन् भने अबको दुई हप्तामा धानको रोपाइँको समयमा मल नपाउने हो कि भन्ने चिन्ता पनि गर्न थालेका छन्।

प्रकाशित: ४ असार २०७९ १४:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App