१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

बज्जिकाञ्चलमा मनाइँदैछ चैती छठको खरना

बज्जिकाञ्चलमा आज चैती छठको खरना  मनाइँदैछ। चैतमा गरिने छठ पर्वको मुख्य दिन खरना बुधबार श्रद्धा र भक्तिका साथ व्रतालुहरुले मनाइरहेका छन्। कात्तिके छठको जस्तै चैती छठको पहिलो दिन नहाखाएके व्रत मंगलबार व्रतालुहरुले मनाएका थिए।

चैत शुक्लचतुर्थीका दिन बिहान पवित्रजलले स्नान गरी नीति र नियमका साथै निष्ठापूर्वक भोजन गर्नुलाई नहाखाएके भनिन्छ। मंगलबार साँझको खानापछि बुधबार खरना गरिँदैछ। खरनाको दिन सम्पूर्ण व्रतालुहरु सम्पूर्ण रुपले निराहार बस्नुपर्ने हुन्छ। अन्न र जलको पूर्ण त्याग गरी बुधबार साँझ व्रतालुहरुले खरना गर्दछन्।

छठ पर्वको मुख्य साँझ खरनामा चामलको खिर र रोटीका साथै मूला छठी माईलाई चढाएर पूजा गर्दछन्। व्रतालुहरुले नयाँ चुलोमा बुधबार साँझ पूजाको लागि प्रसाद पकाउने चलन छ। छठ पर्व गर्ने व्रतालुहरुले छठको अन्तिम तयारी गरिसकेका छन्। छठ पर्व हुने धेरै ठाउँमा नदी वा तलाउको किनारलाई आजैबाट सजाउन सुरु गरिएको छ।

बुधबार साँझ खरना गरेपछि व्रतालुहरु बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने चलन छ। चैत शुक्ल सप्तमीको दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि चैती छठको समापन हुन्छ। छठको सुरुआत नेपालबाटै र नेपालको रौतहटबाटै द्वापर युगमा भएको भनी छठ पर्वको उद्भव र विस्तार भन्ने पुस्तकमा साहित्यकार सञ्जय साहमित्रले दाबी गरेका छन्।

रौतहट र सर्लाहीका साथै महोत्तरी र बारा जिल्लाको केही भागमा स्थानीय बज्जिका भाषा बोलिने भएकोले साहित्यकार मित्रले यसलाई बज्जिकाञ्चलको पर्व बताउने गरेका छन्। बज्जिकाञ्चलबाट उद्भवित् छठको विस्तार विश्वका अनेकौँ देशमा भइसकेको छ।

चैती छठको विस्तार पनि विस्तारै विभिन्न जिल्लामा भएको देखिएको छ। तराई मधेसमा चैती छठ पनि धुमधामका साथ मनाइन थालिएको छ। हरेक वर्ष चैती छठ मनाउने व्रतालुहरुको संख्या बढ्दै गएको छ।

प्रकाशित: २३ चैत्र २०७८ ०५:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App