उमेर बढाएर बैतडीमा वृद्ध भत्ता लिएको खुलेको छ। नेपाली नागरिकताको प्रमाणपत्रमा आफै जन्म मिति बढाएर भत्ता लिएको खुलेको हो। दुई स्थानीय तहका १४ जनाको नागरिकतामा जन्म मिति केरमेट गरेर जेष्ठ नागरिक सुरक्षा भत्ता लिएको भेटिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए।
डिलासैनी गाउँपालिकाका १३ जना र दोगडाकेदार गाउँपालिकाका एक जनाले जन्म मिति बढाएर सामाजिक सुरक्षा भत्ता बुझेको खुलेको हो। जिल्ला प्रशासन कार्यालयमा आएको उजुरी र नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन जिल्ला प्रशासन पुगेकाहरुबाट यस्तो कार्य खुल्न आएको हो। राष्ट्रिय परिचय पत्रको विवरण संकलनका लागि वडा/वडामा टोली पुगेको र नागरिकता केरमेट भएकाहरुलाई प्रतिलिपि लिन पठाउँदा जन्म मिति सच्याएको सूचना अधिकारी भारतीले बताए।
जन्म मिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुबाट दोब्बर असुल उपर गर्नुका साथै नागरिकता ऐन २०६३ अनुसार पनि कारवाही गरिने भारतीले बताए। उनले भने, ‘हामीले जिल्ला प्रशासनमा आएकाहरुको नागरिकता केरमेट भएको पायौं। त्यसपछि जिल्ला प्रशासन कार्यालयमा रहेको ढड्डा भिडान गर्दा जन्म मिति आफैले सच्याएको पाइयो। अहिलेका लागि १४ जना यस्ता फेला परेका छन्। अन्य ठाउँमा पनि हामी अनुसन्धान गरिरहेका छौं।’
नागरिकतामा जन्म मिति बढाएर कम्तीमा ३ वर्ष र बढीमा २७ वर्ष पहिलादेखि सामाजिक सुरक्षा भत्ता बुझ्ने गरेको पाइएको सूचना अधिकारी भारतीले बताए।
प्रकाशित: २९ जेष्ठ २०७९ १४:३१ आइतबार