१८ असार २०८१ मंगलबार
image/svg+xml
समाज

सय हप्तामा चटक्क वीरेन्द्रनगर

सहरका मुख्य चोकहरूमा फोहोर थुप्रो। जताजतै अव्यवस्थित फोहोर। यहाँका वासिन्दाहरू सडकमा हिँड्दा नाक थुनेर हिँड्नुपर्ने दैनिकी। सरोकारवालाहरूको ध्यान त्यो फोहोरले कहिल्लै तान्न नसकेको अवस्था।

वर्षमा एक दुई दिन मनाइने दिवस बाहेक सरसफाइ गर्ने संस्कार थिएन कर्णालीको राजधानी वीरेन्द्रनगरमा। सीमित श्रोतसाधनका कारण नगरपालिकाले सरसफाईमा ध्यानै दिएको थिएन् तर, अभियान्ताहरू भद्र भण्डारी, प्रेम चन्द, डा. नमराज केसी, यज्ञ खत्री, दिपक गौतमको ध्यान तान्यो।

उनीहरू बसेर वीरेन्द्रनगरलाई सफा र हरियाली बनाउनेबारे छलफल गरे। तत्काल अभियान सुरुवात गरे, नगरबासीबाट धन्यवादको पात्र पनि बने। उनीहरूको अभियानलाई विस्तारै विस्तारै नगरपालिकादेखि विद्यार्थी, सेना प्रहरी सबैले हातेमालो गरे।

अहिले अभियान चलेको ठिक एक सय हप्ता पगेको छ। सरसफाइ सय हप्ता पुग्दा वीरेन्द्रनगरमा धेरै परिवर्तन भएका छन्। मुख्य चोकहरू चटक्क सफा छन् भने फोहोरको डंगुर रहेको डाँडाँ पार्कमा परिणत भएका छन्। अहिले ती पार्क टिकटक बनाउने भाइरल डाँडाँको रूपमा प्रख्यात छन्।

मुख्यत वीरेन्द्र चोक, भानुपार्क, बुद्धपथबाट लक्ष्मी हल हुँदै सरसफाइ अभियानले तीव्रता लियो। वडा कार्यालयदेखि नगरपालिका, विद्यालयहरू, प्रहरीदेखि सेना समेत अभियानमा सामेल भए। फोहोरको थुप्रो भएको ठाउँमा फूलहरू राखेर सानोसानो बगैंचा बनाइयो।

भानुपार्क लगाएको ठाउँमा फोहोर पन्छाएर फूलहरू रोपियो। पछि वडा कार्यालयले त्यसलाई पार्क बनायो। अभियान्ताहरूले विंग्स् फाउन्डेसन नेपालबाट संस्थागत रूपमा क्लिन एण्ड ग्रिन सुर्खेत अभियान चलाए। वीरेन्द्रनगरभित्र रहेको ३० वटा विद्यालयमा स्टुडेन्ट अफ् किल्निङ क्लब गठन गरेर शनिबार सरसफाइ अभियानमा सहयोगी हुने र विद्यालयलाई सफा र हरियाली बनाउन ती क्लबका सदस्यहरू पनि लागे।

अहिले वीरेन्द्रनगरका ३० विद्यालयमा अभियान चलिरहेको छ भने नगर सरसफाइको काम पनि चलिरहेको अभियानका सहसचिव यज्ञ खत्रीले बताए। ‘भानु पार्क पहिले फोहोर फाल्ने ठाउँ र नांगो डाँडाँ थियो। अभियानका सहसचिव यज्ञ खत्रीले भने, ‘विश्व वातारण दिवसमा सरसफाइसँगै फूल रोप्यौं अनि निरन्तर निगरानी गरिराख्यौं। पछि वडाले अपनत्व लिएर सुन्दर पार्क बनेको छ।’

वीरेन्द्रनगरलाई स्वच्छ, सफा र हरियाली सहर निर्माणका लागि अभियान सुरु भएको अभियान्ताहरू बताउँछन्। सरसफाइ र हरित सहर कार्यक्रमअन्तर्गत वीरेन्द्रनगर ४ स्थित भैरव सामुदायिक वनमा १० हजार विरुवा र हजारौं विरुवा काँक्रेबिहार जंगलमा रोपेको अभियान्ताहरू बताउँछन्। उनीहरूले फालेको टायललाई फोहोर हटाएर सुन्दर बगौंचा बनाउन प्रयोग गरे।

त्यसपछि त्यहाँ फोहोर कसैले पनि फालेनन् र बगौंचा बन्यो। वीरेन्द्रनगरमा रहेको ३० वटा सामुदायिक, निजी विद्यालयमा स्टुडेन्ट अफ् किल्नि क्लब गठन गरेर विद्यालयलाई कसरी सफा र हरियाली बनाउने भनेर तालिमसमेत बेलोबलामा दिइएको थियो। अनि स्कुल हेल्थ कार्यक्रमसमेत हप्तामा एउटा विद्यालयमा गर्ने व्यवस्था मिलाए।

सुत्राधार डा. स्कुल डेल्थ कार्यक्रम, हप्तामा एउटा विद्यालयमा गर्ने, कक्षा, सरसफाइसम्वन्धी कारणबाट हुने असर के गर्छ ? भन्ने लगायतका विषयमा शिक्षक, विद्यार्थी सहभागी गराएर कार्यक्रमहरू गरिएको अभियान्ता डाक्टर नवराज केसीले बताए। ‘वडावडामा सरसफाइ कार्यविधि बनाउन अभियान मार्फत सहयोग भयो।’

अभियान्ता डाक्टर केसीले भने, ‘अब, कार्यविधि कार्यान्वयन कति भएको छ हेर्ने र वडाहरूमा फोहोर कसरी उठाउने त्यसको विर्सजन किन गर्ने, अर्थतन्त्रमा कसरी असर पारिरहेको छ, विरामी कति हुन्छन् त्यसको बारेमा प्रस्तुतीकरण गर्ने कार्ययोजना रहेको छ।’ त्यस्तै अभियान्ताहरूले चोकचोकमा सरसफाइ गार्डेन बनाउने, स्थानीय व्यवसायीसँग सरसफाइका बारेमा छलफल चलाउने लगायतका अगामी कार्ययोजना बनाएका छन्। 

प्रकाशित: १८ वैशाख २०७९ ०३:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App