coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

‘पैसा र पावर हुने छुट्छन्, नहुने जेलमै कोचिन्छन्’

इलाम सदरमुकामस्थित इलाम कारागार। तस्बिरः भीम/नागरिक

इलाम कारागारका कैदी–बन्दीले एउटै अपराधमा संलग्नलाई दुईखाले सजाय भइरहेको गुनासो गरेका छन्। उनीहरूले ‘बोलिदिने मान्छे’ भएकाहरूले न्याय पाएको र बोल्न नसक्नेहरू जेलमै कोचिनुपरेको गुनासो गरे।

संघीय संसद्को कानुन, न्याय, मानवअधिकार संसदीय समितिका प्रतिनिधिसँग कैदी–बन्दीले यस्तो गुनासो पोखेका हुन्। उनीहरूले संसदीय समितिसमक्ष भने–‘किन एउटै अपराध, उही कसुर भएपनि कोही धमाधम छुटिरहेका छन्, कोही जेलमै कोचिुनपरेको छ?’

उनीहरूले ‘पावर र पैसा’ हुनेहरू जेलबाट छिट्टै छुट्ने तर बोल्न नसक्ने, पैसा र पावर नभएकाहरू जेलमै कोचिन बाध्य भएको बताएका छन्। कैदी-बन्दीले आफूलाई दिइने खर्च र रासन पनि थोरै भएको गुनासो गरेका छन्।

बजारमा महँगी बढेको तर सरकारले वर्षौंदेखि उही रासन र सुविधामा आफूहरूलाई सीमित गरेको कैदी–बन्दीको गुनासो छ। उनीहरूले अहिले सरकारले दिनहुँ दिइरहेको ७ सय ग्राम चामल र ६० रुपैयाँले आफूहरूको खर्च चल्न छाडेको गुनासो गरेका हुन्।

‘बजारमा महँगीले आकाश छोइसक्दा पनि हाम्रो दैनिक खर्च ६० रुपैयाँभन्दा बढेन,’ एक कैदीले समितिसँग भने, ‘सरकारले बजारको महँगीअनुसार हाम्रो खर्च समायोजन गर्नुपर्छ।’ इलामका सिडिओ माधवप्रसाद ढुंगानाका अनुसार कारागारका कैदी–बन्दी महिलाले आफूहरूले केही पनि व्यवसाय गर्न नपाएको गुनासो गरे।

‘हामीले पुरुषले जसरी आय–आर्जनको काम गर्न सकेनौं, त्यसको व्यवस्था मिलाइदिनुपर्‍यो भन्ने माग महिला कैदी–बन्दीको छ,’ सिडिओ ढुंगानाले भने, ‘पुरुष कैदी–बन्दीले चाहिँ मुडा, बाँसको कलम, काठका सामान र ढाकाको काम गरिरहेका छन्।’

कैदी–बन्दीले आफूहरू बिरामी पर्दा उपचार सेवा पाउन समस्या भएको पनि गुनासो गरेका छन्। उनीहरूले कारागारमा स्वास्थ्यकर्मी र औषधिको व्यवस्था नभएको बताए। बिरामी भएर अस्पतालसम्म जानु-आउनुपर्दा पनि सवारी साधन नभएर समस्या भएको उनीहरूको गुनासो छ।

‘कैदी–बन्दीले स्वास्थ्य सेवा पाउन समस्या भएको गुनासो पहिला पनि आएको थियो,’ सिडिओ ढुंगानाले भने, ‘अहिलेसम्म पनि त्यो समस्या उस्तै छ।’ संसदीय समितिका मीन विश्वकर्माको नेतृत्वमा विष्णु शर्मा र समिति सचिव लक्ष्मण अर्यालसहितको निरीक्षण टोली कारागार आएको थियो।

संसदीय समितिले मोरङ, झापा, सुनसरी, इलामलगायतका कारगारको स्थलगत निरीक्षण गरिरहेको सिडिओ ढुंगानाले जनाए। ‘भौतिक पूर्वाधारलगायत समग्रमा चाहिँ यहाँको कारागार राम्रो रहेको समितिको प्रतिक्रिया आएको छ,’ उनले भने, ‘कारागारमा सुधार गर्नुपर्ने कतिपय पक्षमा हामीले पहिला पनि सुझाव राखेका थियौं, कैदी–बन्दीले ती समस्या पनि पुनः राख्नुभएको छ।’

एक सय २० जना क्षमताको इलाम कारागारमा अहिले २ सय ७६ कैदी–बन्दी छन्। यहाँ २३ महिला, २ सय ५३ पुरुष रहेको प्रशासनले जनाएको छ। तीमध्ये १६ ज्येष्ठ नागरिक छन्। जेलमा अहिले आश्रित बालबालिका नभएको उनले जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०७८ १२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App