४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

सुनसरीमा एक सय २४ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सुनसरी प्रशासनले सुरक्षाका दृष्टिकोणले १२४ वटा मतदान स्थलमा कडा सुरक्षा व्यवस्था अप्नाएको छ। जिल्लाका ४४ वटा मतदान स्थललाई अति संवेदनशील र ८० वटा संवेदनशील ठानेर सुरक्षा व्यवस्था कडा पारेको हो।

जिल्ला प्रशासन कार्यालयले निर्वाचन लक्षित ‘एकीकृत सुरक्षा योजना’ कार्यान्वयनमा ल्याएसँगै अति संवेदनशील र संवेदनशील केन्द्रमा वर्गीकरण गरि सुरक्षा थ्रेटलाई ख्याल गरेर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिइयो। सुनसरीमा ४२ वटा मतदान स्थल मात्र सामान्य सूचीमा वर्गीकरण गरिएको छ।

सुनसरीमा एक सय ६६ वटा मतदान स्थल अन्तर्गत पाँच सय ८१ वटा मतदान केन्द्र छन्। मतदान केन्द्रमा २ हजार २ सय ४६ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।

‘जिल्लाका सबै स्थानमा रिर्जभ फोस पनि परिचालन गरिएको छ भने छवटा स्थानमा स्टाइकिङ् टोली पनि खटाइएको छ,’ प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, ‘निर्वाचनलाई लक्षित गरेर हिमाल सुरक्षा परिषदसहित केही समूहले इटहरीमा वम विस्फोट गराएको घटना र शंकास्पद व्यक्तिको गतिविधीलाई पनि नियालेर सुरक्षा व्यवस्था पुरै कडाई गरिएको हो।’

उनका अनुसार जिल्लाभर यसपटक ३८ वटा राजनीतिक दलसहित अन्य स्वतन्त्र गरि तीन हजार एक सय ९६ जना उम्मेदवार चुनाबी प्रतिस्पर्धामा छन्। ती उम्मेदवारहरुलाई पनि सुरक्षा प्रदान गर्न सुरक्षाकर्मीले निगरानी राख्ने जानकारी दिइयो।  

यहाँ सुरक्षाको लागि नेपाल प्रहरीका एक हजार तीन सय १७ जना, म्यादी प्रहरी दुई हजार ६८ जना, शशस्त्र प्रहरी पाँच सय १२, नेपाली सेना तीन सय ३० जना र राष्ट्रिय अनुसन्धान विभागका १९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। ‘तीन घेरा सुरक्षा नीति अनुसार भित्री कोर टीममा नेपाल प्रहरीसँगै म्यादी प्रहरी, त्यसपछि सपोर्टिङ्मा सशस्त्र प्रहरी र बाहिरी घेरामा सेनाको टोली खटाइएको छ,’ जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापाले भने।  

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन गर्नुपर्ने सम्पूर्ण काम सकिएको बताउँदै जिल्लामा चार तहमा सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकरी यादवले जानकारी दिए। सुनसरीसँग जोडिएको भारतीय सिमा ७२ घण्टाको लागि शिल गरि सकिएको छ। 

यद्यपी खुल्ला सीमनाका कारण सुनसरीमा थप सुरक्षा चूनौती रहेको छ। खुल्ला सीमनाकै कारण आपराधिक व्यक्तिहरुको सहज आउजाउँ र भारतमा बस्ने कतिपयले नेपाली नागरिकता लिएकाले गर्दा पनि त्यस्ता व्यक्ति नाममा मतदान गर्न आउने हुँदा सुरक्षा व्यवस्था मजबुद पारिएको छ। भारतीय सुरक्षा निकायसँगको समन्वयमा सीमा क्षेत्रमा आउँजाउँ रोक लगाउँदै बोर्डर शिल गरिएपनि कतिपय अनेक बाहना बनाएर र यतिबेला मकैबारी भएकाले प्रहरीको आँखा छलेर नेपाल आउने भएकाले गर्दा पनि प्रहरीले सीमा क्षेत्रमा सर्तकता बढाएको छ।

यता, सुनसरीको धरान र इटहरीमा नेपाली सेनाको कम्पनी अपरेटिङ बेस स्थापना गरी जिल्लामा नेपाली सेना परिचालन गरिएको छ। स्थानीय निर्वाचन सफल बनाउन र सुनसरीको शान्ति सुरक्षा मजबुद बनाउनका लागि चौबिसै घण्टा सेना परिचालन गरिएको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०८:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App