१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

विद्यालय दिवा खाजामा गरुडाको जयनगरमा व्यापक लापरबाही

रौतहटको गरुडा नगरपालिका १ मा संचालनमा रहेको आधारभूत विद्यालयमा दिवा खाजामा व्यापक लापरबाही हुने गरेको पाइएको छ। विद्यालयको संचालन नै पूरै अव्यवस्थित रहेको जयनगरमा दिवा खाजामा व्यापक लापरबाही रहेको देखिएको हो।  

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार र नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु राय यादवले बुधबार विद्यालयको अनुगमन गर्दा कहिल्यै नसोचेको दुर्दशा देखेको नगर प्रमुखले जानकारी गराएका छन्।  

विद्यालयमा सरसफाइको अभाव रहेको, महिनौँदेखि कक्षा कोठाहरु नबढारिएको, विद्यालयको शौचालय नरकजस्तो फोहोर भएको, सिमेन्टको बोरा कक्षामा खुल्लै छाडेर उडिरहेको धुलोबीच विद्यार्थीहरु बस्नु परेको, कागजपत्र कुनै पनि दुरुस्त नरहेको आफूले पाएको नगर प्रमुख कलवारले जानकारी गराएका छन्।  

विद्यालयमा रहेको शिक्षक हाजिरी रजिस्टरमा पनि कैयौँ दिनदेखि शिक्षकहरुले हाजिर गरेको नपाइएको, बिना सूचना प्रधानाध्यापक अनुपस्थित रहेको, शिक्षकहरुले विद्यालय पोसाक नलगाएको देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादवले बताएका छन्।  

विद्यालयमा बालबालिकाको लागि संचालन गरिएको खाजामा अकल्पनीय लापरवाही देखेर आफू आश्चर्यचकित भएको नगर प्रमुख कलवारको भनाइ छ। कक्षा ८ सम्म संचालित विद्यालयको अकल्पनीय दुर्दशा देखेर आफू अचम्भित भएको बताउँदै नगर प्रमुख कलवारले पहिलोचोटि कडा चेतावनी दिएको बताएका छन्। तोकिएको समयमा विद्यालय आउने तथा तोकिएको समयसम्म निर्धारित काम गर्न विद्यालयका शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको बताएका छन्।  

शिक्षा आफ्नो पहिलो प्राथमिकतामा रहेकोले विभिन्न विद्यालयको स्थलगत अनुगमन निरीक्षण गरिरहेको नगर प्रमुख कलवारले जानकारी गराएका छन्।  

यसैबीच वडा नम्बर ७ मा रहेको श्री माध्यमिक विद्यालयमा पुग्दा विद्यालय नै बन्द रहेको देखिएको छ। बिना कुनै सूचना विद्यालयमा बन्द रहेको देखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले बताएका छन्।

स्थानीय तहमा शिक्षाको अधिकार आएको अवस्थामा गरुडा नगरपालिकाका केही विद्यालय शक्तिको भरमा ज्यादै भद्रगोल भएको देखिएको छ। पहिलोचोटि सुधारको लागि निर्देशन दिने गरेको बताउँदै नगर प्रमुख कलवारले अपेक्षित सुधार नभए कारबाही थाल्ने पनि बताएका छन्।

प्रकाशित: १ असार २०७९ १२:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App