काठमाडौँ उपत्यकाको फोहोर अबदेखि रातिमात्र लैजाने गरी काठमाडौं महानगरपालिका र स्थानीयबीच गए राति १८ बुँदे सहमति भएको छ। सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो।
उक्त सहमति पत्रमा शुक्रबारदेखि फोहोर विसर्जनमा स्थानीयबाट हुँदै आएको अवरोध हट्ने भनिएको छ भने फोहोर बिर्सन अब रातिको समयमा हुनेछ। साथै सिसडोल तथा बन्चरे डाँडामा फोहोरको दुर्गन्ध नआउने गरी काठमाडौं महानगरपालिकाले एक महिनाभित्र व्यवस्थापन गर्ने, फोहोरबाट निस्कने लिच्चड खोलामा नमिसाउने गरी दुई महिनाभित्र वैज्ञानिक व्यवस्थापन गर्ने, फोहोर बोक्ने गाडीबाट बाटोमा लिच्चड नचुहिने व्यवस्था एक महिनाभित्र मिलाउने लगायतका सहमति पनि भएको छ।
प्रभावित क्षेत्रका तर्फबाट बिहीबार राति भएको सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेका छन् भने महानगरपालिकाको तर्फबाट मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडेलले हस्ताक्षर गरेका छन्। यसअघि जेठ २३ गते फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए।
यस्तो छ सहमति पत्र:
प्रकाशित: २७ जेष्ठ २०७९ ०१:२७ शुक्रबार