४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
समाज

बैतडीमा उद्धारसम्बन्धी सेनाको कृत्रिम घटना अभ्यास

विपद् व्यवस्थापनको लागि नेपाली सेनाले बैतडीमा गरेको कृत्रिम घटना अभ्यास। तस्बिरः बिरा/नागरिक

जिल्लामा विपद्को समयमा खोजतलास तथा उद्धारका लागि पूर्वतयारी स्वरुप नेपाली सेनाले कृत्रिम घटना अभ्यास गरेको छ। बाढी र पहिरोमा फसेका नागरिकको उद्धार गर्नेबारे कृत्रिम घटना अभ्यास गरिएको हो।

दशरथचन्द नगरपालिकाको गडीस्थिति टुडीखेलमा नदी र पहिरोमा संयुक्त सुरक्षा फौजले खोजतलास तथा उद्धारसम्बन्धी अभ्यास गरेको हो। अभ्यासमा सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरु सहभागी थिए। बाढी र पहिरोमा फसेका स्थानीयको खोज तथा उद्धार, उपचार र राहतका क्रियाकलाप गरिएका थिए।

खोजतलास तथा उद्धारसम्बन्धी कृत्रिम घटना अभ्यासको नेतृत्व नेपाली सेनाको हनुमानध्वज गुल्मले गरेको थियो। अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति रेडक्रस र अन्य सरोकारवाला निकाय पनि सहभागी थिए। अभ्यास कार्यक्रममा पहिरोसम्बन्धी जानकारी दिनुका साथै पहिरोमा हराइरहेकाहरुको खोजतलास, घाइते भएकाहरुको उद्धार धन सम्पत्ति संरक्षण गर्न डोरी, जुमर, क्याराबिनर र ल्याडरको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लैजाने कार्य गरिएको हनुमानध्वज गुल्मका गुल्मपति मेजर खिलबहादुर रानाले बताए।

अभ्यासमा डोरीको सहायताले होरिजेन्टल रोप वृज र हाइलाइन रेस्क्युको बारेमा अभ्यास गरिएको थियो। कृत्रिम घटना अभ्यासमा राष्ट्रिय सेवा दल (एनसीसी) तालिम प्राप्त विद्यार्थीहरु पनि सहभागी थिए। उनीहरुलाई पनि प्रकोपका घटना हुँदा खोज तथा उद्धार कार्यमा सहभागी गराउन सकिने मेजर रानाले जानकारी दिए। कृत्रिम घटना अभ्यासमा ग्यास सिलिण्डरबाट हुने आगलागी र निभाउने तरिकाको बारेमा पनि सहभागीहरुलाई जानकारी गराइएको थियो।

बैतडी जिल्ला बाढी, पहिरोको उच्च जोखिममा रहेकोले मनसुन सुरु हुनुभन्दा अगाडि नै बाढी, पहिरोसम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको निमित्त प्रमुख प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले बताए। बर्खाको समयमा पहिरो र खहरे खोलामा आउने बाढीले वर्सेनि धनमालको क्षति गर्दै आएको छ।

प्रकाशित: ३० जेष्ठ २०७९ १३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App