४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

उपमहानगरको चासो र दबाबपछि पुरिए सडकका खाल्डाखुल्डी

नयाँ जनप्रतिनिधि आएपछिको परिर्वतन

बुटवल–गोलपार्क सडक खण्डको अनुगमन गर्दै बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डे। तस्बिरः नागरिक

सडक भत्काएर असरल्ल छोडिँदा महिनौंदेखि अस्तव्यस्त बनेको बुटवल–गोलपार्क सडक खण्डमा खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन थालिएको छ। भर्खरै चुनिएका बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिको पहल र दबाबपछि ठेकेदार कम्पनीले मिस्कट हालेर सडकका खाल्डाखुल्डी पुर्न सुरु गरेको हो।

संघीय सरकार अन्तर्गतको आयोजना भएपनि सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले निर्माणको काम अघि नबढाएपछि बुटवल उपमहानगरपालिकाले काम अघि बढाउन निर्देशन दिएको थियो।

नगरप्रमुख खेलराज पाण्डेले पदभार ग्रहण गरे लगत्तै सडक निर्माणमा भएको ढिलासुस्तीबारे सडक डिभिजन कार्यालय, बुटवल–वेलहिया व्यापारिक मार्ग विस्तार आयोजना र निर्माण कम्पनीसँग छलफल गरी सडकका खाल्डाखुल्डी पुर्न र धुलोहिलोको समस्या समाधान गर्न निर्देशन दिएका थिए। मेयर पाण्डेले आयोजना र ठेकेदारको तर्फबाट सो काम तत्काल गर्न नसके नगरपालिकाले नै खाल्डाखुल्डी पुर्ने भनेपछि ठेकेदार कम्पनीले राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाईन, ट्राफिक चोक लगायतका स्थानमा खाल्डा पुर्ने र सम्याउने काम थालेको हो। नजिकिँदै गरेको वर्षायाममा थप समस्या हुन सक्ने भएकाले ठेकेदार कम्पनीको कामलाई नियमित र गुणस्तरीय बनाउन नगरप्रमुख पाण्डेले नियमित अनुगमन समेत गरिरहेको नगरपालिकाले जनाएको छ।

पूर्व-पश्चिम मुख्य राजमार्गको बुटवल–गोलपार्क सडक खण्ड विगत दुई वर्षदेखि भत्काएर असरल्ल छोडिँदा सवारी दुर्घटनाका घटना बढ्नुकासाथै धुलोले बुटवल शहर आक्रान्त बनेको थियो। नगरबासीले विगतदेखि नै सडक निर्माणको कामलाई गति दिन र अल्पकालीन रुपमा भएपनि सडकका खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेका थिए। तर, यसअघिका निवर्तमान मेयर शिवराज सुवेदीले सो सडक आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै कुनै चासो दिएका थिएनन्।  

नवनिर्वाचित मेयर पाण्डेले भने आयोजना संघीय सरकारको भएपनि बुटवल नगरभित्र पर्ने सडकका कारण नगरबासीले सास्ती भोग्नु परेको भन्दै निर्माणको कामलाई गति दिन र सडकका खाल्डाखुल्डी पुर्न सम्बन्धित निकायलाई दबाब दिएका हुन्।  

‘पूर्व-पश्चिम मुख्य राजमार्ग र सिद्धार्थ राजमार्गमा पर्ने यो सडकको दुरावस्थाले लामो र छोटो दूरीको सवारी आवागमनमा निकै समस्या छ। सवारी दुर्घटना भइरहेका छन्। धुलो हिलो खाल्डाखुल्डीले नगरलाई कुरुप बनाएको छ त्यसैले तत्काललाई अस्थाइ रुपमा गुणस्तरीय सामग्री प्रयोग गरेर खाल्डाखुल्डी पुर्ने र त्यससंगै सडक कालोपत्रेको काम पनि तत्काल अगाडि बढाउन ताकेता गरिरहेका छौं। नगरभित्रको यो सडक निर्माणमा यो वा त्यो बहानामा ढिलासुस्ती गर्न पाइँदैन हाम्रो निगरानी निरन्तर रहन्छ,’ नगरप्रमुख पाण्डेले भने।  

नगरप्रमुखको निरन्तरको प्रयास र दबाबपछि बुटवल–गोलपार्क सडकका खाल्डाखुल्डी पुरेर सम्याइएको उपमहानगरपालिकाको शहरी पूर्वाधार विकास शाखाका प्रमुख सुमन श्रेष्ठले बताए। सवारी आवागमनको चाप कम हुने रातीको समयमा सडक सुधारको काम गर्न आग्रह गरिए बमोजिम रातको समयमा काम भएको उनले बताए। उपमहानगरपालिकाको निर्देशनपछि बुटवलको मुख्य सडकका खाल्डा पुर्ने र सम्याउने काम सुरु गरेको ठेकेदार कम्पनी द कञ्चनजंगा विरुवा जेभी कन्स्ट्रक्सनका इन्जिनियर प्रवीण मिश्रले बताए।  

सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बुटवल उपमहानगरको चासो र सक्रियतापछि ठेकेदार कम्पनीले बुटवलको सडकका खाल्डाखुल्डी पुरेर  सम्याएको जानकारी दिए। बुटवलका देवेन्द्र पोख्रलेले जनप्रतिनिधि चुनिए लगत्तै सडकको समस्या समाधानको पहल गरेको भन्दै आगामी पाँच वर्ष जनहितका काम गरेर उदाहरणीय बन्न आग्रह गरे।

पूर्व-पश्चिम मुख्य राजमार्गमै पर्ने बुटवल–गोलपार्क साढे ३ किलोमिटर ४ लेन सडकलाई ६ लेनमा स्तरोन्नती गर्न २०७३ को चैतमै कञ्चनजंगा बिरुवा जेभीसंग ठेक्का सम्झौता भएको थियो। सो सम्झौता अनुरुप २०७६ असोजमा सडक सम्पन्न गर्नुपर्ने थियो। तर, सो अवधिमा सडकको क्षेत्राधिकारभित्र घर निर्माण गरेका स्थानीयले पटक–पटक अदालतमा मुद्दा दायर गरेर निर्माण कार्य अघि बढ्न दिएनन्। त्यसपछि पुनः २०७९ असार ३० सम्मको म्याद थप गरियो। गत वर्षदेखि कानुनी अड्चन हटिसकेको छ।

कानुनी अड्चन हटेपनि निर्माणमा भइरहेको ढिलासुस्ती प्रति आयोजना, सडक डिभिजन र उपमहानगरपालिका कसैले पनि चासो नदिँदा भत्काएर असरल्ल छोडिएको सडककै कारण सर्वसाधारणले लामो समय सास्ती भोग्नु पर्यो। भर्खरै चुनिएर आएका जनप्रतिनिधिले सडक निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो देखाएपछि अहिले बुटवल वेलहिया व्यापारिक मार्ग अयोजना र निर्माण कम्पनीले कामलाई गति दिन थालेका छन्। निर्माणको काममा ढिला सुस्ती नहोस भनेर नगरप्रमुख पाण्डे दैनिक जसो सडक अनुगमन गरिरहेका छन्।

प्रकाशित: २१ जेष्ठ २०७९ १३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App