१५ असार २०८१ शनिबार
image/svg+xml
समाज

स्थानीय तह निर्वाचन: ओझेलमा द्वन्द्वका मुद्दा

माओवादी द्वन्द्व सुरुवात भएको होलेरी।

माओवादी सशस्त्र द्वन्द्व चरम उत्कर्षमा थियो। २०५९ साल मंसिर महिनाताका माओवादी खोज्दै गाउँ छिरेको सेनाले जुरेली (नाम परिवर्तन)लाई हातपात गरे। भर्खरै १५ पुगेकी जुरेलीसँग जिस्किँदै गरेका सैनिक जवानका हाकिम जस्ता देखिने एक जनाले गोठालो गएकी किशोरीलाई जंगलको झाडीमा लगेर बलत्कार गरे।

च्यातिएको योनीबाट रगत चुहाउँदै घर पुगेकी जुरेलीले आमालाई घटना सुनाइन्। इज्जत जाने डरले आमाले घटना गुपचुप राख्न लगाइन्। योनीमा लागेको जुरेलीको घाउ त विस्तारै निको भो तर मनको घाउ आजसम्म पनि ताजै छ। समय बित्दै जाँदा उनले बिहे गरिन् बच्चा जन्माइन्। अहिले जुरेलीको दैनिकि आफ्नै गतिमा चलेको छ तर मनको घाउ पुरीएको छैन।

आर्मी कलरको छिर्केबिर्के कपडा लगाएका पुरुष देख्दा आज पनि जुरेलीको मन तर्सिन्छ। जवान अबिवाहित छोरीको पिरोलोले झनै तर्सिने उनी मानसिक रुपमा अस्वस्थ छिन्। विपन्न आर्थिक अवस्थाकी जुरेलीका श्रीमान भारतमा मजदुरी गर्छन्। आफूले गाउँमा खेती र मजदुरी गर्छिन्। देशमा लडाँइ सकिएको सुनेकी जुरेलीलाई मन अशान्त भएका कारण शान्ती के भन्ने थाहा छैन।

न्याय पाउनका लागि अनुरोध गर्न समेत नसकेकी उनले राहत र परिपुरण पाउने कुरै भएन। गरिबिले नेटो काट्दा जीवनसँग दिक्क लाग्ने जुरेलीले कुनै समय आत्महत्या रोज्न खोजेकी थिइन् तर छोरीको यादले जीवनलाई चोट भने पुर्‍याइनन्। रोल्पामा जुरेली जस्ता धेरै चेलीहरु द्वन्द्वका समयमा बलत्कारको सिकार भएका थिए। यौन हिंसामा परेका महिलाहरुको आधिकारीक तथ्याङ्क अहिलेसम्म पनि कहीँ कतै छैन भने खोजी पनि भएन।

पाँच वर्ष अगाडी घरको छेउमा सरकार आयो। अब त केही हुन्छ की भन्ने अपेक्षामा  तुवालो लागेको पीडितहरुको गुनासो छ। ‘हामी त यौन हिंसा पीडित हौँ भनेर वडा र गाउँपालिकामा समेत पुगेका थियांै तर जनप्रतिनिधिले तथ्याङ्क छैन भनेर चासो नै दिएनन्।’ पश्चिम रोल्पाको दुर्गम गाउँकी एक यौन हिंसा पीडित महिलाले भनिन् ‘पीडित हौं भनेर खुलेर आउँदा पनि कसैले मतलब नै गरेनन्।’

यसपालिको निर्वाचनमा उमेद्वार बनेका कसैले पनि आफ्ना प्रतिबद्धता पत्रमा द्वन्द्व पीडित त्यसमा पनि यौन हिंसा पीडितका बारेमा कहीँ कतै सम्बोधन नगरेपछि पीडित महिलाहरु दिक्क बनेका छन्। एक हिंसा पीडित महिला भन्छिन्, ‘हामिलाई कसैले सम्झिएनन्। हाम्रो के समस्या छ भन्ने बारेमा कसैलाई कुनै चासो छैन।’ बलत्कारको सिकार भएका हौं भनेर जताततै खुलेर भन्न गाह्रो मान्ने महिलाहरुका बारेमा स्थानीय सरकार चलाउनेहरु मौन बसेपछि पीडितलाई थप पीडा थपिएको हो।

माओवादी सशस्त्र द्वन्द्वका समयमा यौन हिंसाका सिकार भएका अधिकांश महिलामा मात्र नभएर आफन्त मारिएका र बेपत्ता पारिएका परिवारमा समेत मानसिक समस्या व्यापक छ तर युद्ध लडेकाहरु समेतले यस्ता विषयमा फेरी पनि ध्यान दिन सकेनन्। द्वन्द्वको घाउ सुल बनेर मनमा गडेपछि धेरैमा पीडा छ तर सम्बोधन तिर कसैको ध्यान गएको छैन।

दश वर्षे द्वन्द्वका समयमा ९ सय ६९ जना रोल्पालीले ज्यान गुमाएका थिए भने ३३ जना बेपत्ताको सूचीमा छन्। घाइते, अपाङ्ग, एकल महिला र टुहुराको संख्या गनिनसक्नुको छ। भौतिक निर्माणलाई विकास मान्ने राजनीतिक प्रवृतिका कारण यहाँका द्वन्द्व पीडितहरु आजसम्म पनि खिल परेको घाउ बोकेर बसिरहेका छन्।

प्रकाशित: २४ वैशाख २०७९ ११:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App