१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

रौतहटमा घुस रकमसहित प्रधानाध्यापक पक्राउ

घुसको रकम सहित रौतहटमा एक प्रधानाध्यापक अख्तियारको फन्दामा परेका छन्।

रौतहटको ईशनाथ नगरपालिका ७ मा सञ्चालनमा रहेको विपि कोइराला आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक राकेश ठाकुरलाई बुधबार बिहान अख्तियारको टोलीले पक्राउ गरेको हो।

प्रधानाध्यापकसँगै एक जना सहयोगी दीपेन्द्रकुमार झालाई पनि अख्तियारले नियन्त्रणमा लिएको छ। आफ्नै विद्यालयका दुई करार शिक्षकको म्याद थप गर्न जनही एक लाख पचास हजार रुपैयाँ लिएको घुसको रकमसहित अख्तियारले प्रधानाध्यापक ठाकुरलाई पक्राउ गरेको हो।

विद्यालयको उच्च माध्यमिक तहमा अध्यापन गर्ने दुई शिक्षकको म्याद थप गर्न प्रअ ठाकुरले पैसा माग्दै आएका थिए। पैसा माग्ने र प्रअ ठाकुरलाई रकम उठाउनमा निरन्तर सहयोगी भूमिका निर्वाह गर्दै आएका दीपेन्द्र कुमार झालाई पनि अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौँबाट आएको केन्द्रीय टोलीले प्रअ र झालाई नियन्त्रणमा लिएको हो। अख्तियारको केन्द्रीय कार्यालयका डिएसपि पुष्पमल्लको नेतृत्वमा आएको टोलीले सदरमुकाम जोड्ने जिल्लाको सहायक मार्गको सरुअठा चोकबाट दुवै जनालाई नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले चारै तिरबाट घेरा हालेर सरुअठा चौकबाट नियन्त्रणमा लिएको अख्यितारका केन्द्रीय प्रवक्ता श्याम भण्डारीले जानकारी गराएका छन्। सामान्य सोधपुछ पछि प्रअ ठाकुर र सहयोगी झालाई अख्तियारको टोलीले आवश्यक कारबाहीको लागि काठमाडौँ लगेको छ।

अख्तियारले पक्राउ गरेका प्रअ ठाकुरले शिक्षक नियुक्तिमा लाखौँ उठाएको र म्यादथपको नाउँमा शिक्षकलाई दुःख दिँदै आएको गुनासो धेरै आएको अख्तियारको दाबी छ। गतमहिना देवाहीगोनाही नगरपालिकाका प्रमुख धर्मेन्द्रकुमार पटेल र उनका सहयोगीलाई पक्राउ गर्ने टोलीले नै प्रअ ठाकुरलाई पनि नियन्त्रणमा लिएको हो।

अख्तियारको टोलीले घुसको रकमसहित रौतहटमा धमाधम पक्राउ गर्न थाले पछि रौतहटमा भ्रष्टाचार र घुसखोरी धेरै बढेको देखिन थालेको छ।

प्रकाशित: ३० चैत्र २०७८ ०५:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App