७ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुमा धार्मिक विवादमा ८ जना घाइते, स्थिति नियन्त्रणमा लिन निषेधाज्ञा जारी

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा दुई समुदायबीच धार्मिक विषयलाई लिएर भएको विवादपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ। शनिबार बिहान सुरु भएको विवाद उग्र बन्दै गएपछि सुरक्षा व्यवस्था कडा पार्दै निषेधाज्ञा लागू गरिएको हो।

प्रहरीका अनुसार मुस्लिम समुदाय ईदको अवसरमा मस्जिदमा नमाज पढिरहेका बेला नजिकै रहेको काली मन्दिरमा ठूलो स्वरमा भजन बजाइएको विषयलाई लिएर विवाद सुरु भएको थियो। भजनको आवाज कम गर्न मुस्लिम समुदायले आग्रह गरे पनि त्यसको बेवास्ता भएपछि विवाद चर्किएको जनाइएको छ।

विवाद बढ्दै जाँदा दुवै समुदायबीच ढुंगामुढा समेत भएको थियो। त्यसपछि आक्रोशित बनेका केही व्यक्तिहरूले विरोध प्रदर्शन गरेका थिए। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले लाठीचार्ज गर्नुका साथै केही राउन्ड अश्रुग्यास प्रहार गरेका थिए।

No description available.

घटनामा सुरक्षाकर्मी र सर्वसाधारण गरी ८ जना घाइते भएका छन्। घाइतेमध्ये नेपाल प्रहरीका ३, सशस्त्र प्रहरीका २ र प्रदर्शनकारी ३ जना रहेका प्रहरीले जनाएको छ।

प्रदर्शनकारीहरूले तौलिहवा–बहादुरगञ्ज सडक खण्डअन्तर्गत गैंडहवामा टायर बालेर सडक अवरुद्ध गरेका थिए। घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

घटनापछि जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्म महाराजगञ्ज नगरपालिकाको पूर्वमा बडगढी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हदौना क्षेत्रसम्म भेला, जुलुस र प्रदर्शन गर्न निषेध गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो। आदेश उल्लंघन गर्ने जोसुकैलाई कानुनअनुसार कारबाही गरिने प्रशासनले जनाएको छ।

 

प्रकाशित: ७ चैत्र २०८२ १६:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App