२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

प्लास्टिक प्रयोग बन्द गर्दा के होला?

प्लास्टिक हाम्रो जीवनमा अनिवार्य आवश्यकताको तहसम्म पुगेको छ। के हामी प्लास्टिकबिना बाँच्न सक्छौं त?

सन् २०१५ को अन्त्यसम्म विश्वमा उत्पादन भएको ८ अर्ब ३० करोड टन प्लास्टिकमध्ये ६ अर्ब ३० करोड टन प्रयोग भइसकेको छ। तर अधिकांश यस्ता प्लास्टिक या त ल्यान्डफिलमा छन्, या त हाम्रो वरपरको वातावणलाई प्रदूषित पारिरहेका छन्। अन्टार्कटिकाको सामुद्रिक हिउँमा समेत माइक्रोप्लास्टिक पाइएको छ। यसैगरी समुद्रको पिँधमा बस्ने जनावरको पेटमा र विश्वभरको खानेपानीमा समेत प्लास्टिकको उपस्थिति रहेको छ। प्लास्टिकको अत्यधिक उपस्थितिका कारण कतिपय अनुसन्धानकर्ताले प्लास्टिकलाई हालको एन्थ्रोपोसेन युगको भौगर्भिक सूचकाङ्कमा समावेश गर्नुपर्ने तर्क गरेका छन्।  

जादुको छडीजस्तो गररे हाम्रो जीवनबाट प्लास्टिक हटायाैं भने के होला? पृथ्वीका लागि यो आकर्षक पक्ष रहला तर यो प्रसङ्गमा हामीलाई हेक्का हुनुपर्ने विषय के हो भने प्लास्टिक हाम्रो अस्तित्वको भित्री तहसम्म पुगेको छ। त्यसो भए, के हाम्रो जीवन प्लास्टिकबिना सम्भव छ त?

मान्छेले हजारौं वर्षदेखि प्लास्टिकको प्रयोग गर्दै आएको छ, तर हाल प्रयोगमा आइरहेको प्लास्टिक भने बिसाैं शताब्दीमा मात्र आविष्कार भएको हो। खनिज इन्धनबाट बनेको वेकेलाइट प्लास्टिक सन् १९०७ मा आविष्कार भएको हो। दोस्रो विश्वयुद्धताका मात्र सैनिकको प्रयोजनबाहेक सर्वसाधारणले सिन्थेटिक प्लास्टिक प्रयोग गर्न थालेका हुन्। त्यसपछि हरेक वर्ष विश्वमा प्लास्टिकको प्रयोग बढ्दै गएको हो। सन् १९५० मा २० लाख टन प्लास्टिक उत्पादन हुँदा सन् २०१५ सम्म आइपुग्दा यो बढेर ३८ करोड टन पुगेको छ। यही दरमा प्लास्टिकको उत्पादन हुने हो भने सन् २०५० सम्म प्लास्टिकले तेल उत्पादनको २० प्रतिशत हिस्सा लिने आँकलन गरिएको छ।  

हाल प्याकेजिङ उद्योगले सबैभन्दा बढी प्लास्टिकको प्रयोग गर्ने गरेका छन्। तर यसबाहेक हामीले भवन निर्माण, यातायातलगायतका अन्य महत्वपूर्ण भौतिक संरचनाको निर्माणजस्ता दीर्घकालसम्म प्रयोग भइरहने क्षेत्रमा पनि प्लास्टिकको प्रयोग गर्दै आएका छौं। यसैगरी फर्निचर, घरायशी सामान, टिभी, कार्पेट, फोन, कपडालगायत दैनिक उपयोगमा आउने कैयन् वस्तुहरूमा प्लास्टिकको प्रयोग हुने गरेको छ।  

त्यसैले प्लास्टिकबिनाको विश्वको कल्पना यथार्थपरक हुँदैन। यदि हाम्रो जीवनमा अकस्मात् प्लास्टिकको पहुँच नहुने हो भने त्यतिबेला हामीलाई यसको महत्व झन् टड्कारो हुने छ। अस्पतालमा प्लास्टिक नहुने हो भने यसको प्रभाव विनाशकारी हुने छ। मृगौला रोगीका लागि आवश्यक डायलाइसिस युनिटलाई प्लास्टिकबिना सञ्चालन गर्ने कल्पनासमेत गर्न नसकिने बेलायतको किले विश्वविद्यालयका वरिष्ठ लेक्चरर स्यारोन जर्ज ठान्छिन्। अस्पतालमा प्रयोग हुने पन्जा, ट्युब, सिरिन्ज, रगतका थैली, स्याम्पल ट्युबलगायत कैयन् अत्यावश्यक वस्तुहरूमा प्लास्टिकको प्रयोग हुन्छ। सन् १९९६ मा दोहोर्‍याएर प्रयोग हुने सर्जिकल सामग्रीका कारण मानिसमा रोग सर्ने देखिएपछि कतिपय अपरेसनमा एकपटक मात्र प्रयोग हुने सामग्रीको प्रयोग हुँदै आएको छ।

यदि हाम्रो जीवनमा अकस्मात् प्लास्टिकको पहुँच नहुने हो भने त्यतिबेला हामीलाई यसको महत्व झन् टड्कारो हुने छ। अस्पतालमा प्लास्टिक नहुने हो भने यसको प्रभाव विनाशकारी हुने छ। मृगौला रोगीका लागि आवश्यक डायलाइसिस युनिटलाई प्लास्टिकबिना सञ्चालन गर्ने कल्पनासमेत गर्न नसकिने बेलायतको किले विश्वविद्यालयका वरिष्ठ लेक्चरर स्यारोन जर्ज ठान्छिन्।

बेलायतमा गरिएको एक अध्ययनअनुसार टन्सिलको अपरेसन गर्दा १०० भन्दा बढी फरकफरक प्लास्टिकका टुक्रा फोहोर निस्कने गर्दछन्। कतिपय सर्जनले एकपटकमात्र प्रयोग हुँदा प्लास्टिकको आवश्यकता अत्यधिक हुने तर्क गरे पनि हालका लागि सत्य के हो भने प्लास्टिकजन्य मेडिकल सामग्री हाम्रो जीवनका लागि अत्यावश्क छ र यस्ता सामग्रीको अभावमा जीवनसमेत जान सक्छ।  

यसैगरी स्वास्थ्य रक्षाका लागि प्लास्टिक अपरिहार्य छ। परिवार नियोजनका लागि प्रयोग हुने कन्डम र डायफ्रामलाई विश्व स्वास्थ्य संगठनले अत्यावश्यक सूचीमा राखेको छ। प्लास्टिकमा आधारित सर्जिकल मास्क र रेस्पाइरेटरले कोभिड–१९ भाइरसको फैलावटलाई नियन्त्रण गर्न सहयोग गरेको सर्वविदितै छ। ‘यसप्रकारको मास्क र सामग्रीले आफू र अरूको सुरक्षाका लागि महत्वपूर्ण भूमिका निभाएका छन्। यस्ता वस्तुको प्रयोग नहुने हो भने जीवन रक्षा गर्न कठिन हुन्छ,’ जर्जको थप तर्क छ। 

यसैगरी खाद्य प्रणालीमा समेत प्लास्टिकको अत्यधिक प्रयोग हुने गरेको छ। सुपरमार्केट पुग्नुअघि ढुवानी गर्ने क्रममा खानालाई जोगाउन प्याकेजिङ गर्ने गरिन्छ भने सञ्चार तथा मार्केटिङ प्रयोजनमा पनि प्लास्टिकको प्रयोग हुने गरेको छ। ‘हाम्रो प्रणालीबाट प्लास्टिकलाई विस्थापित गर्ने विषयमा म कल्पनासमेत गर्न सक्दिन,’ लन्डनस्थित ब्रुनेल विश्वविद्यालयका वातावरण व्यवस्थापन विषयका लेक्चरर इलेनी आएकोभिडौ भन्छिन्।

यसैगरी सुपरमार्केट आपूर्ति शृङ्खलामा पनि प्लास्टिकको प्रयोग अत्यधिक छ। उत्पादनलाई खेतबाट सुपरमार्केटसम्म पुर्‍याउदा यसको प्रयोग भैरहेको छ। यदि त्यसो भएन भने किसानको उत्पादन खेतमै नष्ट हुन सक्ने देखिन्छ। बेलायतमा गरिएको एक अध्ययनअनुसार फ्रिजमा प्लास्टिकमा प्याकेज गरेर राखिएको ब्रोकाउलीलाई एक साताभन्दा बढी सुरक्षित राख्न सकिन्छ भने सामान्य तापक्रममा प्लास्टिकमा राखिएको केरालाई १.८ दिनसम्म सुरक्षित राख्न सकिन्छ। तर स्याउ, काँक्रो र आलुलाई प्लास्टिकमा प्याकेज गरे पनि खास प्रभाव देखिन्न।  

प्लास्टिक प्याकेजिङलाई प्रतिस्थापन गर्दा पनि वातावरणीय प्रभाव उत्तिकै पर्ने देखिन्छ। उदाहरणका लागि प्लास्टिकभन्दा ग्लासका केही फाइदा छन्। ग्लासलाई पुनःप्रयोग गर्न सकिन्छ, तर एक लिटर ग्लास बोतल ८०० ग्राम तौलको हुदा प्लास्टिक ४० ग्रामको मात्र हुन्छ। त्यसैले वातावरणीय दृष्टिले दूध, जुस तथा फिँज आउने पेय पदार्थ राखिने ग्लास बोतलको प्रभाव अधिक हुने देखिन्छ। बढी तौल भएका यस्ता बोटलको लामो दुरीमा ढुवानी गर्दा कार्बन उत्सर्जन झन् बढ्न जान्छ। ढुवानी गर्ने वाहनमा प्लास्टिक प्रयोग भएको छैन भने त्यो गह्रौं हुन गई अत्यधिक कार्बन उत्सर्जनको कारण बन्न जान्छ।  

यसैगरी प्लास्टिकबिनाको जीवनको कल्पना गर्दा हामीले लगाउने ड्रेसमा पनि परिवर्तन आवश्यक छ। सन् २०१८ मा विश्वभर उत्पादन भएको टेक्सटायल फाइबर पेट्रोकेमिकल्सबाट निर्माण भएका कपडाहरू सेन्थेटिक प्रकृतिका रहेको देखिएको छ। कपास र अल्लोजस्ता अन्य प्राकृतिक फाइबर यसको विकल्प भए तापनि यो अझै पनि महँगो विकल्प हो।  

उता, हामीले लगाउने जुत्ता पनि प्लास्टिकमा आधारित छन्। सेन्थेटिक प्लास्टिकको प्रयोगअघि छालाको जुत्ता लगाउने गरिएकोमा अहिले अत्यधिक रूपमा यसलाई सेन्थेटिक प्लास्टिकले विस्थापन गरेको छ। सन् २०२० मा मात्र साढे २० अर्ब जोर जुत्ता उत्पादन भएको थियो।  

विश्वका हरेक मानिसले छालाको जुत्ता लगाउन सक्ने सम्भावना नरहेको वरिष्ठ लेक्चरर स्यारोन जर्जको तर्क छ। त्यसो त, जनस्वास्थ्यको हिसाबले प्लास्टिकको प्रयोग घटाउँदा फाइदा हुन सक्छ। उदाहरणका लागि प्लास्टिक बाल्दा निस्कने प्रदूषण मानव स्वास्थ्यका लागि घातक हुन्छ।  

अर्काेतिर समुद्रमा रहेका प्लास्टिकको विषय पनि उत्तिकै चुनौतीपूर्ण छ। समुद्रको सतह र पिँधमा प्लास्टिकको उपस्थिति अत्यधिक छ। समुद्रको पिँधमा पुगेका प्लास्टिकहरू त्यहाँको पारिस्थितिक प्रणालीको अभिन्न अंग बनिसकेको तर्क टोरोन्टो विश्व विद्यालयका सहप्राध्यापक चेल्सी रोचम्यानको छ। प्लास्टिकका ठुला टुक्रा समुद्रको सतहबाट हटाउँदा यो माइक्रोप्लाटिकमा टुक्रन सक्ने सम्भावनालाई कम गर्न सकिन्छ।  

वनस्पतिबाट प्लास्टिक बनाउन सकेमा प्लास्टिकबिनाको विश्वको कल्पना गर्न सकिन्छ। पेट्रोकेमिकल्स प्लास्टिकजस्तै प्रकृतिका बायो–वेस्ड प्लास्टिकको प्रयोग सुरु भैसकेको छ। मकैको स्टार्चमा आधारित पोलिल्याक्टिक एसिड (पिएलए) को प्रयोग गरेर बनाइएको पिउने पाइप प्लास्टिककै पाइपजस्ता देखिन्छन्। उखु र मकैबाट बायो–वेस्ड प्लाष्टिक बनाउन सकिन्छ। सबै नभएपनि कतिपय वायो–वेस्ड प्लास्टिक नष्ट हुने अथवा कम्पोस्ट गर्न सकिने खालका हुन्छन् र वातावरणमा लामो समयसम्म रहँदैनन्। तर यस्ताखाले अधिकांश प्लास्टिकको सावधानीपूर्वक प्रोसेसिङ गर्नुपर्ने हुन्छ र यस्तो काम औद्योगिक हिसाबले स्थापना गरिएको कम्पोस्टिङ सुविधामा गर्नुपर्छ। यस्ता प्लास्टिकलाई पनि यत्तिकै समुद्रमा फाल्दा सबै ठिकठाक हुन्छ भनेर भन्न मिल्दैन। यस्ता खाले प्लास्टिकलाई कम्पोस्ट गर्न संरचना नै बनाउँदा पनि तत्कालका लागि वातावरणको हिसाबले सही नहुन सक्छ।  

‘तत्कालका लागि यसको नकारात्मक प्रभाव बढ्ने देखिन्छ,’ इक्सेटर विश्वविद्यालयका अनुसन्धानकर्ता स्टुआर्ट वाकर भन्छन्।  

बालीनालीका लागि वनफडानी गर्दा यसले परिस्थितिकीय प्रणाली र जैविक विविधतालाई असर गर्छ। मल र पेस्टिसाइडको प्रयोग गर्दा कार्बन उत्सर्जन हुन्छ भने यसले नदी र ताललाई प्रदूषित गर्ने सम्भावना पनि उत्तिकै छ। एक अध्ययनका अनुसार खनिज इन्धनमा आधारित प्लास्टिकको ठाँउमा बायो–वेस्ड प्लास्टिकको प्रयोग गर्ने हो भने हरेक वर्ष ३०० देखि १६५० अर्ब क्युविक मिटर पानीको आवश्यकता पर्दछ, जुन विश्वमा उपलब्ध पानीको ३ देखि १८ प्रतिशत हुन आउँछ। कृषि बालीनालीलाई प्लास्टिक बनाउन प्रयोग गर्न त सकिन्छ तर यसले खाद्य सुरक्षालाई जटिल पार्न सक्छ। बालीनाली हुर्काएर बायो–वेस्ड सामग्री बनाउने क्रममा ऊर्जाको खपत गर्नुपर्ने हुन्छ र यो प्रक्रियामा पनि कार्बन उत्सर्जन हुन्छ।  

तर बायोप्लास्टिक र हाल प्रयोग भैरहेको प्लास्टिकको तुलना गर्न त्यति सजिलो छैन किनभने हाल प्रयोग भैरहेका प्लास्टिकका लागि बढी तुलनात्मक लाभ छ। ‘यति धेरै समयसम्म यस्ता खाले प्लास्टिकको प्रयोग भैरहेको छ र ठुलो स्तरमा उत्पादन हुँदा हामीले यसमा दक्षता हासिल गरिसकेका छौं,’ अनुसन्धानकर्ता स्टुआर्ट वाकर भन्छन्। तर आगामी दिनमा प्रयोग बढ्दै जाँदा यस प्रकारको बायोप्लास्टिकले तुलनात्मक लाभ लिनसक्ने र कार्बन उत्सर्जन घट्ने तर्क वाकरको छ। विश्वका विभिन्न देशले विद्युत आपूर्तिलाई कार्बनरहित पार्ने दिशामा अगाडि बढेका वर्तमान परिप्रेक्ष्यमा बायो–वेस्ड प्लास्टिकबाट हुने कार्बन उत्सर्जन पनि घट्न जाने तर्क विज्ञको छ। तर, त्यसो हुँदाहुँदै पनि वनस्पतिबाट प्लास्टिक बनाउँदा यसले मानवस्वास्थ्यलाई पार्ने प्रभावलाई सम्बोधन गर्छ भन्ने छैन। यो विषयमा पर्याप्त हिसाबले अनुसन्धान भएका छैनन् तर पेट्रोकेमिकल्समा आधारित प्लास्टिक बनाउँदा प्रयोग हुने सामग्री यस्ता खाले प्लास्टिक बनाउँदासमेत प्रयोग हुन सक्ने ब्रुनेल विश्वविद्यालयकी लेक्चरर इलेनी आएकोभिडौ ठान्छिन्। ‘प्लास्टिक बनाउँदा मिसाइने सामग्री चिन्ताको विषय हो। त्यसैले प्लास्टिकको प्रतिस्थापनले हाम्रा सबै समस्याको समाधान हुँदैन,’ उनी भन्छिन्।

विश्वका कतिपय देशले कस्ताखाले प्लास्टिक अनावश्यक छन् भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित गरिसकेका छन्। उदाहरणका लागि अमेरिका, बेलायत, अस्ट्रेलिया, न्युजिल्यान्ड र अन्य प्यासिफिक क्षेत्रका टापु क्षेत्रले यिनको विस्थापन गर्ने प्रयास थालिसकेका छन्। अत्यावश्यक क्षेत्रमा प्रयोग गर्नैपर्ने प्लास्टिक र अनावश्यक प्लास्टिकको भिन्नताले पनि समस्या समाधानका लागि सहयोग गर्न सक्दछ। यसैगरी प्लास्टिकलाई यत्तिकै फाल्ने हाम्रो प्रवृत्तिलाई पनि सुधार गर्न आवश्यक छ। ‘हामी सस्तो र डिस्पोजेवल सामान किन्न चाहन्छौं। यस्तो बानीमा सुधार आवश्यक छ,’ जर्ज तर्क गर्छन्। उनी पुनःप्रयोग हुने प्याकेजिङलाई प्रश्रय दिन सकेमा असल नागरिकको भूमिका निर्वाह हुने बताउँछन्।

प्लास्टिकले गरेको प्रभाव सकारात्मक रहे पनि हाम्रो जीवनपायनमा यसले पारेको प्रभाव त्यस्ता छैनन्। हामी हिँड्दै गर्दा प्लास्टिकमा प्याकेज गरिएको खाना खान सकौंला तर अत्यधिक प्लास्टिकजन्य यस्ता सामग्रीको प्रयोगका लागि हामी जिम्मेवार छौं।  

‘यस्ता प्लास्टिकजन्य सामानको प्रयोग तत्काल बन्द गर्दा जीवनको गति नै ढिलो हुने छ,’ जर्जिया विश्वविद्यालयकी वातावरण इन्जिनियरिङ विषयकी प्राध्यापक जेना ज्यामबेक तर्क गर्छिन्। ‘त्यतिबेला यो विषय कति नराम्रो होला त?’ उनी प्रश्न गर्छिन्। बीबीसी

प्रकाशित: ४ असार २०७९ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App