२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

अष्टभुजाकार कृष्ण मन्दिरको जीर्णोद्धार सम्पन्न

पाटन दरबार क्षेत्रमा बुधबार साँझ आएका अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीलाई सयपत्री फूलको मालाले स्वागत गरियो। रातो टीका लगाएर दरबारभित्र छिरेलगत्तै हाकुपटासीमा सजिएका किशोरीले माटाको प्यालामा सगुनको ‘अइला’ दिए। ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँगै रहेका बेरीले ‘चियर्स’ गर्दै घुटुक्क पिए र मुस्कुराउँदै भने, ‘इट्स स्ट्रंग’। उनले यसो भन्दै गर्दा सँगै रहेका बेरी मुस्कुराए।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी) कार्यक्रम अन्तर्गत पाटन दरबार क्षेत्रमा स्थित अष्टभुजाकार कृष्ण मन्दिरको जीर्णोद्धार सम्पन्न उत्सवको माहौल र अमेरिका–नेपाल सम्बन्धका सार्थक अभिव्यक्ति साँच्चीकै ‘स्ट्रंग’ रहे।

२०७२ सालको महाभूकम्पमा क्षतिग्रस्त मन्दिर बलियो बनाउन एएफसिपीले काठमाडौं उपत्यका संरक्षण कोषलाई १ लाख ५० हजार अमेरिकी डलर प्रदान गरेको थियो। सन् १७२३ मा निर्मित शिखर शैलीको प्रस्तरकलाको अभिनवस्वरूप प्रयोग गरिएको यो मन्दिर दक्षिण एसियामै अतुलनीय छ। अष्टभुजाकार कृष्ण मन्दिरको जीर्णोद्धार सम्पन्न भएको उत्सव मनाउन पाएकामा बेरीले सबैलाई धन्यवाद समेत दिए।

‘यस परियोजनालाई गरेको सहयोगप्रति अमेरिकालाई गर्व छ। यो मन्दिर सुन्दर मात्र भएको छैन,’ उनले भने, ‘यसको सुधारिएको संरचनात्मक ढाँचा भविष्यमा आउनसक्ने भूकम्पका लागि अझ मजबुत बनेको छ।’ कार्यक्रममा पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले नेपालको सांस्कृतिक सम्पदा क्षेत्रहरूको पुनःस्थापना र संरक्षणमा अमेरिकी सरकारको सहयोगप्रति आभारी रहेको सुनाए।

त्यस्तै, ललितपुर महानगरका मेयर महर्जनले सम्पदा र संस्कृति संरक्षणमा अमेरिकी सरकारले पुर्‍याएको निरन्तर सहयोगका लागि धन्यवाद दिए। संस्कृति तथा पर्यटन सचिव महेश्वर न्यौपानेले पाटनमा मात्र नभएर मुलुकका विभिन्न क्षेत्रमा अमेरिकाले पुर्‍याएको सहयोग अतुलनीय रहेको बताए। साथै, नेपालबाट हराएका पुराना मूर्ति फिर्ता ल्याउने काममा अमेरिकी सरकारले पुर्‍याएको सहयोगले नेपालीको मन जितेको उल्लेख गरे। ‘नेपालमा भएका सम्पदाको संरक्षण मात्र होइन, नेपालबाट हराएका मूर्ति नेपालमै ल्याउन सहयोग पुर्‍याएकामा अमेरिकी सरकारलाई धन्यवाद दिन चाहन्छु,’ उनले भने, ‘यस्ता उत्कृष्ट कार्यले आपसी सम्बन्ध झनै मजबुत बनाउनेछ।

मजदुरको सम्मान कृष्ण मन्दिर तथा पाटनस्थित अन्य संरचनाहरूको जीर्णोद्धारमा सहभागी थुप्रै प्रतिभावान् प्रस्तरकर्मी, सिकर्मी, धातुकर्मी र अन्य कालिगढका तस्बिरलाई पाटन दरबार क्षेत्रमा टाँगिएको छ। मन्दिरसँगै मन्दिर बनाउने कालिगढको समेत तस्बिर देख्न पाउँदा सर्वसाधारण खुसी छन्। ‘हामीले त मन्दिर राजामहाराजले बनाएको मात्र सुन्दै आएका थियौं,’ पिन्छेटोलका ८३ वर्षीय नातिभाइ महर्जनले भने, ‘मन्दिर बनाउने गाउँटोलकै दाजुभाइको तस्बिर देख्न पाउँदा खुसी लागेको छ।’ आफूले बाल्यकालदेखि नै पुज्दै आएका मन्दिर मजबुत बनाइदिएकामा उनले दातालाई धन्यवाद पनि दिए। ‘उहाँहरूको स्वागतका लागि आएका हौं,’ उनले भने, ‘यसले हामीलाई निकै खुसी बनाएको छ।’

यो वर्ष अमेरिका र नेपालबीच रहेको कूटनीतिक सम्बन्धको ७५औं वार्षिकोत्सवको वर्ष हो। उत्सवकै अवसरमा बिहीबार पाटन दरबार क्षेत्रमा सांगीतिक कार्यक्रमसमेत हुने भएको छ। पाटनस्थित भण्डारखाल बगैंचामा सांगीतिक समूह कुटुम्ब, ज्यापु समाज, मंगल टोल सुधार संघ, नेपाल हिप–हप फाउन्डेसन, लोक धुन नेपाल र टुन्ना बेल थापाका सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिसहितको कार्यक्रम ‘संग्रहालयमा संगीत’ हुने भएको हो।

संस्कृतिको सगुनको रूपमा अइला पिएर राजदूत बेरीले ‘इट्स स्ट्रंग’ भनेजस्तै संस्कृतिका धरोहरको जीर्णोद्धारले नेपाल–अमेरिका सम्बन्ध झनै मजबुत बनाउने च्यासलका सुरेन्द्र अवाले बताउँछन्। ‘संस्कृतिले सिंगो समाज जोड्छ,’ उनले भने, ‘यो सहयोग हाम्रा लागि सधैं अविस्मरणीय रहनेछ। राजदूत बेरी पनि लामो समयदेखि अमेरिका–नेपालका विभिन्न क्षेत्रको सहयोगमा जुट्दै आएको बताउँछन्।

‘दरबार क्षेत्र र नेपालभर सञ्चालित यस्तै परियोजना अमेरिका–नेपाल सम्बन्धका जीवन्त ७५ वर्षका सच्चा प्रमाण हुन्,’ राजदूत बेरीले भने, ‘नेपालका अद्वितीय र अपूरणीय सम्पदाको संरक्षण गर्ने प्रयासहरूमा अमेरिका सधैं नेपालको गौरवशाली साझेदार रहनेछ।’

प्रकाशित: १९ जेष्ठ २०७९ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App