३ पुस २०८१ बुधबार
image/svg+xml
समाज

अख्तियारको कार्यक्रममा रौतहटको भ्रष्टाचारबारे छलफल

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाले रौतहटको गौरमा गरेको अन्तरक्रिया कार्यक्रममा रौतहटको स्थानीय तहमा भएको भ्रष्टाचारको सम्बन्धमा छलफल भएको छ।

अख्तियारको विभिन्न कार्यालयमा पालिकामा भएका भ्रष्टाचारको आधारका जिल्लामा देखिएको भ्रष्टाचारबारे छलफल भएको हो। अख्तियारको केन्द्रीय कार्यालय काठमाडौँका उपसचिव वेदप्रसाद भण्डारीले भ्रष्टाचारलाई नियन्त्रण गर्दै जनतालाई सुशासनको प्रत्याभूति गराउने कार्यमा राज्यले दिएको दायित्व राष्ट्रसेवक कर्मचारीहरुले इमानदारीका साथ काम गर्नुपर्ने बताएका छन्।

भण्डारीले जुनसुकै निकायमा पनि आर्थिक अनियमितता गर्नेहरुविरुद्ध अख्तियार सशक्त भएर कानुनी कारबाही गर्न पछाडि नहट्ने विश्वास दिलाएका छन्। अख्तियारमा परेको उजुरीको आधारमा रौतहटमा सबैभन्दा बढी राजपुर नगरपालिका विरुद्ध १०२ वटा मुद्दा परेकामा ७७ वटा फछ्र्यौट भइ २५ वटा प्रक्रियामा रहेका छन्।

जिल्लामा सबै भन्दा कम गुजरा नगरपालिका विरुद्ध एउटा मात्र उजुरी परेकोमा त्यो पनि फछ्र्यौट भएको छ। जिल्लाका अन्य सबै पालिकाको मुद्दा अख्तियारमा विचाराधीन रहेको बताइएको छ। चालू आर्थिक वर्षदेखि अख्तियारको हेटौँडा कार्यालयलाई रौतहटको मुद्दा हेर्ने अख्तियार प्राप्त भएको छ। 

हेटौँडा कार्यालयलाई अधिकार प्राप्त भएपछि कार्यालयमा आएका उजुरीलाई गम्भीरतापूर्वक र सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। आयोगको हेटौँडा कार्यालय प्रमुख अर्जुनकुमार शर्माले अनुसन्धानमा केही ढिलो भइरहेको भएपनि वास्तविक दोषीलाई कानुनको दायरामा अख्तियारले ल्याइछाड्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

छलफलमा रौतहटका सबै पालिकाका प्रमुख तथा उपप्रमुख र प्रशासकीय अधिकृतको सहभागिताका साथै प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही, जिल्ला समन्वय समितिका सभापति राम एकबाल राय, उपसभापति राम वशिष्ट यादवसहित विभिन्न कार्यालयका प्रमुखहरुको पनि सहभागिता रहेको थियो। अख्तियारले रौतहटको भ्रष्टाचारको सम्बन्धमा छलफल गरेपछि विचाराधीन मुद्दा रहेका केही कार्यालयका कर्मचारीमा त्रास देखिएको छ।

प्रकाशित: १२ चैत्र २०७८ ०६:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App