८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कुकुरले मृत बच्चालाई मुखले च्यापेर अस्पताल डुलाएपछि...

वीरेन्द्रनगरका हरि कँडेल आफन्त बिरामी भएर शुक्रबारदेखि अस्पतालमा कुरुवा बसेका थिए। शनिबार विहानै उनी औषधि लिन नजिकैको फार्मेसीमा जाँदै गर्दा कुकुरले भर्खरै जन्मेको जस्तो देखिने बच्चालाई मुखमा च्यापेर अस्पतालको इमरजेन्सी कक्ष बाहिरबाट हिँडिरहेको थियो। उनले फोटो खिचेर तत्कालै सामाजिक सञ्जालमा पोष्ट गरे। अहिले यो दृष्य सामाजिक सञ्जालमा भाइरल छ।

कर्णाली प्रदेशकै ठूलो अस्पतालभित्रको यो दृष्यले धेरैलाई आश्चर्यचकित बनाएको छ। ‘फार्मेसीमा औषधि लिन जाँदा कुकुरले टाउको नभएको बच्चा मुखमा च्यापेर इमरजेन्सी वार्डको वरिपरि हिँडिरहेको थियो,’ फोटो खिचेका कँडेलले भने, ‘कहँबाट कुकुरले बच्चा ल्यायो भन्ने थाहा भएन।’ उनले तत्कालै अस्पताल प्रशासनलाई पनि जानकारी गराए। 

अस्पताल प्रशासनले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। ‘छानबिनका लागि प्रहरीलाई खवर गरेका छौं,’ अस्पताल प्रशासन प्रमुख विनोद बस्नेतले भने, ‘छानबिनपछि भएको के हो जानकारीमा आउँला।’

अस्पताल प्रशासनका अनुसार अस्पतालमा सुत्केरी हुँदा कसैको बच्चा मरेमा सम्बन्धित व्यक्तिलाई नै जिम्मा लगाउने गरिन्छ। तर, अस्पतालभित्रै कुकुरले बच्चा मुखमा च्यापेर हिँडेको विषय भने गम्भीर भएको उनले बताए। ‘यदी अस्पताललेनै बरेको बच्चा व्यवस्थापन गर्नुपर्ने अवस्था आएमा हामी सालनाल डिस्पोज गर्ने ठाउँमा प्याकिङ गरेर गाड्ने गरेका हुन्छौं,’ उनले भने, ‘यसरी जथाभावी फाल्ने अस्पतालको तर्फबाट हुँदैन।’

उनका अनुसार अस्पतालको इमरजेन्सी पछाडि जंगल छ। त्यहाँ कसैले बच्चा जन्माएर फालेको पनि हुन सक्ने आशंका उनले गरे। ‘प्रहरीलाई घटना छानबिनका लागि पत्राचार गरिसकेका छौं,’ उनले भने, ‘प्रहरीको प्रतिवेदनका आधारमा मात्रै घटनाको सही विवरण आउन सक्छ।’

प्रकाशित: १९ चैत्र २०७८ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App