८ वैशाख २०८१ शनिबार
समाज

भक्तपुरमा पुग्यो मेलम्चीको पानी, स्थानीयबासीमा खुशीयाली

बहुप्रतिक्षित मेलम्चीको खानेपानी बिहीबारदेखि भक्तपुरमा पुगेको छ। मेलम्ची आयोजनाको पानी दिउँसो १२ बजेदेखि भक्तपुरबासीहरुको धारामा खसेको हो। धारामा पानी आएसँंगै भक्तपुरबासीमा खुशियाली छाएको छ। दशकौंदेखि पानीको नियमित समस्यामा रहेका उनीहरु आआफ्नो घरको धारामा पानी आउन थालेसँंगै खुसीले गदगद भएका हुन्।  

भक्तपुर नगरपालिकाका विभिन्न वडाहरुमा परीक्षणको रुपमा पानी वितरण थालिएको हो।  हाललाई कटुञ्जेस्थित खानेपानी ट्याड्ढकीबाट भक्तपुर नगरपालिका वडा नं. १, २, ३, ४ र ५ वडामा खानेपानी वितरण सुरु भएको हो। नगरमा १० वटा वडाहरु रहेका छन्।  

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र केयुकेएल भक्तपुरका निवर्तमान प्रमुख सुरेन्द्र हिमालय श्रेष्ठले बिहीबार संयुक्त रुपमा मेलम्चीको पानीको साँचो खोली भक्तपुरबासीहरुको घरघरमा खानेपानी वितरण सुरु गरिएको हो। सो अवसरमा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले खानेपानीको समस्या समाधानतर्फ सुरुदेखि आवश्यक पहल गरिरहेको र निर्वाचनमा पनि खानेपानीलाई पहिलो प्राथमिकतामा राख्दै जनतालाई जेठको दोस्रो हप्ताभित्र मेलम्चीको पानी वितरण गर्नेमा जोड दिँदै आएको स्मरण गरे। उनले भक्तपुरमा मेलम्चीको पानी वितरण सुरु भएसँगै जनताहरु निकै खुसी भएको पनि बताए।

सोही क्रममा केयुकेएल भक्तपुरका सुरेन्द्र हिमालय श्रेष्ठले भक्तपुरबासी जनतालाई मेलम्चीको खानेपानी वितरण गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताए। उनले आगामी दिनमा अव भक्तपुरमा खानेपानीको समस्या सहज हुने विश्वास लिए।

मेलम्चीको पानी वितरणसगै भक्तपुरका स्थानीयहरु निकै खुशी देखिएका थिए। विगत २० वर्षदेखि खानेपानीको समस्या भोगिरहेका खौमा, इटाछेँ, बोलाछेँ, टौमढीलगायतका स्थानीयहरुले मेलम्चीको पानी वितरण भएसँगै हर्षले विभोर भएका थिए। उनीहरुले नवनिर्वाचित जनप्रतिधिहरुलाई धन्यवादसमेत दिएका थिए।  

पानी वितरणसँगै ठाउँठाउँमा पाइपहरु फुटेर पानी चुहिएको पनि देखिएको छ। त्यसलाई छिट्टै नै व्यवस्थापन गर्नुपर्ने स्थानीयबासीहरुको माग पनि गरेका छन्।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले माग अनुसारको आपूर्ति गर्न नसक्दा पानीको हाहाकार हुँंदै आएको थियो। भक्तपुरमा दैनिक करिव ८० लाख लिटर पानीको माग रहेको तथ्यांक छ। तर केयूकेएलले सुक्खायाममा मागको आधा पनि पानी वितरण गर्न सकिरहेको छैन। केयूकेएलले दैनिक ३० लाख लिटर मात्रै पानी वितरण गर्न सकिरहेको केयूकेएल भक्तपुर शाखाको तथ्यांक छ।  

केयूएकलले पानी वितरण गर्न नसकेपछि स्थानीयबासी परम्परागत सार्वजनिक ढुंगेधारा, इनार आदिमा भर पर्न बाध्य भएका छन्। पानी पाउन उनीहरु टोलटोलमा रहेका इनार ढुंगेधारामा विहान बेलुकी लाइन बस्न बाध्य छन्। एक गाग्री पानी पाउन घण्टौ कुर्नपर्ने बाध्यता उनीहरुको थियो।

प्रकाशित: १२ जेष्ठ २०७९ १५:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App