३ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

कास्कीमा २ लाख ८१ हजार ९ सय बढी मतदाता मतदानमा सहभागी बन्ने

पोखरा महानगरपालिकाको तोकिएका मतदान स्थलमा निर्वाचन सामाग्री लैजादैं। तस्बिर: उमेश पुन/नागरिक

कास्कीमा ५७ हजार नयाँ मतदाताले आफ्नो मत प्रयोग गर्दै छन्। चार वटा गाउँपालिका र एक महानगरपालिकामा नयाँ थपिएका मतादाताले शुक्रबार आफ्नो मतदान केन्द्रमा पुगेर मत खसाल्ने छन्।

महानगरमा मात्रै ३९ हजार ६ सय ३८ मतदाता थपिएका छन् चुनावको लागि आवश्यक तयारी पूरा भइसकेको छ। आवश्यक सामाग्री सम्बन्धित केन्द्रमा पुगिसकेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

‘कास्कीको सबै मतदान केन्द्रमा आवश्यक सामाग्री पुगिसकेको छ। केही छिटफुट सामान जाँदै छ।’ उनले भने, ‘नपुगेको दुर्गम ठाँउमा जाँदै हुनुहुन्छ। आवश्यक सामान पुगिसकेको निर्वाचन अधिकृतले जानकारी गराई सूचना टाँस समेत भइसकेको छ।’

तथ्यांक अनुसार कास्कीको चारवटा गाँउपालिका र एउटा महानगरपालिकामा ५७ हजार १ सय २९ मतदाता थपिएका हुन्। २०७४ को स्थानीय चुनावमा कास्कीमा २ लाख २४ हजार ८ सय ११ मतदाता थिए। २०७८ माघ २४ सम्म संकलित नामावली अनुसार २ लाख ८१ हजार ९ सय ४० मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।

नयाँ मतदाताकै आधारमा कास्कीका चार गाँउपालिका र एक महानगरपालिकाको मतदान केन्द्रमा आवश्यक चुनावी सामाग्री पुगिसकेको छ। कास्कीको अन्नपूर्ण गाँउपालिकामा १५ मतदान स्थल तोकिएको छ। २६ वटा केन्द्र छन्। ती केन्द्रमा २० हजार ३ सय ६४ मतदाताले आफ्नो मत प्रयोग गर्ने निर्वाचन कार्यालयले जनाएको छ। २०७४ मा १५ हजार ५ सय ६९ रहेको तथ्यांक थियो।

त्यस्तै कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २० हजार ४ सय ६८ मतदाता पुगेका छन्। अघिल्लो स्थानीय चुनावको तुलनामा मादी गाउँपालिकामा पनि ५ हजार २ सय मतदाता थपिएका हुन्। माछापुच्छ्रेमा १२ स्थलसहित २५ मतदान केन्द्र राखिएको निर्वाचन कार्यालय कास्कीले जनाएको छ।  

रुपा गाँउपालिकाको तथ्यांक अनुसार १४ हजार ६ सय ४४ मतदाता संख्या पुगेका छन्। २०७४ को स्थानीय चुनावमा ११ हजार ३ सय १५ मतदाता रहेका थिए। निर्वाचन कार्यालय कास्कीले रुपा गाँउपालिकामा ८ स्थलमा १८ वटा मतदान केन्द्र तोकेको छ।

त्यस्तै मादी गाउँपालिकामा१८ हजार ७ सय ५९ मतदाता रहेको तथ्यांकले देखाएको छ। ५ हजार २ सय नयाँ मतदाता थपिएका हुन्। मादीमा १७ स्थलमा २५ केन्द्र तोकिएको छ। पोखरा महानगरमा ३३ वटा वडा छन्। ३३ वटा वडामा ३९ हजार ६ सय ३८ नयाँ मतदाता थपिएको तथ्यांक छ।

नयाँ मतादातासहित पोखरा महानगरमा दुई लाख ७ हजार ७ सय १२ मतदाता संख्या रहेको छ। २०७४ को स्थानीय तहको निर्वाचनमा संख्या १ लाख ६८ हजार ६७ मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय, पोखराको तथ्यांक थियो। महानगरमा ९८ स्थलमा २४२ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित: २८ वैशाख २०७९ ०७:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App