नेपाल पत्रकार महासंघले आमसञ्चार प्रतिष्ठान तत्काल गठन गर्न सरकारसँग माग गरेको छ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारितालाई दक्ष, मर्यादित, व्यवसायिक बनाउनका लागि पनि आमसञ्चार प्रतिष्ठान गठन गर्न ढिलाई नगर्न सरकारलाई दवाव दिएका हुन्। बुधबार काठमाडौंमा आयोजित ‘मिडियामा मिथ्या सूचनासम्बन्धी कार्यशाला’मा बोल्दै उनले पत्रकारिता क्षेत्रबाट सही सूचनाको अपेक्षा गर्ने हो भने राज्यले त्यसलाई सिकाउनका लागि मेकानिजम बनाउने काममा आलटाल गर्न नहुने स्पष्ट पारे।
सरकारले हिजो (मंगलबार) प्रस्तुत गरेको नीति तथा कार्यक्रम र यस अघिका सरकारले पनि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आमसञ्चार प्रतिष्ठान गठनका कुरा गरेपनि हालसम्म नभएकोमा अध्यक्ष पोखरेलले असन्तुष्टि व्यक्त गरे। उनले नीति तथा कार्यक्रममा समावेश गरिएको सो प्रतिष्ठान गठन गर्ने कार्यलाई कार्यान्वयनमा लैजान सरकारलाई दवाव दिन सञ्चारकर्मीहरुलाई समेत आह्वान गरे।
अध्यक्ष पोखरेलले विभिन्न खालका स्वार्थ समूहहरुको प्रलोभनमा नपर्न पनि संचारकर्मीहरुलाई सचेत गराए। विभिन्न स्वार्थ समूहहरुले आफ्नो हितका लागि प्रलोभन वा दवाव दिँदा सही सूचना दिने बाटोमा ठूलो अवरोध हुने उल्लेख गर्दै उनले त्यसबाट बच्न आम सञ्चारकर्मी र मिडिया हाउसहरुलाई सचेत गराए।
प्रकाशित: ११ जेष्ठ २०७९ ०८:३१ बुधबार