१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्वाचनका लागि अधिकृतसहित कर्मचारीको टोली मतदानस्थलतर्फ

चितवनमा स्थानीय तह निर्वाचनका लागि मतदान अधिकृतसहित कर्मचारीको टोली मतदान स्थलतर्फ लागेका छन्। जिल्ला निर्वाचन कार्यालयबाट निर्वाचनका लागि आवश्यक सामाग्री बुझेर उनीहरु आज मतदान स्थलतर्फ लागेका हुन्।

बिहान साढे ६ बजेदेखि नै मतदान अधिकृतलाई निर्वाचनका लागि चाहिने आवश्यक सामाग्री बुझाउने क्रम जारी रहेको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख भिमसेन कार्कीले जानकारी दिए। भौगोलिक रुपमा टाढा रहेका मतदान केन्द्रका मतदान अधिकृतसहितका कर्मचारी निर्वाचन सामाग्री बुझेर हिडिसकेको उनले बताए।

‘मतदान अधिकृतहरु निर्वाचन सामाग्री बुझेर जाने क्रम जारी छ,’ कार्कीले भने, ‘टाढाका साथीहरु गैसक्नुभयो। आजसाँझसम्म सबै मतदान अधिकृतहरु मतदान स्थलमा पुग्नुहुन्छ।’ जिल्लामा निर्वाचनका लागि आएको मतपत्र, मत पेटिकासहितको ६१ प्रकारका सामग्री बुझेर मतदान अधिकृतहरु खटिएका छन्।

मंगलबार साँझसम्म मतदान स्थलमा पूगेर सर्वदलिय बैठक राख्ने योजना रहेको भरतपुर वडा नम्बर २८का मतदान अधिकृत हरिप्रसाद लम्सालले बताए। ‘मतपत्र र मतपेटिका बुझियो। बेलुकासम्म पुगेर मतदान केन्द्रका अवलोकन गरिन्छ। साँझसम्म सर्वदलिय बैठक राखिन्छ,’ जिल्ला निर्वाचन कार्यालयबाट मतपत्र बुझेर निस्किदै गरेका लम्सालले भने, ‘मापदण्ड बनाएर सर्वसहमतिमा निर्णय गरेर निर्वाचनमा खटिन्छौँ।’

निर्वाचन स्वच्छ, मर्यादित र निष्पक्ष बनाउने गरि तयारी गरिएको गौरिगञ्ज माविका मतदान अधिकृत विष्णु आचार्य बताए। जिल्लाका अधिकांश मतदान अधिकृतहरुले आज नै सर्वदलिय बैठक बसेर सुरक्षा योजना तयार पार्ने तयारी गरेका छन्। भोलि र पर्सि मतदाता परिचयपत्र वितरण र मतदान केन्द्र निर्माणमा लाग्ने आचार्यले जानकारी दिए।

चितवनमा जिल्लामा ४५१ वटा मतदान केन्द्र छन्। मतदान अधिकृत र साहायक अधिकृतहरूलाई सामग्री बुझाउने उनले बताए। मतदाता संख्याको आधारमा कर्मचारीको संख्या बाँडफाड गरिएको छ। १६१ मतदानस्थल रहेको चितवनमा स्वयसेवकसहित ३ हजार ६ सय ८ जना कर्मचारी खटिएका छन्। प्रत्येक मतदान केन्द्रमा तीन जना स्वयसेवक खटिएका छन्।

मतदान अधिकृत, साहायक मतदान अधिकृत, दुई जना साहायक कर्मचारी र एक जना कार्यालय सहयोगी गरि पाँच जना खटिन्छन्। तर, एउटा मतदान स्थलमा कति सुरक्षाकर्मी खटिन्छन् भन्ने विषयमा चितवन प्रहरीले सार्वजनिक गरेको छैन। जिल्लामा म्यादी प्रहरीको संख्या १ हजार ६५१ जना रहेको छ। जिल्लाको सुरक्षा हेरेर सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरिक्षक नवराज अधिकारीले जानकारी दिए।

‘सुरक्षाका हिसाबले हाम्रो जनशक्तिको विषयमा सार्वजनिक गर्न मिल्दैन,’ उनले भने ‘हामीले आवश्यकता अनुसार सुरक्षाकर्मी खटिनेछन्।’ एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनमा नेपाली सेना, स–सस्त्र प्रहरी, जनपथ प्रहरी र म्यादी प्रहरी खटिनेछन्। सेनाले बाहिरी भूभागको निगरानी गर्नेछ। मतदान स्थलबाहिर स–सस्त्र प्रहरी र मतदान केन्द्रको सुरक्षा प्रहरी र म्यादी प्रहरीले गर्ने अधिकारीले जानकारी दिए।

मंगलबारदेखि नै मतदान केन्द्रको निर्माणदेखि सुरक्षाका लागि प्रहरी खटिने उनले बताए। सात पालिका रहेको जिल्लामा मतदानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन स्थलगत अध्ययन तथा अनुगमन भैरहेको उनले बताए। ‘मतदानस्थललाई अतिसंवेदशनशील, संवेदनशील र सामान्य गरी विभाजन गरेका छौँ’, उनले भने, ‘सोहीअनुसार हाम्रो सुरक्षा योजना छ। सुरक्षा परिचालनमा केही समस्या छैन।’

एकीकृत सुरक्षा योजना समितिले सुरक्षाका हिसाबले चितवनमा अतिसंवेदनशील २५, संवेदनशील ९२ र ४४ वटा मतदान स्थललाई वर्गिकरण गरेको छ। मतदानस्थलको भौगोलिक अवस्था, अघिल्ला निर्वाचनको गतिविधि, मतदाता संख्या, स्थानीय नागरिकको अवस्थालाई ध्यानमा राखेर सुरक्षाकर्मी खटाइने उनले अधिकारीले जानकारी दिए।

जिल्लाभर ३ लाख ९७ हजार ६८५ मतदाता छन्। जसमध्ये २ लाख ४ हजार ६६६ जना महिला, १ लाख ९३ हजार १८ जना पुरुष र १ जना तेस्रो लिङ्गी रहेका छन्। कुल मतदातामध्ये भरतपुर महानगरपालिकामा १ लाख ८५ हजार ७५२, रत्ननगर नगरपालिकामा ५२ हजार ६४२, खैरहनीमा ४३ हजार ५३१, कालिकामा ३१ हजार १५७, राप्तीमा ४० हजार ६४९, माडीमा २८ हजार ३२० र इच्छाकामना गाउँपालिकामा १५ हजार ६३४ मतदाता रहेका छन्।

प्रकाशित: २७ वैशाख २०७९ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App