५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

बाँकेको राप्ती सोनारीमा आगलागी हुँदा १६ घर गोठ जले

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मा लागेको आगो।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ टिकुलीपुरमा आगलागी हुँदा १६ वटा घरगोठ जलेका छन्।

स्थानीय बासिन्दाका अनुसार शुक्रबार दिउँसो करिव ३ बजेबाट सुरु भएको आगलागी बेलुका मात्र नियन्त्रणमा आएको थियो।

टिकुलीपुरमा भएको आगलागीबाट ११ घर र ४ वटा गोठ तथा सोही वडाको कचनापुरमा एउटा घर जलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक(डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए। आगलागीबाट करिव ९७ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

आगोमा परी स्थानीयका ४ वटा गोरु मरेका छन्। आगोलाई नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाको दमकलको मद्दतले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय बासिन्दाले नियन्त्रणमा लिन सफल भएका थिए। आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ। तर, घरमा रहेका महत्वपूर्ण सामान, लत्ता कपडा, खाद्यान्न जलेर नष्ट भएका छन्।

यस्तै सोही वडाको कचनापुरमा पनि आगलागीबाट एउटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त घटनामा १ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको बताइएको छ। यस्तै २ वटा बाख्रा मरेका छन्। आगलागी पीडितलाई राप्ती सोनारी गाउँपालिकाले तत्कालै पहिलो चरणको राहत सामाग्री वितरण गरेको छ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुले प्रति परिवार चामल, दाल, भाडा वर्तन, लत्ता कपडा लगायत वितरण गरिएको जानकारी दिए। गाउँपालिकाले शुक्रबार बेलुका नै घटनास्थलमा पुगेर पीडितलाई राहत सामाग्री दिएको उनले बताए।

प्रकाशित: ३ वैशाख २०७९ ०५:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App