५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ बाट पत्रकार रौनियार सम्मानित

जीवन विकास समाजले पहिलोपटक प्रदान गरेको दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ अन्तर्गतका पत्रकारिता तर्फको पुरस्कारबाट नागरिक दैनिक पत्रिकाकी पत्रकार रुबी रौनियार सम्मानित भएकी छिन्।  

समाजले शुक्रबार शितल निवासमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार रौनियारलाई ५० हजार नगद र  प्रमाणपत्रबाट सम्मान गरेकी हुन्।

दिगो विकास लक्ष्य ४, समावेशी र समतामूलक गुणस्तरीय शिक्षाको सुनिश्चितता तथा सबैका लागि जीवन पर्यन्त शिक्षाको प्रवर्द्धन गर्न उल्लेखनीय योगदान गरे वापत जीवन विकास समाजले पत्रकार रौनियारलाई सम्मान गरेको हो। समाजद्वारा स्थपित दिगो विकाशका लागि जीवन विकास पुरस्कार २०७७ अन्तर्गत पत्रकारिता तर्फको प्रोत्साहन–पुरस्कारका लागि पत्रकार रौनियार छनौट भएको समाजले कार्यक्रममा जनाएको थियो।

रौनियारले विगत डेढ दशकदेखि शिक्षा क्षेत्रमा कलम चलाउँदै आएकी छिन्।

रौनियारका साथै यही विधामा अर्का पत्रकार सुदर्शन सिग्देलले समेत ५० हजार नगद र प्रमाणपत्रबाट सम्मानित भएका छन्। पत्रकार सिग्देल आजको शिक्षा साप्ताहिकका सम्पादक हुन्। यही विधामा शिक्षक मासिक ललितपुरले एक लाख नगद र प्रमाणपत्रसहित पुरस्कार प्राप्त गरेको छ।  

समाजले वितरण गरेको पुरस्कारमा पहिलो विधा गैर सरकारी संघसंथा तर्फ ५ लाख नगद र प्रमाणपत्रबाट ललितपुरमा रहेको रिड संस्थाले प्राप्त गरेको छ। यस्तै एक/एक लाख नगद र प्रमाणपत्रबाट प्रोत्साहन पुरस्कार बिराटनगर, मोरङको नारी विकास संघ र बाल संरक्षण संस्था लालबन्दी सर्लाहीले प्राप्त गरेको छ।  

दोस्रो विधा सामुदायिक विद्यालय वा शैक्षिक संस्था तर्फ ३ लाख र प्रमाणपत्रबाट चन्द्रागिरी नगरपालिकामा रहेकाे कंकाली माध्यमिक विद्यालयले प्राप्त गरेको छ। यस विधामा प्रोत्साहन स्वरुप एक/एक लाख नगद र प्रमाणपत्रबाट सिन्धुली, फुस्रेटारमा रहेको जनज्योति मावि र झाप मेचिनगरमा रहेको आदर्श माविले प्राप्त गरेको छ।

जीवन विकास समाजले सन् २०१७ मा विश्वभर प्रतिस्पर्धात्मक छनौट भई एजिफन्ड इन्टरनेसनल प्राइजबाट तीन लाख अमेरिकी डलर प्राप्त गरेको थियो। सोही रकममा थप गरी कुल ६  करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना गरेको समाजका अध्यक्ष योगेन्द्र मण्डलले बताए।

‘सोही कोष मार्फत दिगो विकास क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्याउने उद्देश्यले यस क्षेत्रमा काम गर्ने संघसंस्था, सामुदायिक शैक्षिक संस्था र पत्रकार गरी तीन विधामा पुरसकार घोषणा गरिएको थियो,’ अध्यक्ष मण्डलले भने, ‘तीन विधामा वार्षिक १० लाख बराबरको दिगो विकासका लागि जीवन विकास राष्ट्रिय पुरस्कार प्रदान गर्ने तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेल ज्यूबाटै सार्वजनिक गरिएको थियो।’

उनले थपे, ‘समाजले शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीको क्षेत्रमा निरन्तर काम गर्दै आएको छ र निरन्तर गरिनै रहने छ।

प्रकाशित: २७ जेष्ठ २०७९ १४:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App