१५ चैत्र २०८० बिहीबार
समाज

जब पीडित स्वयंमले ‘आठ बर्षअघि आफू बलात्कृत भएको’ कुरा सार्वजनिक गरिन्...

के हो त घटना? कसरी आयो बाहिर?

शुक्रबार बिहान बालुवाटारमा धर्ना दिएका युवाहरु। तस्बिर: नागरिक

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा आयोजकबाट नै बलात्कृत भएकी युवतीलाई न्याय देऊ भन्दै युवाहरुकाे समूहले शुक्रबार बिहान बालुवाटारमा धर्ना दिएका छन्।  

धर्नाको उद्देश्य थियो, ‘आठ वर्षअघिको बलत्कारको एउटा घटना। पीडित स्वयंमले बुधबार सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गरेकी छिन्।’ उनले आठ वर्षदेखि गुम्साएर राखेका पिडालाई भिडियोमार्फत एकाएक बाहिर ल्याएपछि नेपाली समाज फेरी एकपटक तरंगित भएको छ। र, स्तब्ध भएको छ।  

सुन्दरी प्रतियोगितामा भाग लिएकी उनी आयोजकबाटै पटकपटक यौन शोषणमा परिन्। घटना यत्तिकैमा रोकिएन, यसबीचमा अरु पात्रहरु पनि आए जसले यौन शोषण गरिरहे। 

तस्बिर: विजय राई नागरिक

 त्यसैले यस्ता आन्दोलन र धर्ना पछिल्ला वर्षहरुमा बाक्लिदै छन्। चेली, महिला र युवतीहरुमाथि पटकपटक हुने बलत्कार, यौन शोषण, जबरजस्तीकरण र अमानविय व्यवहारको ग्राफ बढ्दो छ। यही ग्राफसँगै आन्दोलन र धर्नाका कार्यक्रम पनि बढिरहेको छ। तर, यस्ता घटनाको दिर्घकालीन समाधान वा सम्बोधन अपेक्षाकृत रुपमा भएको देखिँदैन।  

धर्नामा बसेका युवाहरुको समूहको योजना प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार अगाडि नै धर्ना दिने थियो। पूर्व सुचना पाएपछि बालुवाटार क्षेत्रमा सरकारले कडा सुरक्षा व्यवस्था गर्र्यो। यो समूह नक्सालस्थित भाटभटेनी नजिकै धर्ना दिन बाध्य भयो।  

बालुवाटार पुग्न लागेको यो समूह प्रहरी हस्तक्षेप पछि तितरवितर भयो। र, भाटभटेनी छेउमा बसेर पीडित युवतीका लागि न्याय माग्दै कराईरह्यो।  

‘अकुपाइ बालुवाटार’नामक अभियान नै चलाएर युवाले स्वतः स्फूर्तरुपमा भेला भएर पीडितको लागि ९ बजेदेखि १० बजेसम्म न्याय मागेका हुन्। उनीहरुको माग थियो, ‘घटना नयाँहोस या पुरानो। पीडितले तत्काल न्याय पाउनुपर्छ। घटना सार्वजनिक भइसकेपछि तत्काल छानविन हुनुपर्छ। अपराधीलाई तत्काल कारवाहीको दायरमा ल्याउनुपर्छ।’ 

तस्बिर: विजय राई नागरिक

 बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले पेयपदार्थमा लठ्ठिने सामग्री खुवाएर बलात्कार गरेको भनि सार्वजनिक गरेकी थिईन्।

उक्त आरोपीलाई सजायको माग गर्दै सामाजिक सञ्जालमा युवाहरूले  शुक्रबार ‘अकुपाइ बालुवाटार’ कार्यक्रमको आह्वान गरेका थिए। धर्नामा सहभागीहरुले बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धि कानुनमा रहेको हदम्याद हटाउन, बलात्कार र यौनजन्य हिंसाका मुद्दाहरुको फैसला फास्ट ट्रयाकबाट गर्ने अदालतको स्थापना गर्न, दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने लगायतका माग गरे।

धर्नामा सहभागी भावना राउतले देशमा कानुन फितलो भएका कारण यस्ता घटनाहरू दोहोरिरहेको बताइन्। उनले दोषीलाई कानुनको दायरामा ल्याउने नीति नै कमजार भएको ठहर गरिन् पीडितले बाहिर आएर दोषीको नाम नै लिँदा पनि प्रहरी प्रशासनले केही गर्न नसकेको उनको आरोप थियो।

  अर्की सहभागी जानकी पाठकले महिला राष्ट्रपति भएको देशमा महिलाहरूकै सुरक्षामा चुनौती रहको दुःख लाग्दो विषय भएको बताइन्। उनले महिला कुनै पनि क्षेत्रमा सुरक्षित नरहेको भन्दै महिला कहाँ सुरक्षित छन् भनेर सरकारलाइ प्रश्न समेत गरेकी थिइन्।  

धर्नामा उपस्थित युवाहरूले दोषीलाइ छिटो भन्दा छिटो कानुनको दायरामा ल्याउन जोडदार माग गरिरहेका छन्।  

के हो त घटना? कसरी आयो बाहिर?  

२०१४ मा सुन्दरी प्रतियोगितामा सहभागी एक प्रतियोगीले आयोजक मध्येका मुख्य व्यक्तिले यौन अपराध गरेको खुलासा गरेकी हुन। उनले आफूलाई बेहोस हुने औषधि मिसाइएको पेय पदार्थ खुवाएर बलात्कार गरेको सार्वजनिक गरेकी हुन्।

पीडित युवतीले बुधबार सामाजिक सञ्जाल टिकटक मार्फत सात वर्षअघि आफूमाथि भएको यौनशोषणको घटना सार्वजनिक गरेकी थिइन्।

भिडियोमा ती युवतीले मिस ग्लोबल इन्टरनेसनल २०७१ मा भाग लिदा आफू १६ वर्षकी मात्र भएको र यौन शोषणमा परेका कारण मानसिक रूपमा विक्षिप्त बन्नुपरेको खुलासा गरेकी छन् ती युवतीले आफूमाथिको घटनाबारे हिम्मत नभएका कारण कसैलाई भन्न नसकेको तर अहिले जान्न बुझ्ने भएपछि बाहिर ल्याएको बताएकी छन्। उनले यौन शोषणका कारण पटकपटक आत्महत्याको प्रयास गरेको समेत बताएकी छन्।

मिस ग्लोबल प्रतियोगितामा आफू पनि छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालकले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले भनेकी छन् आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले बताएकी छन्।

उनले सञ्चालकलाइ, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच. छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेको र एकछिन बसेपछि उनले किशोरीलाई ‘लेमोनेड’ खान दिएको बताएकी छन्।  

'लेमोनेड' खाएको केही समयपछि रिंगटा लागेजस्तो भयो। म घर जान्छु भन्दै निस्किन लाग्दा उनले रोके, 'अहिलै नजाऊ, पार्टीमा केटीहरूले ड्रिंक गरेपछि उनीहरूलाई गाह्रो हुन सक्छ भनेर कोठा बुक गरिएको छ, त्यहाँ गएर आराम गर भनेर मलाई कोठामा लगे।' उनले भनेकी छन्। यसपछि आफूलाई राम्ररी होस नभएको र बीचबीचमा आफू ब्युँझिँदा ती व्यक्तिले आफूलाई बलात्कार गरिरहेको उनले बताएकी छन्।

बिहान घर जाने बेलामा ती व्यक्तिले 'यो कुरा कसैलाई नभन्नू', मसँग तिम्रो फोटो र भिडियो छ, सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएको र २० हजार पैसा आफ्नो व्यागमा राखिदिएको बताएकी छन्।

उनले ब्युटी पेजेन्टका आयोजकले आफूमाथि ६ महिनासम्म लगातार यौनशोषण गरेको पनि बताएकी छन्। उनले तस्बिर खिच्ने क्रममा एकजना फोटो पत्रकार पनि आफूमाथि भएको यौन शोषणबारे जानकार भएको उल्लेख गरेकी छन्।

ती युवतीका अनुसार त्यतिबेला उनी छनोटमा नपरे पनि त्यहाँका तस्बिरहरू बाहिर आएपछि ‘फोटो सुट’ का लागि बोलाइएकी थिइन्। आफू बोलाइँदा मोडल बन्न खोजेको र त्यसमै भविष्य देखेर गएको उनले बताएकी छन्। ब्युटी पेजेन्टमा भाग लिएपछि फस्ट रनर अप हुन सफल भएको पनि उनले भिडियोमा बताएकी छन्।

आफूले कसैको नाम लिन नचाहेको र यतिका वर्षपछि आफूमाथि भएको यौन हिंसाको कुनै पनि प्रमाणसमेत नभएको उनले बताएकी छन्। कल डिटेल, म्यासेज सबै सुरक्षित राखेको तर आफूलाई त्यसले झन् पीडा दिएपछि ‘डिलिट’ गरेको पनि उनले खुलाएकी छन्। त्यस समयमा केही सेलिब्रेटीसँग आफूमाथि भएको यौनशोषणबारे कुरा राखेको तर सहयोग नपाएको पनि उनको भनाइ छ। त्यस घटनापछि आफू केटा साथीबाट पनि पटकपटक यौन शोषणमा परेको पनि उनले बताएकी छन्।

मनोविज्ञानविज्ञ विषय अध्ययनरत ती युवतीले आफू नेपालकै ठुलो मनोविद् भएर मानसिक स्वास्थ्यमा सघाउने प्रण गरेकी छन्। उनले किशोरीहरूलाई आमाबुबाको साथबिना एक्लै कतै कार्यक्रममा सहभागी नहुनसमेत सुझाएकी छन्। आफूमाथि कसैले यौन दुव्र्यवहार गरे तुरुन्त सार्वजनिक गर्नसमेत उनको आग्रह छ।

ती युवतीले आफू किशोरावस्थामा बलात्कृत भएको घटनालाई सात वर्षपछि भिडियो बनाएर पोस्ट गरेकी हुन्। टिकटकमा पोष्ट भएका  २१  भिडियो क्लिपमा उनले आफूले भोगेका यौन हिंसाका दर्दनाक पीडा सेयर गरेकी छन्। उनको भिडियो टिकटकमा मात्रै सीमित नभएर फेसबुक, इन्स्टाग्राम, ट्विटर, युट्युबसम्म फैलिएको छ।

प्रकाशित: ६ जेष्ठ २०७९ ०८:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App