१७ जेष्ठ २०८३ आइतबार
image/svg+xml
समाज

त्यो 'नेपाल खाल्डो'

सात सालको परिवर्तनअगाडि काठमाडौं खाल्डोलाई 'नेपाल' भन्ने गरिन्थ्यो। सरकारी कामकाजको बोलीचालीमा काठमाडौं खाल्डोलाई सदर र काठमाडौंबाहिरका जिल्लालाई मोफसल भनिन्थ्यो। सात सालपछि पनि धेरै वर्षसम्म काठमाडौं खाल्डोलाई नेपाल भन्ने चलन यथावत थियो। सम्बोधनको क्रममा काठमाडौंबाट ल्याइएकी बुहारीलाई 'नेपाल्नी' र बसाइँसराइ गरी काठमाडौंबाट आएकाहरूलाई 'नेपाले' भन्ने गरिन्थ्यो।२०१८/२० सालतिरको कुरा हो, हजुरबुबा नेपाल घुम्न जाने भनेर बुटवल आउनुभएको थियो। उहाँ नेपाल जाने भएपछि यस पंक्तिकारलाई पनि सँगै नेपाल घुम्न जाने चौचौ जागेको थियो। सन् १९५६ मा त्रिभुवन राजपथ बनेपछि मात्र बाहिरी संसारसँग काठमाडौं खाल्डो जोडियो। तर पनि त्यति बेलासम्म काठमाडौं खाल्डोसँग नेपालकै बाहिरी जिल्ला मोटरबाटाले जोडिएका थिएनन्।

कहिले हुलाकी बाटो पछ्याउँदै, कहिले हुलाकी बाटोले कोरेका डोब छोड्दै काठमाडौं पैदल पुग्न सकिन्थ्यो। तर, यो बाटो कठिन थियो। धेरै दिन लाग्थ्यो। त्यसताका सिद्धार्थ राजमार्ग र बुटवल–नारायणघाट–मुग्लिङ भएर काठमाडौं जाने बाटो बनेको थिएन। बुटवलबाट काठमाडौं जानुपर्योस भने एउटा बाटो गोरखपुर भएर मुजफरपुरबाट रक्सोल–वीरगन्ज एनजिआर (लोहपथ गामिनी) हुँदै अमलेखगन्ज पुगेर भीमफेदीबाट त्रिभुवन राजपथ भएर काठमाडौं पुगिन्थ्यो। अर्को बाटो बुटवलबाट त्रिवेणी–भैसालोटन–बगाहा–नरकटियागन्ज–सुगौली–वीरगन्जमा एनजिआर (लोहपथ गामिनी) समातेर अमलेखगन्ज आई भीमफेदीबाट त्रिभुवन राजपथ भएर काठमाडौं पुगिन्थ्यो। हजुरबुबा यही दोस्रो बाटो भएर काठमाडौं जाने हुनुभएकोले, बाटो अहिलेको जस्तो सजिलो नहुँदा मेरो नेपाल धुम्ने इच्छा र बालहठले दर्बिलोसँग टेक्न सकेन।

'वीर भोग्या वसुन्धरा' भनेझैं काठमाडौं खाल्डोमाथि विभिन्न कालमा धेरै वंशले चढाइ गरे, अनि भोग पनि गरे। यहाँ जोजो आए उनीहरूले मन फुकाएर यसलाई सिँगारे, शमसुद्धिनबाहेक। ओरिङ्तै पहाडले घेरिएको समतल भूमिको प्राकृतिक मनोरमता आफ्नै ठाउँमा छ, साथै विभिन्न कालमा शासन गर्नेहरूले निर्माण गरेका मानवनिर्मित दोस्रो प्रकृतिले पनि यसलाई मनग्ये सिँगारेको छ। जजसले काठमाडौंलाई स्पर्श गरे, उनीहरूले आफ्नै तबरले यहाँ सुन्दरता थप्दै गए। यहाँको सुन्दरता र मनोरमता देखेर यहाँ आउनेहरू कसैलेे 'यो मन्दिरै मन्दिरको देश हो' भनी वर्णन गरे भने यसलाई 'यो एसियामा जनजातिहरूको मूर्तिकला, धातुकला र माटोको सिप पोखिएको केन्द्र'को रूपमा जोसेफ टुचीले सराए। अठारौं सताब्दीतिर काठमाडौं खाल्डोमा भित्रिएका पश्चिमेलीहरूले 'हरेक अर्को भवन एउटा मन्दिर हो भने हरेक अर्को दिन चाडपर्व हो' भनी मुक्तकण्ठले वर्णन गरेका थिए। यसरी नै न्यानो गृष्मको बेलाको स्विटजरल्यान्डको मनोरमता र जाडो यामको मध्य युरोपसँग काठमाडौंको समानता रहेको टोनी ह्यागनले लेखे।

साँच्चै भन्नुपर्दा काठमाडौं खाल्डोे एउटा 'मेल्टिङ पट' हो। यहाँ जो आए, उनीहरू यहीँ लीन भए। कुशीनगर पावाबाट आएका क्षत्रियहरू काठमाडौं खाल्डोमा आएर मल्ल राजा भई धेरै वर्ष शासन गरे। मैथिली ब्राह्मणहरू काठमाडौं आएर शैव नेवारहरूका पुरोहित बने। उनीहरूलाई राजोपाध्याय भन्छन् क्यार! झ्वाट्ट हेर्दा र सुन्दा नेवारजस्तो नलाग्ने ओझा, मिश्रहरू पनि काठमाडौं खाल्डोमा रहेका छन्। ब्राह्मणहरूले दीक्षा लिएर बज्राचार्य कहलिएकाहरूको महल्ला नै छ, काठमाडौं खाल्डोमा। यसले नै भन्ने गरिन्छ नि 'नेवार जाति' जाति होइन, 'संस्कृति' हो।

हजुरबुबा नेपालबाट फर्किनुभएपछि नेपाल खाल्डो, काठमाडौंमा मन्दिरै मन्दिर भएको, मन्दिरहरू दर्शन गर्न जाँदा दिनौं बितेको, जाडो याम भएकोले पानी टलक्क जम्ने, त्यहाँको रीतिरिवाज, संस्कृति, रहनसहन, बोलीचाली, व्यवहारका कुरा सुनाउनुहुन्थ्यो। यी कुरा सुन्दा काठमाडौं जान नपाएकोमा थैइया... हुन्थ्यो। अर्को कुरा एक घरकोले अर्को घरकोलाई नचिन्ने, केही जानकारी लिन खोज्यो भने अनभिज्ञता प्रकट गर्ने, नेपाल खाल्डोको यस्तो अचम्मको चलन सुन्दा भने गजब लाग्थ्यो। किन भने त्यसताका गाउँघर, खोला टोलामा, हाम्रोतिर यस्तो चलन थिएन। कुनै नयाँ मानिसले कसैको घर कता पर्छ? भनेर सोध्यो भने भरसक घरमा नै पुर्या्इदिने, नभए बाटो बताइदिने चलन थियो। नेपाल खाल्डोबाट फर्केको धेरै वर्षसम्म पनि कोही परिचित मानिस घरमा आयो भने नेपाल खाल्डोको वर्णन गरिहाल्नुहुन्थ्यो। उहाँको आदत नै बसेकोे थियो। अहिले समुद्रपारि गएर फर्केकाहरूले आफू गएको ठाउँको बयान गरेझैं।

गएको वैशाख १२ गतेको महाभूकम्प र परकम्पले धनजनको ठूलो क्षति पुर्याबउनुका साथै मानिसको सोचमा बदलाव ल्याएको छ। समाज, संस्कृति, इतिहास एवं पर्यावरणमाथि सघनताका साथ यत्तिको दबाब पहिले कहिल्यै परेको थिएन। अघि अग्लो राम्रा घर बनाउने, आफ्नो जीवनशैलीलाई सीमित घेरामा राख्ने र त्यही जीवनशैलीमा जिउनेे, गाँठी बलियो छ, पउल छ भने केही पनि र कोही पनि चाहिँदैन भन्ने चिन्तन झाँगिएको थियो। अहिले यस सोचमा निकै बदलाव आएको छ। 'साधा जीवन, उच्च विचार'तिर मानिस उन्मुख भएका छन्।

भूकम्पले सबैलाई पीडा बोकाएको छ। फेरि आउला कि भन्ने हरदमको त्रासले उछार दिएको छैन। अर्कोतिर आफ्ना मानिससँग फोन भइहाल्यो भने अनाहकमा जिम्मेवारी बोक्नुपर्ला कि भन्ने डर पनि बढेको छ। हुन पनि हो 'जो बोलेगा, ओह घि देगा' भनेजस्तै हुन सक्छ। अनाहकको झन्झट।

अघि यस पंक्तिकार काठमाडौंमा आउँदा आफ्ना मानिसले 'कहाँ छौ? केही खबर छैन, हामीकहाँ पनि आउँदैनौं, केटाकेटीहरू कहाँ छन्? यतातिर आउन पनि आउँदैनन्। कहिलेकाहीँ पठाइदेऊ न' भनेर सहृदयता देखाउँदै फोनबाट कुरा गर्थे। भेट्न नजाँदा मन दुखाउलान् कि भनी समय मिलाएर भेट्न जाने पनि गरिन्थ्यो।

भूकम्पपछि गजब भएको छ। ती आफ्ना मानिसको फोन आएको छैन। भूकम्पबाट त्रस्त भएकाले फोन गर्न नभ्याएको पनि हुन सक्छ। यसबखत आफ्ना मानिसहरू हराएझैं भएको छ, नेपाल खाल्डो, काठमाडौंमा। यस पंक्तिकारले पनि आफ्ना मानिसलाई के छ, कसो छ भनी फोन गरे हुन्थ्यो नि। 'सन्चै हुनुहुन्छ? भूकम्पले केही क्षति त गरेन?' भनेर फोन गर्दा के आकाश खस्थ्यो र? तर मेरो सोधाइले कहीँ जिस्काएझैं हुने त होइन? यस्तै डरले यस फोन गर्नेे दुःसाहस गरिएन, आँट पनि आएन।

भूकम्पले त्रस्त पारेको बखत आफ्नाहरूले फोन गरेन भनेर साँघुरो मन लिएर दुःखमनाउ गर्नु मनासिव होइन यो बेला। जे जस्तो मानिस भए पनि उसकोे अन्तरकुन्तरमा मानवीयता त लुकेको हुन्छ नि! अरू बेला सात समुद्रपारि गएका आफन्तहरूले पनि खुबै फोन गर्थे। आधुनिक विकासले भौगोलिक दुरीलाई निक्कै छोट्याएको छ। तर तिनीहरूको पनि अहँ फोनको घन्टी बजेको छैन। नजिक बस्ने आफ्ना मानिसको त योे चाला छ भने सात समुद्रपारि अमेरिकामा गएर एमटिसी र ओसिडिसीमा बेफुर्सद भएकाहरूसँग के आशा गर्नु र? व्यस्तताले गर्दा सात समुन्द्रपारि अमेरिकामा बसेका आफ्ना मानिसहरुलाई नेपालमा भूकम्प गएको पत्तो नहुन सक्छ। मानिसमा अन्तर्निहित आत्मकेन्द्रित हुने 'कछुवा धर्म' जुन छ, आज बढी झाँगिएको छ। ती आफ््कना मानिसका व्यवहार यस पंक्तिकारको मनमस्तिष्कमा विम्ब बनेको छ।

व्यक्तिवादी चिन्तनको जुन लर्कन छ, त्यो लर्कन लामै छ। यस लर्कनमा सबैलाई सोलोडोलो एकै ठाउँमा भने राख्न मिल्दैन। त्यस लर्कनबीचमा पनि फरकखाले धार, सुविचार, सही सोच बोकेका आफ्ना मानिस पनि नभएका भने पक्कै होइनन्। व्यक्तिवादी चिन्तनको सागरमा सहृदयीहरूको खडेरी भने पक्कै पनि छैन। साइनो 'चैतन्य' छ, 'राज' पूर्ण छ, 'देवकोटा' को मानवतावादी साहित्यको रसझैं रसिलो छ। मितेरी 'गुण'ग्राही छ, 'राज' राजन्य छ। 'श्रीधर' समान छ। वकल र वनको दुःखमा पनि 'सीतायन'को झैं समर्पण छ, आफ्ना धेरै मानिसहरूमा।

अंकल–अन्टीको के कुरा गरूँ र! भूकम्पले प्रतिकूलता ननिम्त्याएको भए अहिले पनि केटाकेटीहरू उहाँहरूकै काखमा हुन्थे। प्रतिकूल अवस्थामा पनि उहाँहरूको मुखमण्डलमा जुन नौनीझैं नरम पग्लिरहेको स्नेहको भाव देख्छु, लाग्छ केटाकेटीहरूलाई साथमा राख्न नपाउँदाको पीडा झेलिरहनु भएझैं लाग्छ। कुलीन व्यक्तिहरूको सौजन्य फलामको साङ्लोभन्दा कति मजबुत हुँदो रहेछ नि!

प्रकाशित: १५ श्रावण २०७२ २२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App