१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

२०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्नेः अध्ययन

नयाँ दिल्लीको यमुना नदीको सुक्खा तटमा हिँड्दै गरेका स्थानीय। फाइल तस्बिरः एपी

जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ।

विश्व मौसम संगठन (ओएमआई) का लागि ११ वटा विभिन्न संस्थाका मौसमविद् सम्मिलित टोलीले सोमबार अबेर सार्वजनिक गरेको एक आकलनअनुसार तापक्रम वृद्धिको तोकिएको सीमा अबदेखि सन् २०२६ को अन्त्यसम्म कुनै पनि बेला पार हुन सक्ने ४८ प्रतिशत सम्भावना देखिएको छ।

गत वर्ष गरिएका केही आकलनले यो सम्भावना ४० प्रतिशत रहेको देखाएका थिए। एक दशकअघिसम्म यो सम्भावना १० प्रतिशत मात्र थियो। सन् २०१५ मा गरिएको पेरिस सम्झौताले १९औं शताब्दीको अन्त्यताकाको तापक्रमको तुलनामा पृथ्वीको तापक्रम वृद्धिलाई सकेसम्म १.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ।

बेलायतको मौसम विज्ञान कार्यालयले संयोजन गरेको अध्ययन टोलीको आकलन अनुसार सन् २०२६ को अन्त्यसम्म विश्वले सर्वाधिक गर्मीको सामना गर्न सक्नेछ। ‘जलवायु परिवर्तनका अन्य सम्भावनासहित हामीले पृथ्वीको तापक्रम निरन्तर बढेको देख्नेछाैँ,’ अध्ययन प्रतिवेदनको संयोजन गरेका बेलायतको मौसम कार्यालयका वरिष्ठ वैज्ञानिक लिओन हर्मान्सनले भने।

अध्ययनक्रममा वैज्ञानिकले वार्षिक तथा क्रृतुहरूको आधारमा विश्वव्यापी तथा क्षेत्रीयस्तरमा मौसम परिवर्तनको सरदर आकलन गरेका थिए। अध्ययनमा कम्युटर सिमुलेसनजस्तो अद्यावधिक प्रविधिको उपयोग गरिएको थियो। औद्योगिक क्रान्तिअघिको तुलनामा पृथ्वीको तापक्रम १.१ डिग्री सेन्टिग्रेडले वृद्धि भैसकेको छ।

सन् २०१८ मा संयुक्त राष्ट्रसंघद्वारा जारी एक वैज्ञानिक प्रतिवेदनले पृथ्वीको तापक्रम १.५ डिग्रीले बढेमा यसले विश्व एवं मानव जातिलाई नाटकीय र खतरनाक प्रभाव पार्न सक्ने देखाएको थियो। खनिज इन्धनले उत्सर्जन गर्ने हरितगृह ग्यासका कारण विश्वमा इल निनो, ला निनालगायतका प्राकृतिक मौसम परिवर्तनका घटना बढेको वैज्ञानिक ठान्छन्। हिउँदयाममा विश्वको अन्य क्षेत्रको तुलनामा उत्तरी धु्रवमा तापक्रम वृद्धि सरदरमा तीन गुणाले बढेको छ।

पछिल्लोपटक सोमबार सार्वजनिक अध्ययन प्रतिवेदनले आगामी ५ वर्षमा दक्षिण–पश्चिम अमेरिका, दक्षिण–पश्चिम युरोप अधिक सुकख रहने तथा अफ्रिकाको साहेल क्षेत्र, उत्तरी युरोप, उत्तरपूर्वी ब्राजिल तथा अस्ट्रेलियामा आर्दता बढ्ने देखाएको छ। अध्ययनमा संलग्न वरिष्ठ वैज्ञानिक हर्मान्सनले अन्तर्राष्ट्रिय टोलीले यसप्रकारको आकलन विगत १० वर्षदेखि अनौपचारिक रूपमा गर्दै आएको र विगत ५ वर्षदेखि औपचारिक रूपमा गर्दै आएको बताए। उनले आफू संलग्न अध्ययन टोलीले गरेको आकलन ९० प्रतिशत सही हुँदै आएको दाबी गरे।

नासाका वरिष्ड जलवायु वैज्ञानिक ग्याभिन स्मिथले अध्ययन प्रतिवेदनले औंल्याएको वृद्धिदर नासा र नेसनल ओसियानिक एन्ड एटमोसफेरिक एडमिनिस्ट्रेनले गरेको आकलनभन्दा केही बढी देखाएको र दीर्घकालीन रूपमा जलवायु परिवर्तनका क्षेत्रीय आकलन गर्न ठुलो सिप चाहिने बताए। ‘जे जस्तो आकलन गरिए पनि आगामी दशकमा पृथ्वीको तापक्रम वृद्धि १.५ डिग्री सेन्टिग्रेडभन्दा बढी हुने देखिएको छ,’ स्मिथले भने। (एपी)

प्रकाशित: २८ वैशाख २०७९ ०१:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App