२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

कार्यालयसंग पैसा नभएपछि व्यवसायीले सडक निर्माणको काम रोके

गोरखाको बारपाक–लाप्राक सडक खण्ड। तस्बिर: नागरिक

गोरखाका पाँचवटा महत्वपूर्ण सडक निर्माणको काम रोकिएको छ। पूर्वाधार बिकास कार्यालयमा निर्माण व्यवसायीलाई भुक्तानी दिने बजेट नभएपछि व्यवसायीले काम रोकेका हुन्।  

चालु वर्ष बिनियोजन भएको चार करोड ४० लाखको काम भएर भुक्तानी भईसकेको बारपाक–लाप्राक सडक खण्डमा अहिले काम भएको छैन। त्यहाँ निर्माण कम्पनीले थप काम गरेको खण्डमा दिने बजेट अभाव छ। ३४ करोड १५ लाखमा दुई वर्षअघि ठेक्का लागेको उक्त सडक ३४ करोड १५ लाख खर्चेर निर्माण हुन लागेको हो। अहिले सम्म ३५ प्रतिशत मात्रै काम भएको छ। ‘बजेट अभावका कारण हामीले निरन्तर काम लगाउन सकिएको छैन’ पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले भने।  

माछाखोला–लप्सीबोट–यमगाउँ–गुम्दा सडककालागि चालूवर्ष बिनियोजन भएको पाँच करोड २५ लाख खर्च भईसकेको छ। त्यहाँ अहिले पनि काम भईरहेको तर भुक्तानी दिने बजेट छैन। २०७९ भदौ सम्ममा यो काम सम्पन्न गर्नुपर्छ। ३२ करोड १० लाखको ठेक्कामा अहिले सम्म ६० प्रतिशत मात्रै काम भएको छ।  

घ्याम्पेशाल–पाँचखुवा–देउराली –ताकुकोट सडक २९ करोड ७७ लाखमा दुई वर्षअघि निर्माण सम्झौता भएको हो। ६० प्रतिशत मात्रै काम भएको यो सडकमा तीन करोड ७५ लाख रुपैयाँ खर्च भईसकेको छ।  

ढोडेनी–सिम्जुङ–गगनपानी–मल्ले सडकको चालु वर्ष बिनियोजन भएको पाँच करोड १५ लाख सकियो। तीन वर्षअघिदेखि निर्माण सुरु भएको सो खण्डमा ७७ प्रतिशत मात्रै खर्च भएको छ। २३ करोड ५१ लाखको यो खण्डमा कछुवा गतीमा काम भएको छ।  

सभा चौतारा–आँपपिपल अस्पताल–आँपपिपल सडकमा एक करोड ५० लाख रुपैयाँ चालु वर्ष खर्च भएको छ। चार करोड २० लाखको  योजनामा ६० प्रतिशत मात्रै प्रगती छ। पाँच महिना भित्र सक्नुपर्ने यो खण्डमा समयमै काम हुन सक्ने देखिँदैन।  

यी सबै सडक खण्डमा बजेट अभावले काम गरेको रकम समेत भुक्तानी दिन नसकिएको पूर्वाधार बिकास कार्यालय गोरखाका प्रमुख ओमराज ढुङ्गानाले बताए। ‘भुक्तानी दिन नसकेपछि व्यवसायीले काम गर्दैनन्, ठेक्का क्रोनिक बन्दै जान्छ’ उनले भने ‘योजना तय गर्दा स्रोत सुनिश्चित गर्नुपर्ने देखियो।’  

यी बाहेक गत वर्ष सम्झौता भएका १३ वटा सडकको बजेट निकासा भएको छैन। ‘पाँच करोड दायित्व गत वर्ष सम्झौता भएको योजनाको थियो’ पूर्वाधार कार्यालयका इन्जिनियर अजय श्रेष्ठले भने ‘तर अहिलेसम्म कुनैको पनि बजेट आएको छैन।’  

कालोपत्रे गरेको छ महिना सम्म भुक्तानी भएन  

निर्माण व्यवसायीले काम सम्पन्न गरेको छ महिना सम्म भुक्तानी पाएका छैनन्। पूर्वाधार बिकास कार्यालयले ढुङ्गागाढे–बुङ्कोट–नाम्जुङ–घैरुङ–मनकामना सडक कालोपत्रे गर्न लामा कन्ट्रक्सनलाई ठेक्का दियो। गत भदौ महिनामा १२ किलोमिटर सडक कालोपत्रे गरेको उक्त कम्पनीले अहिलेसम्म भुक्तानी नपाएको निर्माण व्यवसायी जनक भट्टले बताए। सो खण्डको छ करोडभन्दा बढि भुक्तानी लिन बाँकी रहेको उनले बताए।  

सोही कम्पनीले चोरकाटे–चित्रेपोखरी खण्डमा पनि कालोपत्रेको काम सोही अवधीमा सकेको हो। यो खण्डको ६९ लाख ५३ हजार पनि भुक्तानी हुन सकेको छैन। ‘कार्यालयमा प्रदेशबाट बजेट नआएकाले सम्पन्न भएको कामको भुक्तानी दिन सकेनौँ’ कार्यालय प्रमुख ढुङ्गानाले भने। काम सम्पन्न भएको एक महिना भित्र भुक्तानी दिनुपर्ने प्रवाधान छ। 

कार्यालयले समयमै भुक्तानी गर्न नसकेपछि निर्माण कम्पनीले आठ प्रतिशत ब्याज मागदावी गर्दै निवेदन दर्ता गराएका छन्। उक्त निवेदन प्रदेश पठाएको र कम्पनीले गरेको दावी कानुनतः सही रहेको पूर्वाधार बिकास कार्यालयका प्रमुख ढुङ्गानले बताए। ‘असार सम्म काम सम्पन्न भएका योजनाको भुक्तानी दिन पूर्वाधार कार्यालयमा मात्रै ५४ करोड रुपैयाँ आवश्यक पर्छ’ उनले भने ‘बजेट सुनिश्ति नहुँदा काम लगाउन सकिएन।’

प्रकाशित: १६ चैत्र २०७८ १०:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App