१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

निहारिकाको स्वास्थ्य अवस्था बिग्रँदै

६ दिनदेखि आमरण अनशनमा बसेकी निहारिका राजपुतको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। महोत्तरीकी निहारिकाले काठमाडौंको वसन्तपुरमा आमरण अनशन सुरु गरेको बुधबार ६ दिन पुगेको छ। स्वास्थ्यमा समस्या भएपछि उनलाई स्लाइन पानी दिनुपरेको अधिकारकर्मी सावित्री सुवेदीले बताइन्।

केही औषधि र स्लाइन पानी दिएपछि उनको स्वास्थ्य अवस्थामा केही सुधार भएको सुवेदीको भनाइ छ। निहारिकाको स्वास्थ्य अवस्था बुझ्न वसन्तपुर पुगेको गृह मन्त्रालयको टोलीले अस्पताल जान आग्रह गरे पनि उनले अस्वीकार गरेकी थिइन्।

‘टोलीले उपचार गर्न जानुपर्छ भनेको थियो तर उनले यतै मर्छु, जाँदिनँ भनिन्’, निहारिकालाई उद्धृत गर्दै सुवेदीले भनिन्। बलात्कारका कारण रहेको गर्भबाट छोरा जन्मिएको दाबीसहित न्यायको माग राखेर उनी अनशनमा बसेकी हुन्। जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेपछि आफू गर्भवती भई छोरा जन्मिएको उनको भनाइ छ। उनी २१ महिनाको छोरा काखमा च्यापेर अनशनमा बसेकी छन्।

राष्ट्रिय महिला आयोगले बुधबार बलात्कार आरोपित श्रेष्ठको डिएनए परीक्षण गर्ने र मुद्दा छिटो टुंग्याउन पहल गर्ने प्रतिबद्धता जनाएपछि निहारिकासँगै अनशनमा बसेकी विराटनगरकी ज्यास्मिन ओझाले अनशन तोडेकी छन्। अनशन तोडेकी उनले निहारिकालाई न्याय दिलाउन विभिन्न प्रक्रियामा सक्रिय भएको जानकारी दिइन्।

निहारिकालाई न्याय दिलाउन पहल भइरहेको र न्यायिक प्रक्रिया पूरा हुनुअघि सुरक्षित आवासमा राखिने राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले बताइन्। ‘डिएनए परीक्षणका लागि लेखिएको निवेदन निहारिका आफैंले पेस गर्नुपर्छ। यसका लागि पनि उनले अनशन छाडेर प्रक्रियामा जानुपर्ने देखिन्छ,’ पराजुलीले भनिन्।

साथीको घरमा गएका बेला जनकपुरका श्रेष्ठले पानीमा नसालु पदार्थ मिलाएर खुवाई बलात्कार गरेका कारण आफू गर्भवती भएको र छोरा जन्मिएको दाबी निहारिकाको छ। पेटमा गर्भ रहँदादेखि नै न्यायका लागि महिला आयोगदेखि अदालतमा धाउँदासमेत न्याय नमिलेपछि अहिले अनशन बस्नुपरेको निहारिकाले बताएकी छन्। उनले पाँचबुँदे माग पूरा नभएसम्म अनशन नतोड्ने जनाएकी छिन्।

प्रकाशित: २ असार २०७९ ०२:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App