६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

विद्यालयको जमिन अतिक्रमण गरेर बजार

विद्यालयको जमिन अतिक्रमण गरेर व्यक्तिले बनाएका संरचना। तस्बिर: नगेन्द्र/नागरिक

धरमपोखरा बजारले सुर्खेत र दैलेखको सीमा छुट्याउँछ। सुर्खेतको चिंगाड गाउँपालिका र दैलेखको गुराँस गाउँपालिकाको मुख्य बजार धरमपोखरामा अहिले व्यक्तिका ठूलाठूला घर बनेका छन्। राता नाङ्लादेखि धरमपोखरासम्म सडक कालोपत्रे छ। धरमपोखराको यो बजार भने विद्यालयको नाममा छ।

चिंगाड गाउँपालिका–५ स्थित भैरव माविको स्वामित्वको २४ रोपनी जमिन वर्षौंदेखि व्यक्तिले अतिक्रमण गरेर संरचना बनाएका छन्। विद्यालयले अतिक्रमित जमिनमा बनेका संरचना हटाउन पटक–पटक पहल गरे पनि सफल भएको छैन। २०४० सालमा अबलचिङको भैरव माविलाई धरमपोखरामा सार्ने तयारी भयो। विद्यालयले भौतिक संरचना निर्माणका लागि २४ रोपनी जमिन प्राप्त ग¥यो। विद्यालयको भवन पनि बन्यो तर विद्यालय भने अबलचिङबाट धरमपोखरा सारिएन।

‘२०४४ सालदेखि धरमपोखरामा विद्यालयको नाममा रहेको जमिन अतिक्रमण सुरु भएको हो,’ विद्यालयका प्रधानाध्यापक चनावसिंह रानाले भने, ‘अहिले त पूरै विद्यालयको जमिनमा कंक्रिटका घर बनेका छन्।’ विद्यालयको जमिनमा पक्की सडक निर्माण गरिएको छ। ‘विद्यालयको जमिन बीचमा अहिले कालोपत्रे सडक निर्माण भएको छ,’ उनले भने, ‘दुवैतर्फ ठूलाठूला घरहरू बनेर बजार बसेको छ।’

विद्यालयले अतिक्रमित जमिन हटाउन पटक–पटक पहल ग¥यो। तत्कालीन जिल्ला शिक्षा कार्यालयमार्फत जिल्ला प्रशासन कार्यालयसम्म धायो। अतिक्रमित जमिनका विषयमा अध्ययन गर्न जिल्ला शिक्षा कार्यालयले समिति गठन ग¥यो। समितिले अतिक्रमित जमिनमा बनेका संरचना हटाउन र जमिनको संरक्षण गर्नुपर्ने सुझावसहितको प्रतिवेदन दिएको थियो। समितिको प्रतिवेदन पनि कार्यान्वयन हुन सकेन।

धरमपोखरा बजार सुर्खेत र दैलेखीहरूको प्रमुख व्यापारिक नाका हो। यहीँबाट जाजरकोट सडक निर्माण भइरहेको छ। विद्यालयले अतिक्रमित जमिन हटाउन स्थानीय सरकारदेखि प्रशासनसम्म धायो। ‘अहिलेसम्म कहीँबाट पनि सहयोग पाएनौं,’ प्रधानाध्यापक रानाले भने, ‘विद्यालयको जमिन व्यक्तिले निर्बाध उपभोग गर्दा साह्रै मन दुख्दो रहेछ।’

विद्यालयको जमिनमा अहिले ३८ घर बनेका छन्। ‘२०४४ सालमा तीन जनाले विद्यालयको जमिन अतिक्रमण गरेर टहरा हालेका थिए, त्यतिबेलै ती टहरा हटाइदिएको भए अहिलेको अवस्था आउँदैनथ्यो,’ उनले भने, ‘अहिले त विद्यालयको जमिन यो क्षेत्रको प्रमुख व्यापारिक केन्द्र बनेको छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्र रानाले विद्यालयको जमिनमा धेरै घर निर्माण भइसकेकाले हटाउन समस्या भएको बताए। उनले व्यक्तिले अतिक्रमण गरेको बराबरको जमिन अहिलेको विद्यालय रहेको अबलचिङ नजिकै खरिद गरेर दिएमा समस्याको समाधान हुने बताए। ‘धरमपोखरामा विद्यालयको जमिन अतिक्रमण गरेर ५०÷६० घर निर्माण भएका छन्,’ उनले भने, ‘अतिक्रमित जमिन बराबर अहिलेको विद्यालय रहेको ठाउँनजिकै खरिद गरेर दिएमा समस्याको समाधान हुनसक्छ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रानाले शिक्षा नियमावलीमै जमिन साटफेर गर्न पाइने व्यवस्था रहेको बताए। ‘व्यक्तिले विद्यालयको जमिनमा ठूलाठूला घरहरू निर्माण गरेका छन्, त्यसलाई हटाउन ठूलो चुनौती छ,’ उनले भने, ‘त्यसको सट्टा शिक्षा नियमावलीको व्यवस्थाअनुसार जमिन साटफेर गरिदिए सहज हुन्थ्यो।’ अध्यक्ष रानाले गाउँपालिकाले जमिनको दररेट कायम गरिदिए साटफेरको प्रक्रिया अघि बढाउने बताए।

प्रकाशित: १९ जेष्ठ २०७९ ०९:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App