६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ट्रकमा स्कुटर ठोक्किँदा १ को मृत्यु, २ जना घाइते

पूर्व-पश्चिम लोकमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका–४ बेतनामा ३ जना सवार स्कुटर मंगलबार राति ट्रकमा ठोक्किँदा १ जनाको मृत्यु भएको छ। स्कुटरमा सवार अन्य २ जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ५५४४ नम्बरको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको को २० प ७६४५ नम्बरको स्कुटर ठोक्किँदा राति ११ बजेतिर दुर्घटना भएको र स्कुटर चालक बेलबारी–५ का २६ वर्षीय विक्रम राईको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।

दुर्घटनापछि गम्भीर घाइते भएका ३ जनाको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भएको र सोही क्रममा राईको बुधबार बिहान १ बजेतिर मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिए।

उनका अनुसार शव पोस्टमार्टमका लागि विराटनगरको कोसी अस्पतालमा राखिएको छ। स्कुटरको पछाडि सवार पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ का २० वर्षीय रञ्जन चेम्जोङ र २२ वर्षीय अभिषेक राई गम्भीर घाइते छन्।

उनीहरुको खुट्टा, अनुहार, टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको छ। चिन्ताजनक अवस्थाका घाइतेहरुको उपचाररतमध्ये अभिषेकलाई भेन्टिलेटरमा राखिएको प्रहरी निरीक्षक कार्कीले बताए।

दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय बेलबारीले ट्रक र चालक मोरङको सुन्दरहरैँचा नगरपालिका–२ का २५ वर्षीय अविनाशकुमार खवासलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ। क्षमताभन्दा बढी ३ जना सवार रहेको र स्कुटर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रकाशित: १ असार २०७९ ०८:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App