नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकाले नेपाललाई कुनै पनि हतियार नदिएको प्रष्ट पारेका छन्। उनले एसपीपी अमेरिकाले हालसम्म नेपाली सेनालाई विपद्का बेला आवश्यक पर्ने औजारहरु मात्रै सहयोग गरेको र कुनै गोली बारुद नदिएको दाबी गरेका हुन्।
अमेरिकाबाट नेपाललाई चार वटा हवाईजहाज आउनुपर्नेमा अहिलेसम्म दुई वटा प्राप्त भएको पनि उनले बताए। एउटा एयर एम्बुलेन्स छिट्टै आउने क्रममा रहेको पनि शर्माले जानकारी दिए। सेनापति शर्माले ती हवाईजहाज स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) बाट आएको बताए।
उनले भने, 'हामीलाई बाढी, पहिरो,भूकम्पबाट बच्ने, बचाउने औजारहरु नै प्राप्त भएका छन्। यसबाट कुनै पैसा, हतियार, बम, बारुद, केहीपनि आएको छैन। यो कार्यक्रमले हामीलाई अहिलेसम्म कुनै एक रुपैयाँको हतियार र गोली पनि आएको छैन। यो उनीहरुले दिँदैन पनि। यसलाई अतिरञ्जित गर्ने तरिकाले बजारमा आएको फम्र्याट १० बुँदे लेखेर आएको भन्ने कुरा छ। त्यो गलत हो। उनीहरुले कहिले पनि नेपाली सेनालाई, रक्षा मन्त्रालयलाई त्यो गर्नुहोस् भनेर दिएको फम्र्याट होइन। हामीले लिएका पनि छैनौँ र गर्नेपनि छैनौँ। नेपाल सरकार, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग सल्लाह, सुझाव र यसको बारेमा छलफल नगरीकन हामीले त्यस्ता गम्भीर कुराहरु कहिल्यै गरेका छैनौं।’
प्रधानसेनापति शर्माले नेपाली सेनाले नेपालको परराष्ट्र नीतिको बरखिलाफ हुनेगरी कहिल्यै सम्झौता नगरेको पनि बताए। प्रधान सेनापति शर्माले नेपाली सेना र अमेरिकाको रक्षामन्त्रालयसँगको सम्बन्ध प्रगाढ, नेपालको परराष्ट्र नीतिलाई सहयोग पुर्याउने र परराष्ट्र नीतिअन्तर्गतको सैनिक कुटनीतिलाईसमेत सहयोग पुग्ने हिसावले आफ्नो भ्रमण हुने बताए।
प्रकाशित: ३ असार २०७९ ०८:४८ शुक्रबार