४ वैशाख २०८१ मंगलबार
समाज

चावहिलकाे सेन्ट लरेन्स कलेजका शिक्षकमाथि छात्रालाई ‘सेक्स पार्टनर’को प्रस्ताव राखेको आरोप, बिहानभर कलेजमा तनाव

काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजमा कक्षा ११ मा अध्ययनरत एक छात्रामाथि शिक्षकबाट यौन शोषण भइरहेको आरोपसहितको घटना सार्वजनिक भएको छ।

सामाजिक शिक्षा पढाउने शिक्षकले लगातार तीन महिनासम्म यौन शोषण गरेको घटना पीडितले सार्वजनिक गरेपछि मंगलबार बिहान सबै विद्यार्थीहरूले कलेज परिसरमा नाराबाजी गरे। शिक्षकलाई तत्काल कारवाही गर्नुपर्ने माग राख्दै स्कूल परिसर र गेटमा विद्यार्थीहरूले धर्ना दिएका थिए।  

सेन्ट लरेन्स कलेजको बिहानी सत्रका संयोजक जनार्दन अधिकारीले ती छात्रामाथि विभिन्न किसिमका यौनजन्य क्रियाकलाप गर्न खोज्ने, अनावश्यक मानसिक तनाव दिने गरेको पीडितले आरोप लगाएकी छन्। शिक्षकले आफूलाई गरेको व्यवहारले धेरै तनाव हुन थालेपछि विद्यार्थीले कलेज प्रशासन तथा आफ्नो परिवारलाई घटना बारे जानकारी दिएकी थिइन्।

यता पीडित विद्यार्थीको कक्षामा अध्ययनरत एक छात्राले पीडितलाई ती शिक्षकले आफ्नो ‘सेक्स पार्टनर’ बन्न प्रस्ताव राखेको पीडितले आफूलाई बारम्बार बताएको जानकारी नागरिकन्यूजलाई दिएकी छन्। सहपाठीका अनुसार ती शिक्षकले आफू श्रीमतीबाट सन्तुष्ट नभएको भन्दै सेक्स पार्टनरका लागि प्रस्ताव राखेका थिए। साथै ती शिक्षकले छुट्टै कोठा खोजेर राखिदिन्छु भन्ने जस्ता प्रस्ताव पनि राखे। 

पीडित विद्यार्थीकी सहपाठीका अनुसार ती शिक्षकले आफूले गरिरहेको यौन दुर्व्यवहारबारे अभिभावक वा कलेज प्रशासनलाई जानकारी दिएमा तत्काल कलेजबाट निष्काशन गर्ने धम्की पनि दिएका थिए।  

‘यो भन्दा पहिला पनि सरले माथिल्लो कक्षाका दिदीहरूलाई यसरी नै यौन दुर्व्यवहार गर्ने गरेका रैछन् तर अहिले सहनै नसकेपछि हाम्रो साथीले कलेजमा उजुरी दिएकी हुन्। कलेज प्रशासनले कडा निर्णय नलिएसम्म हामी यस कलजमा कसरी सुरक्षित महसुस गर्न सक्छौं?,’ उनले भनिन्।

कलेज प्रशासनले उक्त घटनाबारे जानकारी पाउने वित्तिकै आरोपित शिक्षक अधिकारीलाई कलेजबाट निष्काशन गरेको कलेजका प्रधानाध्यापक पुरुषोत्तम महर्जनले बताएका छन्।

‘छात्राले शिक्षकको बारेमा उजुरी दिने बित्तिकै कलेज प्रशासनले यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकलाई निष्कासन गरेको छ। दुर्व्यवहारको घटनाको सत्यतथ्यको छानविन भएपछि मात्र आरोप सत्य हो होइन भन्ने थाहा हुन्छ,’ उनले भने।

‘छात्राले सुरुवातमै आफूमाथि भएको दुर्व्यवहारको विषयमा कलेज प्रशासनलाई जानकारी गराएको भए यो घटना यति लामो हुने थिएन, पहिलानै यसको समाधान गर्न सकिन्थ्यो,’ महर्जनले भने।

यसअघि सौन्दर्य प्रतियोगिताका नाममा ८ वर्ष अगाडि बलात्कार भएको घटना सार्वजनिक भएपछि पछिल्लो समय एक पछि अर्को घटना सार्वजनिक भइरहेका छन्। यस घटनाका आरोपित व्यक्ति मोडल ग्लोब भिसाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डे प्रहरी हिरासतमा छन्। उनको विरुद्धमा अर्की युवतीले पनि प्रहरीमा उजुरी दिएकी छिन्।

उल्लेखित घटनासँगै पीडितहरुले खुलेर आफूमाथि भएको दुर्व्यवहारको घटना सार्वजनिक गर्न थालेका छन्। सडकदेखि सदनसम्म बलात्कारको मुद्दालाई गम्भीर रुपमा हेर्न थालिएको छ। सांसदहरूले समेत बलात्कारको घटना दर्ताको हदम्याद बढाउनुपर्नेमा जोड दिइरहेका छन्। संसदको दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभामा नियमित रूपमा यस मुद्दामा छलफल चलिरहेको छ।

प्रकाशित: १० जेष्ठ २०७९ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App