२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

धनीपुर्जा पाएपछि मुसहर समुदाय हर्षित

दुधौली नगरपालिकाकी पनिया मुसहर पहिलो पटक आफ्नो नाममा जग्गा पाँउदा दंग परिन्। पति बनुवा मुसहर र उनको सयुक्त नाममा जग्गा धनीपुर्जा सरकारले जारी गरी हातमा थमाइदिँदा खुसीको सीमा रहेन उनमा।

राष्ट्रिय भूमि आयोगले पहिलो पटक सिन्धुलीको दुधौली नगरपालिकाका भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गर्ने क्रममा ती मुसहर दम्पतीको नाममा पुर्जा बनेपछि उनीहरू हर्षित भएका हुन्।

दुधौली नगरपालिका–६, ७ र ९ का १०६ घर दलित मुसहर परिवारलाई आयोगले देशमै पहिलो पटक जग्गा धनीपुर्जा वितरण गरेको छ। भूमिहीन मुसहर समुदायले वर्षौंदेखि उपभोग गर्दै आएको जग्गा उनीहरूकै नाममा नेपाल सरकारले पुर्जा उपलब्ध गराएको हो। मुसहरलाई अधिकतम पाँच कट्ठासम्म जग्गाको लालपुर्जा आयोगले दिएको छ।

पुर्जा पाएपछि मुसहर परिवार अरू नागरिकसरह भएको भन्दै खुसी भएका छन्। दुई वर्षअघि वाग्मती प्रदेश सरकारले नमुना मुसहर बस्ती निर्माण गरी मुसहर समुदायलाई हस्तान्तरण गरेको थियो। ‘दुई वर्षअघि घर र अहिले लालपुर्जा पाएका छौं,’ बनुवाले भने, घरसँगै जग्गा धनीपुर्जा पाउँदा हामी अरू नागरिकसरह भएका छौं, त्यसैले हर्षित छौं।’

‘आफू बसेको ठाउँबाट कहिले हट्नुपर्छ होला भन्ने दिनरात चिन्ता थियो, अब चिन्तामुक्त भएका छौं,’ अर्की स्थानीय फेकनी सदाले भनिन्, ‘हातमा पुर्जा पाउँदा खुसी छु। राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासीलाई धनीपुर्जा वितरण पहिलो प्राथमिकतामा राखेको आयोगका अध्यक्ष केशव निरौलाले जानकारी दिए।

‘पहिलो प्राथमिकतामै भएकाले सिन्धुलीको दुधौलीका मुसहर समुदायले देशमै पहिलो पटक लालपुर्जा पाउन सफल भएका छन्,’ उनले भने। आइतबार दुधौली नगरपालिका–९ दोकानडाँडामा एक कार्यक्रमबिच भूमि व्यवस्था तथा सहकारी विकासमन्त्री शशी श्रेष्ठले १०६ घरपरिवा भूमिहीन दलित तथा सुकुम्बासीलाई धनीपुर्जा वितरण गरेकी थिइन्। मुसहर समुदायले पाएको जग्गा १० वर्षसम्म विक्री गर्न भने पाउनेछैनन्। 

प्रकाशित: २२ चैत्र २०७८ ०७:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App