४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

त्रियुगा नगरपालिकाको ८४ कोठे भवन बन्ने

भवन सिलान्यास गर्दै मेयर चौधरीलगायत। तस्बिरः महेश्वर

उदयपुर सदरमुकाम रहेको त्रियुगा नगरपालिको नयाँ प्रशासनिक भवन निर्माण सुरु भएको छ। नगरपालिका स्थापनाको २५ औँ वर्ष प्रवेशको अवसरमा आयोजित 'रजत महोत्सव' मनाउने क्रममा भवनको शिलान्यास भएको हो।

वडा नं १० बाँसबारीस्थित २ विगाह आफ्नै जमिनमा बन्ने अत्याधुनिक र सुबिधासम्पन्न भवनको सोमबार आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख बलदेव चौधरी, उपप्रमुख देबीकुमरी चौधरी र प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकालले संयुक्त रुपमा शिलान्यास गरे।

विद्युतीय भर्याङ (लिफ्ट) सहितको ८४ कोठे भवन ४ तले निर्माण हुने नगरपालिका सहरी पूर्वाधार शाखा प्रमुख ईन्जिनियर निर्मलकुमार चौधरीले बताए। ईन्जिनियर चौधरीका अनुसार करिब भवन निर्माणको लागत इस्टीमेट १६ करोड ५० लाख रहेको छ। तर ठेक्का लगाउन बाँकी भएकाले बजेट अंक निश्चित भइनसकेको चौधरीले बताएका छन्।

भवन शिलान्यास गर्दै मेयर चौधरीले नगरवासीलाई सहज सेवा दिने उद्देश्यले सुविधासम्पन्न भवन निर्माण गर्न लागेको बताए। उनका अनुसार भवन बनाउन संघीय सरकारबाट ६ करोड बजेट सुनिश्चित भएको छ भने  बाँकी रकम नगरपालिकाले आन्तरिक स्रोतबाट जुटाउने छ‌‌। त्रियुगाका संस्थापक मेयर स्वर्गीय लालशेर राईले ०५६ सालमा निर्माण गरेको भवन सानो भएकाले नगरवासीलाई सेवा दिन समस्या भएको बताउँदै मेयर चौधरीले नयाँ भवन बनेपछि सेवा सहज हुने बताए।

'पुरानो ३ तले भवन अहिले आएर साँघुरो हुँदा जनताले सेवा पाउन समस्नया भएर नयाँ भवन निर्माण गर्न लागेका हौँ,' चौधरीले भने, 'जनताको कामलाई थप सहजताका साथ सेवा प्रवाह गर्ने उद्देश्यले नयाँ भवन निर्माण गर्न लागेका हौँ। त्यसैले छिटोभन्दा छिटो राम्रो र सुविधासम्पन्न भवन नगरवासीले पाउनेछन्।'

अघिल्ला वर्षदेखिकै नगरसभाले प्रशासनिक भवन निर्माण गर्ने योजना बनाउँदै आएपनि रकम सुनिश्चित नभएकाले निर्माण हुन नसकेको मेयर चौधरीले बताए। निर्वाचित भएर आएको पहिलो वर्ष कानुन निर्माणमा जुट्नु परेकाले भवन बनाउन नभ्याइएको, दोश्रो वर्ष श्रोत सुनिश्चित नभएको, तेश्रो र चौथो वर्ष कोभिड महामारीले बजेट खर्च गर्नु परेर भवन बन्न नसकेको उनले बताए।

प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम ढकाललका अनुसार नयाँ भवनमा नगर प्रहरीको आवाससहित फोहोर मैला व्यवस्थापन गर्ने शाखासम्म रहने छ।

प्रकाशित: १५ चैत्र २०७८ ११:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App