८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

८ महिनामा ४ सय २० जनाको सडक दुर्घटनामा मृत्यु

बिहीबार सर्लाहीको बागमती नगरपालिका–७, राजघाटस्थित नेमी चोकनजिकै साइकलमा विद्यालय जाँदै गरेकी छात्रालाई क्रेनले ठक्कर दियो।

नम्बर उल्लेख नभएको क्रेनको ठक्करबाट नव जनजागरण माध्यामिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत विद्यार्थी १७ वर्षीया सुमित्रा परियारको मृत्यु भयो। घाइते भई भुइँमा लडेकी परियारलाई किचेर मारेको आक्रोशमा स्थानीयले क्रेनमा आगजनी गरे। यो क्रेन गाउँमा विजुलीको पोल उखेल्ने र गाड्ने कामका लागि प्रयोग भएको प्रहरीले जनाएको छ। क्रेनको तिब्र गति र चालकको लापरवाहीलाई प्रहरीले दुर्घटनाको कारण बताएको छ।

बिहीवार दिउँसो तिब्र गतिमा हुँइकिँदै जनकपुरधामबाट लक्ष्मीनियातर्फ गइरहेको पुष्पबाटिका स्कुलको बसले जनकपुरधाम उपमहानरपालिका–१४ मुजेलिया स्थित खाद्य संस्थान अगाडि मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भयो। कामा विशेषले जनकपुरधाम आइरहेका धनुषा जिल्ला क्षिरेश्वरनाथ नगरपालिका–१ का ३५ वर्षीय मनोज लामिछाने चढेको बा ८० च ९०९४ नम्बरको मोटरसाइकललाई लेन क्रस गरी विपरीत दिशातर्फ आइरहेको प्रदेश–२–०३००१ ख ०५३२ नम्बरको स्कुल बसले ठक्कर दिएको थियो।

बिहीबार पर्सा जिल्लाको पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवैजना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र अर्को मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी छन्।

मधेस प्रदेशमा दुर्घटनाबाट दैनिक करिब दुईजनाले ज्यान गुमाउँदै आएको तथ्यांकले देखाउँछ। मधेस प्रदेशमा पछिल्लोसमय सडक दुर्घटना उकालो चड्नुमा ट्राफिक प्रहरीको उदासीताका कारण बढ्दै गएको नियम उलंघन प्रमुख कारण देखिएको छ। यद्यपि ट्राफिक प्रहरीले सम्पूर्ण दोष चालकलाई दिन्छन्।

सडकमा सवारीको चाप वृद्धिसँगै मोटरसाइकललगायत सवारीको दुर्घटना बढी भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकको लापरबाही, ओभरटेक, तीव्र गति, मदिरा सेवन, ओभरलोडलाई ट्राफिक प्रहरीले दुर्घटनाको कारण बताउँछन्।

चालु आर्थिक वर्षको साउनदेखि चैत १७ सम्म ८ जिल्लामा चार सय २० जनाको सवारी दुर्घटनामा मृत्यु भएको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ। दुर्घटनामा २ हजार १ सय २२ जना गम्भीर घाइते र ४ हजार ४ सय १२ जना समान्य घाइते भएको प्रहरीले जनाएको छ। यस अवधिमा ६ हजार ९९ सवारी दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको छ। सवारी दुर्घटनाको घटना बढ्दा मृत्यु हुनेको संख्यामा समेत वृद्धि भएको छ ।

मधेस प्रदेस ट्राफिक प्रहरी कार्यालय पथलैयाको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷७६ मा १ हजार ३ सय ५२ सवारी दुर्घटनामा ४ सय ९६ जना, आर्थिक वर्ष ०७६/७७ मा १ हजार ९ सय ४७ सवारी दुर्घटनामा ४ सय २० जना र आर्थिक वर्ष ०७७/७८ मा ५ हजार ८ सय ११ दुर्घटनामा ५ सय २३ जनाको मृत्यु भएको छ।

आर्थिक वर्ष ०७५/०७६ देखि ०७७/७८ सम्म तीन वर्षमा ८ हजार १ सय १० दुर्घटनामा १ हजार ४ सय ३९ जनाको मृत्यु भएको छ भने पछिल्लो साढे आठ महिनामा मात्रै ४ सय २० जनाको मृत्यु भएको छ। पहिला रेकर्ड गर्दैन्थ्यो अहिले सानो घटना पनि रेकर्ड राख्छौ त्यही भएर बढेको देखिन्छ।

विभिन्न कारण छ ठ्याक्कै यही हो भन्न सकिँदैन। सवारी दुर्घटनाको डरलाग्दो तथ्यांकको विश्लेषण गरिनसकेको मधेस प्रदेश ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रमुख (एसपी) नान्तीराज गुरुङले बताए।’ दुर्घटनाको अवस्था डरलाग्दो यस प्रदेशमा मात्र होइन देशैभरि छ,’ उनले भने। अव्यवस्थित पार्किङ, सडकमा हटिया बजारलगायतका कारणले पनि दुर्घटना र मृत्युवरणका घटना यस प्रदेशमा बढ्दो छ।

प्रकाशित: १८ चैत्र २०७८ ०५:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App