coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खेवाङ पहिरोः घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी विराटनगर पठाइयो

ताप्लेजुङको सिरिजङगा गाउँपालिका वडा नं ७ खेवाङको तेम्फुमा गएको पहिरोमा परी सख्त घाइते भएका बिष्णु अधिकारीलाई हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगरतर्फ पठाइएको छ।

सिरिजंगा गाउँपालिका, जिल्ला सुरक्षा समितिको समन्वय र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलको आग्रहमा गृह मन्त्रालयमार्फत आएको हेलिकोप्टरले अधिकारीलाई उद्धार गरी विराटनगरतर्फ लिएर गएको छ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले नेपाली सेनाको यहाँस्थित भीमकाली गुल्ममा ताप्लेजुङ अस्पतालका चिकित्सकले प्रारम्भिक उपचार गरी घाइते अधिकारीलाई थप उपचारका लागि बिराटनगरतर्फ पठाइएको जानकारी दिए।

भाग्ने क्रममा उनको शरीरका विभिन्न भागमा चोटपटक रहेको छ। भीमकाली गुल्मका गुुल्मपति अदित श्रेष्ठका अनुसार नेपाली सेनाको इटहरीस्थित कार्यालयमा रहेको विपद् उद्धारका लागि तयारी हालतमा रहेको हेलिकोप्टरले घाइते अधिकारी र मृतक उनकी आमा तुलसा र श्रीमती यसोदालाई खेवाङबाट उद्धार गरी सदरमुकाम फुङलिङसम्म ल्याएको बताए।

फुङलिङस्थित भीमकाली गुल्ममा घाइतेको प्रारम्भिक उपचार गरिएको शव पोष्टमार्टमका लागि ताप्लेजुङ अस्पतालको शव गृहमा लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डिएसपी)कैलाश राईले जानकारी दिए।

सिरिजंगा गाउँपालिका उपाध्यक्ष चित्र मावोले उद्धार कार्य चाँडो गर्न सकिएकोमा सबैप्रति आभार प्रकट गरेका छन्। ताप्लेजुङ जिल्ला अस्पतालका चिकित्सक डाक्टर पुजा सैंजुले घाइतेको शरिरको बाहिरी भागमा रहेको चोटपटकको प्रारम्भिक उपचार गरिएको र सिटीस्क्यान गरेर अन्य चोटपटकको अवस्था पत्ता लगाउन अनिवार्य रहेको बताइन्। हातखुट्टा, टाउकोमा र आँखा वरिपरि घाउ रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

‘छिटो उद्धारले घाइतेको जीवन जोखिम कम’

हेलिकोप्टरबाट गरिएको छिटो उद्धारले घाइतेको जीवन जोखिम कम गर्न सहयोग मिलेको भन्दै उद्धार कार्यमा संलग्न टोलीको प्रशंसा गर्न थालिएको छ। पत्रकार महासंघ ताप्लेजुङका सचिव सुवास आचार्य शीघ्र रुपमा गरिएको उद्धारले घाइतेको ज्यान बच्नमा सहयोग पुग्ने बताउँछन्।

‘उद्धारका क्रममा प्रकृयागत झञ्झटले झन् ठूलो समस्या निम्त्याउने गरेका विगतका उदाहरण पनि छन्’ बसन्त पालुङ्वाले भने ‘छिटो उद्धार गर्नाले घाइतेको ज्यान बचाउनमा सहयोग पुग्ने छ।’ पहिरोमा पुरिएका शव समेत निकालेर पोष्टमार्टका लागि सहयोग पुग्ने गरी शव सदरमुकामसम्म ल्याइनुले अरु झन्झट कम हुनुमा रुपमा रहेको औंल्याइएको छ।

प्रकाशित: ३ असार २०७९ ०६:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App