१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

श्रमदान भन्दै ठेकेदारद्वारा श्रमशोषण

विद्युत् प्राधिकरण कार्यालय रोल्पा।

देशमा गणतन्त्र आयो, समाज चेतनशील भयो। अझ माओवादीको भाषामा त जनतामा चेतनास्तर बढ्यो। तर, रोल्पाका जनता आज पनि कुहिरोको कागजस्तै छन्। यतिबेला घरआँगनमा आएको भनिएको सरकारका प्रतिनिधिले बजेट खर्चिनेभन्दा अन्य जनसरोकारका विषयमा चासो नदिएको पुष्टि भएको छ।

रोल्पामा विद्युत् विस्तारमा काम गर्ने निर्माण व्यवसायीले स्थानीयलाई बिनाज्याला श्रमशोषण गरिरहेको थाहा हुँदा पनि सरोकारवालाहरू मौन छन्। यहाँका विभिन्न गाउँमा विद्युत् विस्तार गर्न दिइएको ठेक्काका ठेकेदारले छिटो बत्ती बाल्ने भए श्रमदान गर्न भन्दै जनतालाई प्रत्येक घरघुरीबाट पाँचदेखि १० दिनसम्म विनाज्याला काम लगाउने गरेको खुलेको छ।

‘ठेकेदारले छिटो बत्ती बाल्ने भए श्रमदान गर नत्र अर्को गाउँमा बत्ती जोड्छौं भने। हामीले सात दिन श्रमदान गर्‍यौं,’ सुनछहरी गाउँपालिका–७ छिवाङका एक स्थानीय भन्छन्, ‘हामीले श्रमदान गरेको जनप्रतिनिधि र विद्युत्का कर्मचारीलाई समेत थाहा छ तर कसैले पनि केही भनेनन्।’ सुनछहरी गाउँपालिकाजस्तै रोल्पा नगरपालिकाको जेदवाङ र लुङ्ग्री गाउँपालिका लगायत जिल्लाका धेरै गाउँमा निर्माण व्यवसायीले स्थानीयलाई श्रमदान गराउने गरेका छन्।

जनप्रतिनिधि पनि निर्माण व्यवसायीले गरेको गलत कामप्रति बेखबर जस्तै छन्। ‘ठेकेदारको चालामाला के हो थाहै हुन्न। आफ्नै पाराले काम गर्छन्। हाम्रो काम पोल ल्याउने हो, गाड्ने भए गाड्नु नत्र पोल अन्त लग्छौं भने अनि जनताले आफैं श्रमदान गरेर गाडेका हुन्,’ सुनछहरी गाउँपालिका–७ का निवर्तमान वडाध्यक्ष टीकाबहादुर बुढाले भने, ‘ठेकेदारले रोडसम्म पोल पुर्‍याउने जिम्मा हाम्रो हो बाँकी तपाईंहरूको जिम्मा भनिदिएछन्। टोलटोलमा खाल्डो खन्ने, पोल बोक्ने, गाड्ने सबै काम जनता आफैंले गरे।’ जेलवाङ आसपास छिवाङ र रुल्वाङलाई ५० वटा पोल आएका थिए।

सुनछहरी गाउँपालिकामा जस्तै लुङ्ग्री गाउँपालिकामा पनि श्रमदानमा विद्युत् विस्तार गरिएको छ। ‘मेन रोडसम्म गाडीबाट पोल ल्याए अनि टोलटोलमा श्रमदान गराए,’ लुङ्ग्री गाउँपालिकाका निवर्तमान अध्यक्ष दुर्गाबहादुर खड्काले भने, ‘जहाँ श्रमदान हुन्न त्यहाँ काम नै हुन्न। ठेकेदारको मुख ताकेर बस्ने हो भने एक/डेढ वर्षसम्म पनि काम हुँदैन। यो विषयमा मैले विद्युत्का हाकिमलाई समेत भनेको थिएँ तर सुनुवाइ भएन।’

गाउँपालिकाका निवर्तमान अध्यक्षले विद्युत् प्राधिकरणका कार्यालय प्रमुखलाई जानकारी गराएको बताए पनि कार्यालय प्रमुख शम्भुप्रसाद मण्डलले यो विषयमा आफूलाई कुनै जानकारी नभएको बताए। ‘ठेकेदारले श्रमदान गराएमा उजुरी गर्न सकिने सूचना गोरखापत्रमा निकालेका थियौं तर उजुरी आएको छैन। गाउँगाउँमा टिकटक हेर्न सक्नेले सूचना हेर्नुपर्‍यो नि,’ मण्डलले भने, ‘हामीले ठेकेदारलाई जिम्मा दिइसकेपछि सबै काम उसको हो। श्रमदान गर्नेले किन गरे थाहा भएन। पब्लिक हेयरिङ र सामाजिक परीक्षण गर्ने हाम्रो जिम्मा होइन, हामी गर्दैनौं।’

त्यसो त गत वर्ष सदरमुकाम समेत रहेको रोल्पा नगरपालिका–५ जेदवाङका स्थानीयले पनि प्रतिघरधुरी कम्तीमा सात दिन श्रमदान गरेका थिए। तापनि यहाँ अहिलेसम्म बत्ती बलेको छैन। ‘ठेकेदारले छिटो बत्ती बाल्ने भए श्रमदान गर भन्दै गाउँलेलाई निःशुल्क काम गराएका हुन्,’स्थानीय एक सरकारी कर्मचारी भन्छन्, ‘श्रमदान गर्नुपर्दैन भन्ने जानकारी नभएकाले त्यसो भएको हो। पछि हामीले विद्युत् कार्यालयमा श्रमदान भइरहेको जानकारी गराए पनि सुनुवाइ भएन।’

सरकारी नियमानुसार टेन्डर हालेर समयमै काम सम्पन्न गर्छौं भनेर ठेक्का लिने निर्माण व्यवसायीले सोझा जनतालाई झुक्याएर श्रमदान गराउँदै लाखौं रकम ठगी गरेका छन्। स्थानीय जनप्रतिनिधि, जिल्लास्थित विद्युत् प्राधिकरण र सरोकारवाला सबैलाई श्रमदान भइरहेबारे जानकारी भए पनि जनताको पक्षमा भने कोही बोल्ने गरेको पाइँदैन। विद्युत् प्राधिकरणका कार्यालयप्रमुख शम्भुप्रसाद मण्डलले दम्भका साथ श्रमदान गर्नेले किन गरेको भन्दै प्रतिप्रश्न गरे। ‘टोलटोलमा रेडियो बजाउँदै श्रमदान नगर्नु भन्न सकिँदैन। तपाई पत्रकारहरूले गाउँमा गएर सूचना पुर्‍याउनुपर्ने भन्दै दायित्व पत्रकारतर्फ तेर्स्याए।

प्रकाशित: २९ जेष्ठ २०७९ ०१:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App