१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सशस्त्रको गुणमापक परीक्षामा विभागीय नै अनुत्तीर्ण

सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकका लागि लिएको गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई नै असफल बनाएको छ। लोकसेवा आयोगको उपस्थितिविना लिइने आन्तरिक गुणमापक परीक्षामा विभागीय कर्मचारीलाई असफल बनाइएको हो।

लोकसेवा आयोगले लिएको लिखित परीक्षामा पास भएकालाई सशस्त्र प्रहरीको विशेषज्ञ भनिएको टोलीले अपमानजन ढंगले अनुत्तीर्ण गरेको छ। गत वर्ष सशस्त्र प्रहरीले ७५ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमा ६१ जनाले लिखित परीक्षा पास गरेका थिए।

तर सशस्त्र प्रहरीकै गुणमापक परीक्षामा भने ४९ जना मात्रै उत्तीर्ण गरिएको थियो। १२ जनालाई सो परीक्षामा असफल बनाइएपछि विभागीय कर्मचारीले लोकसेवा आयोग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेका छन्। लोकसेवा आयोगले भने यस्तो उजुरी नगर्न आग्रह गर्दै त्यही संस्थामा बसेर काम गर्न असजिलो हुने भन्दै फर्काएको छ।

उनीहरूलाई के कारण असफल बनाइयो भन्ने जानकारीसमेत दिइएको छैन। ‘हामीलाई के कारणले असफल बनाइयो भन्नेबारे जानकारी दिइएन, हामी गुणमापक परीक्षामा असफल हुने हो भने त विभागमै अटाउनु भएन, त्यहाँबाट पनि निकाल्ने प्रक्रिया सुरु गर्नुपर्‍याे,’ यसरी असफल बनाइएका एक सशस्त्र प्रहरी कर्मचारीले भने। बुधबार दिउँसो नागरिकको सम्पर्कमा आएका एक कर्मचारीका अनुसार बलराम गिरी, अभिमन्यु पौडेल, सविता दाहाल, रमेश जोशीलगायतलाई असफल बनाइएको हो।

नागरिकको सम्पर्कमा आएका ती कर्मचारीका अनुसार सिं ९ र सिं सं. ६ मा पनि यसैगरी असफल बनाइएको थियो। सिं सं ६ का केही कर्मचारीले चित्तबुझ्दो कारण नदिए अदालत जाने धम्की दिएपछि उनलाई त्यसको भोलिपल्ट पास गराएको देखाएर अन्तर्वार्तामा सहभागी गराइएको थियो। त्यसैगरी सिं नं का केही अधिकृतलाई पनि यसैगरी असफल बनाएपछि उनीहरूले सर्वोच्च अदालत गुहारेका र मुद्दा जितेर सिंसं ११ मा तालिम गरी अहिले प्रहरी निरीक्षकमा कार्यरत रहेका छन्।

सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार सो गुणमापक परीक्षाका लागि धेरै वर्षदेखि एउटै समूह सहभागी रहेको छ। हालका डिआइजी गणेश ठाडामगर, अवकाशप्राप्त डिआइजीहरू केबी ब्रह्माचार्य, राजेन्द्र बस्नेत, बाबुराम पाण्डे र नेपाली सेनाका अवकाश प्राप्त कर्णेल प्रदीपराज कार्की गुणमापक समितिमा बस्ने गरेका छन्।

विगतमा लोकसेवा आयोग पास गरेका सबैलाई गुणमापक समितिले पास गराउने गरेको थियो। ‘सशस्त्र प्रहरीमा आकर्षण नभएकाले बाहिरबाट आउनेलाई लोकसेवासहितको अन्तर्वार्ता गराएर पास गराउने गरिएको थियो। ‘विभागीय प्रहरीको हकमा भने झन् सहज भएकाले उनीहरू सहजै पास हुने गरेका थिए, यसपल्ट कुनै पनि प्रश्न सोधिएको थिएन, प्रश्न सोधे पनि सहजै उत्तर दिने तयारी हुन्छ, यसपल्ट तपाईको फेस आइडी छ?, कति पढ्नुभएको छ? आर्थिक अवस्था के हो? र कोही साथी छन् कि छैनन् भनेर प्रश्न सोधिएको थियो। 

यस्ता प्रश्नलाई कसरी गुणमापक भनिन्छ भनेर आश्चर्य चकित परेका थियौँ तर हामीलाई असफल बनाइयो,’ ती कर्मचारीले गुनासो गरे। तर सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी कमलप्रसाद तिउसिनाले विज्ञहरूको समूहले गरेको निर्णयलाई प्रश्न उठाउने ठाउँ नभएको बताए। ‘फौजमा गुणमापक परीक्षा हुन्छ, यसमा विज्ञको टोली बस्छ र सो टोलीले गरेको निर्णयमा कुनै तलमाथि हुँदैन,’ एसएसपी तिउसिनाले भने।

सशस्त्र प्रहरी निरीक्षकका लागि लोकसेवा आयोगले लिएको लिखित परीक्षामा कसैले प्रश्न नउठाए पनि लिखित परीक्षापछि लिइने गुणमापक परीक्षामा संगठन भित्रबाटै तोकिएको अवकाशप्राप्त कर्मचारीको निर्णय क्षमतामा भने प्रश्न उठाइएको छ। गत भदौ ११ गते ७५ जनाको संख्या माग गरी खुलाइएको सशस्त्र प्रहरी निरीक्षकको विज्ञापनमा लिखत परीक्षामा मात्र ६१ जना उत्तीर्ण भएपछि सो परीक्षा फागुन २६ गतेदेखि सुरु गरिएको थियो। चैत १३ गते नतिजा निकाल्दा ४९ जना मात्रै पास गराइएको थियो। त्यसै क्रममा शारीरिक रूपमा ‘अनफिट’ रहेका व्यक्तिसमेत उत्तीर्ण गराउँदा विभागीय कर्मचारीलाई अनुत्तीर्ण गराइएको छ।

प्रकाशित: १७ चैत्र २०७८ ०१:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App