भक्तपुरकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) रुद्रादेवी शर्माले प्रत्येक वर्ष नयाँं वर्षको आगमनसँंगै भक्तपुरमा हुने विस्का जात्राका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था छुटै ढंगले गर्ने योजना रहेको बताएकी छिन्। प्रत्येक वर्ष आठ रात नौ दिन धुमधामका साथ हुने जात्रा यो वर्ष चैत २७ गतेदेखि सुरु हुँंदैछ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको अध्यक्षतामा मंगलबार बसेको सरोकारवालाहरुसँंगको बैठकमा प्रजिअ शर्माले भैरवनाथको रथ तान्ने र लिंगो उठाउने स्थानहरुमा अनावश्यक हुलहुज्जत हुन नदिन जिल्ला प्रशासन कार्यालयले विशेष व्यवस्था गरेको बताइन्।
नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सभ्य र शान्तिपूर्ण तरिकाले सञ्चालन गर्न सरोकारवालाहरूसँगको बैठकमा जात्राको क्रममा कुनै झैझगडा हुन नदिने बताइन्।
बैठकमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले निर्धारित समयमा जात्रा सुरक्षित ढंगले सम्पन्न गर्न सवैसँंग आग्रह गरिन्। उनले भक्तपुर नपाले बिस्केट जात्रासँग सम्बन्धित दाफा, भजन, गुठीलगायत सरोकारवालाहरूसँग नियमित छलफल गरी निर्णय गर्दै आएको जानकारी गराइन्।
बैठकमा महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले रथ तान्ने र लिंगो उभ्याउने समयमा हुने विवादलाई सल्टाउनु जरुरी रहेको बताए। उनले जात्रालाई सभ्य र भव्य बनाउन जनप्रतिनिधि र स्थानीय जनताको विशेष भूमिका रहने बताए।
बैठकमा भक्तपुर नपाका जनप्रतिनिधि, सूर्यविनायक ब्यारेकका प्रमुख सेनानी, राष्ट्रिय अनुन्धान विभागका उपनिर्देशक विकास पाण्डे, जनस्वास्थ्य सेवा केन्द्र प्रमुख रत्नसुन्दर लासिवा, तलेजु भवानीका पुजारी, नेपाल विद्युत प्राधिकरण, भक्तपुर उद्योग वाणिज्य संघलगायतको बैठकमा उपस्थिति थियो।
बैठकमा गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख खिमा ओली र जात्रासँग सम्बन्धित सरोकारवालाहरू सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल टेलिकम, ख्वप अस्पताल भक्तपुर, नेपाल विद्युत प्राधिकरण, भक्तपुर उद्योग वाणिज्य संघ, तलेजुका पुजारी, इन्द्रायणी गुठीका गुठियार, भैरवनाथ जात्रा सहयोग समिति, प्रजापति समाज, एकीकृत हाकुज्या प्रजापति समाज, ब्रम्हायणी जात्रा सहयोग समिति, गछेँ गणेश जात्रा सहयोग समिति, लालाछेँ गणेश जात्रा सहयोग समिति, भद्रकाली गुठीलगायतका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेका छन्।
विस्का जात्रा २०७८/०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सम्पूर्ण नगरवासी र जात्रालु दाजुभाइ तथा दिदीबहिनीहरुमा जात्रा संयमित र सभ्य तरिकाले मनाउनको लागि अनुरोध गर्ने, जात्रा २०७८/०७९ शान्तिपूर्ण रुपमा सम्पन्न गर्न जनचेतनामूलक प्रचार प्रसारको लागि माइकिङ र आवश्यक सूचना प्रवाह गर्न भक्तपुर नगरपालिकालाई जिम्मा दिनेलगायतका निर्णयहरु भएका हुन्।
प्रकाशित: २२ चैत्र २०७८ १४:१५ मंगलबार