जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस जेठ २१ का अवसरमा पश्चिम रुकुमको मुसिकोटमा आयोजित एक कार्यक्रममा सहभागी युवाले सोती घटनाको स्मरण गरेका छन्। गत २०७७ जेठ १० गते अन्तरजातीय प्रेम बिवाह गरेको भन्दै पश्चिम रुकुम चौरजहारी ८ सोती गाउँमा ६ जना दलित युवाको हत्या भएको थियो।
तीन दर्जन युवाको उपस्थितीमा सम्पन्न कार्यक्रममा सहभागी उनीहरुले अझै पनि भित्री रुपमा जातीय रहेको बताउँदै अन्तरजातीय बिवाहमा विभेद रहेको बताए। ओरेक रुकुमको सहकार्यमा सम्पन्न प्यानल डिस्कसन गरिएको थियो। युवा शान्ति संञ्जालका अध्यक्ष चन्द्र प्रकाशको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण संजाल कै लक्ष्मी खड्काले गरेकी थिइन्।
नेपाल सरकारले २०६३ जेठ २१ गते छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको उपलक्ष्यमा यो दिवस मनाउन थालिएको हो। संरचनात्मक विभेदका कारण नेपालको कुल जनसंख्याको १४ प्रतिशत जनसंख्या रहेको दलित समुदाय सामाजिक, आर्थिक, राजनीतिक सबै हिसावले सिमान्तीकरणमा पारिएको छ। र, त्यसमा पनि दलित महिलाको अवस्था त झन् नाजुक छ। नेपालको संविधान २०७२ ले पहिलो पटक मौलिक हक अन्तर्गत हक सुनिश्चित गरेको छ।
संविधानको धारा २४ छुवाछुत र भेदभावविरुद्धको हक र धारा ४० दलितको हक सुनिश्चित गरेता पनि आजका दिनसम्म पनि दलितहरु आधारभूत मानव अधिकार र आत्म सम्मानपूर्वक जीवन जिउनका लागि लडिरहेका छन्। जातीय विभेदलाई राज्यले दण्डनीय बनाएको आधा शताब्दीभन्दा बढी र छुवाछुतमुक्त राष्ट्र घोषणा भएको डेढ दशक भइसक्दा पनि कुवा, पँधेरा, धारो छोएको वा अन्तरजातीय प्रेम सम्बन्ध कै कारण दलित हत्या श्रृंखला रोकिएको छैन।
सामाजिक रुपमा जरो गाडेर बसेको छुवाछुत र जातीय भेदभाव अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन र विभेदकारी सामाजिक सोच र दृष्टिकोणमा परिवर्तन आवश्यक छ। रुकुममा आयोजित कार्यक्रमका सहभागी युवाहरुले विभेद अन्त्यका लागि सबैले हातेमालो गर्नु पर्नेमा जोड दिएका थिए।
प्रकाशित: २१ जेष्ठ २०७९ ०८:११ शनिबार