१० दिनअघि आगलागीमा परेर घरविहीन भएका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलास्थित जितबहादुर तामाङलाई नयाँ घर बनाउन आर्थिक सहयोग जुट्न थालेको छ।
साउन १८ गते साँझ आगलागीमा परेर घरविहीन भएका ७० वर्षीय जितबहादुर तामाङ र ७१ वर्षीया शुकमाया दम्पतीलाई नयाँ घर बनाउन स्थानीयले एक समिति गठन गरेर आर्थिक सहयोग सङ्कलन थालेका थिए। घटनाको भोलिपल्ट स्थानीयको भेलाले १३ नं. वडा महिला सदस्य तारादेवी तामाङको संयोजकत्वमा आर्थिक सङ्कलन समिति गठन गरेपछि सहयोग जुट्न थालेको हो।
वृद्ध दम्पती मात्र बस्दै आएको २ तले घर र घरभित्रका सम्पूर्ण अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद, सुनचाँदी र कागजातलगायत महत्वपूर्ण सम्पत्ति जलेपछि वृद्ध तामाङ दम्पती वर्षायाममा खुला आकाशमुनि बस्न बाध्य भएका छन्। दुवैजना ७० कटिसकेको उमेरमा घरविहीन भएपछि नयाँ घर बनाउन समिति गठन गरेर सहयोग जुटाउन लागेको वडाध्यक्ष भगेश्वर राईले बताए।
समितिले सहयोगको आह्वान गर्दा मनकारी व्यक्तिहरूबाट १० दिनमा झन्डै ८ लाख रुपैयाँ प्राप्त भएको उनले बताए। घरबाटै उब्जेको आगोले तामाङको १३ लाख ५० हजार बराबरको क्षति भएपछि वृद्ध दम्पती विचल्लीमा परेका छन्। त्यसैले नयाँ घर बनाउने गाउँलेको निर्णयअनुसार सहयोग माग्दा हालसम्म ७ लाख ९३ हजार ५ सय ७७ रुपैयाँ आर्थिक सहयोग जुटेको वडाध्यक्ष राईले बताए।
घटनाको भोलिपल्टदेखि नै सहयोग सङ्कलनमा जुटेको समितिले २ लाख २८ हजार ८ सय ३५ रुपैयाँ नगद र नुनथलाका अभियन्ता सुन्दर तामाङको बैंक खातामा ५ लाख ४१ हजार ७ सय ४२ जम्मा भएको छ। त्यस्तै किरात राई रिङालुङ्छा, राखमीहँछा परिवार नुनथला, नेपाल पत्रकार महासङ्घ खोटाङ र पत्रकार सूर्य तामाङले पनि सहयोग गरेको संयोजक तारादेवीले बताइन्।
जम्मा भएको रकम पीडित दम्पतीको नाममा संयुक्त बैंक खाता खोलेर जम्मा गरिएको छ। संयोजक तारादेवीका अनुसार नुनथलामा जन्मिएर रोजगारी, पेशा व्यवसाय र अध्ययनको सिलसिलामा विभिन्न देश विदेशमा रहेका मनकारीहरूबाट सहयोग प्राप्त भइरहेको छ। अझै पनि सहयोग गर्ने दाताहरू सम्पर्कमा आइरहेकाले थप रकम प्राप्त हुने अपेक्षा उनले गरेकी छन्।
पीडित दम्पतीलाई नयाँ घर बनाउन १५ लाख हाराहारी खर्च लाग्ने अनुमान गरिएको छ। साउन २८ गते साँझसम्म झन्डै ८ लाख पुग्न लागेको र अझै देश/विदेशबाट शुभेच्छुकहरू सहयोग गर्न सम्पर्कमा रहेकाले आवश्यक रकम जुट्ने संयोजक तामाङको अनुमान छ।
आगोले घर ध्वस्त पारेपछि छोराबुहारीको घरमा आश्रय लिएर बसेका वृद्ध दम्पतीलाई तत्कालका लागि वडा कार्यालय नुनथलाले खाने र बस्ने व्यवस्था मिलाएको छ। तामाङ दम्पतीका १ छोरा र ४ छोरी सबै आ-आफ्नो घरजम गरेर अलग्गै बस्दै आएकाले उनीहरूलाई घर बनाउनुपर्ने आवश्यकता परेको वडाध्यक्ष राईले बताए।
प्रकाशित: ३० श्रावण २०८२ १९:४६ शुक्रबार





