१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

वाग्मतीको अतिक्रमित जग्गा खाली गर्ने अभियान अलपत्र

वाग्मती करिडोरमा अतिक्रमित जग्गा खाली गर्न अधिकार सम्पन्न एकीकृत वाग्मती सभ्यता आयोजना विकास समितिले सुरु गरेको अभियान अलपत्र परेको छ।

समितिले दोस्रो चरणमा तिलगंगादेखि थापाथलीसम्मको अतिक्रमित संरचना खाली गर्न गत माघ १५ गते ७ दिने सूचना निकालेको थियो। पहिलो चरणमा गोकर्ण ड्यामदेखि गुह्येश्वरीसम्म वाग्मती दायाँबायाँ क्षेत्रमा अतिक्रमण गरेर बनाइएको संरचना खाली गरिएको थियो।

सात दिनभित्र अतिक्रमित संरचना नहटाए समितिले आफैं खाली गर्ने सूचनामा उल्लेख थियो। त्यसयता समितिले शंखमूल पुलसँगै सानो टहरा बनाएर सञ्चालन गरिएको एउटा चिया पसल मात्र भत्काएको छ। पहुँच भएका भवनहरू भने समितिले भत्काउन सकेको छैन।

आयोजना विकास समितिले तिलगंगादेखि थापाथलीसम्म भत्काउनैपर्ने भनी १३ वटा संचरनामा चिह्न लगाएको थियो। खाली गर्न भनी चिह्न लगाइएका थापाथलीमा रहेको ओम शान्ति भवन, कामनपा ३२ प्रतीक्षालय, भजनकीर्तन कार्यालय, सत्यसाइ भवनलगायत संरचनाहरू खाली हुन सकेका छैनन्। कहिले खाली हुन्छ भनी सोधिएको जिज्ञासामा आयोजना अधिकारीहरू स्पष्ट जवाफ दिँदैनन्। आयोजना प्रमुख नवराज प्याक्ुरेलले सूचना अधिकारीलाई सोध्न आग्रह गरे। सूचना अधिकारी कमल अर्यालले विकास समितिको सञ्चालक समितिको बैठकले निर्णय गरेपछि अतिक्रमित संरचना भत्काइने बताए।

विभिन्न नामबाट सरकारी जग्गा अतिक्रमण गरेर बसेका पहुँवाला व्यक्तिको दबाबका कारण खाली गर्न गर्न नसकिएको समिति स्रोतले बतायो। समितिका एक कर्मचारीले भने, अतिक्रमित संरचना खाली नगर्न स्थानीय जनप्रतिनिधिहरूबाट समेत दबाब आएको छ। ‘चुनावको मुखमा भोट नघटोस् भन्ने उहाँहरूको चाहना छ। त्यसैले यस्तो दबाब आउने गरेको छ,’ उनले भने।

ती कर्मचारीका अनुसार वाग्मती नदी दायाँबायाँ किनाराको अतिक्रमति संरचना खाली गर्न समितिले काम सुरु गरेपछि त्यस अभियानविरुद्ध विभिन्न तह र तप्काबाट दबाब आएको छ। समितिले निकालेको तथ्यांकअनुसार तिलगंगादेखि थापाथलीसम्म वागमती नदीको दायाँबायाँ किनारामा १ हजार ६ सय ६४ दशमलव १७ वर्गमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुम्बासीले हडपेको जग्गा भने जोडिएको छैन।

समितिका अनुसार सिनामंगलदेखि मीनभवनसम्म थापाथली पुलको दायाँबायाँ साइड, युएन पार्कदेखि थापाथली पुलसम्म, वाग्मती विष्णुमती दोभानदेखि बल्खु पुलसम्म अव्यवस्थित बसोबास गर्नेदेखि सुकुम्बासीहरूले कब्जा गरेर बसेका छन् ।

समितिले निकालेको सूचीमा समितिको स्वामित्वमा रहेको मनोहरा दोभान शंखमूलमा आर्ट अफिसियल नेपालका नाममा ८२ दशमलव ८० वर्गमिटर क्षेत्रफलमा जस्ताको छाना लगाएर यज्ञ गर्ने स्थल बनाइएको, कामनपा–३२ मनोहरा नदी दोभानमा १ सय १ दशमलव ८८ वर्गमिटर क्षेत्रफलमा मनोहरा दोभान समितिले बिम राखेर भवन बनाइएको जनाएको छ। यसैगरी सत्य साई केन्द्र काठमाडौंका नामबाट पाँच ठाउँमा वाग्मतीको दायाँबायाँ किनारमा सत्य साई स्तम्भ, मन्दिर, भजनकीर्तन हल, शौचालय, चियापसल बनाएको समितिले जनाएको छ।

समितिका अनुसार श्री रुद्रेश्वर महादेव व्यवस्थापन समितिको नाममा काठमाडौं–११ थापाथलीमा चार ठाउँमा छुट्टाछुट्टै वाग्मतीको जग्गा कब्जा गरिएको छ। तीमध्ये मन्दिर व्यवस्थापनका नाममा तीन ठाउँमा पक्की भवन तथा एक ठाउँमा कच्ची भवन बनाइएको छ। यसैगरी ओम शान्तिका नाममा काठमाडौं–११ थापाथलीमा चार ठाउँमा वाग्मती नदीको दायाँबायाँ किनाराको जग्गा अतिक्रमण गरिएको छ। यीमध्ये तीन ठाउँमा स्थायी भवन र एक ठाउँमा कच्ची भवन तयार गरिएको छ।

२०६५ मंसिर ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वागमती बहाव क्षेत्र (पानी बगेको क्षेत्रभन्दा २०/२० मिटर दायाँबायाँ) अतिक्रमण गरेर बनाइएको स्थायी तथा कच्ची संरचना खाली गर्ने निर्णय गरेको थियो। मन्त्रिपरषद्को उक्त निर्णयपछि वागमती सभ्यता एकीकृत विकास समितिले बेलाबेलामा वागमती दायाँबायाँ किनारामा बनाइएका अतिक्रमित संरचना खाली गर्ने प्रयास गर्‍यो तर सफल हुन सकेको थिएन।

वाग्मती किनारामा अतिक्रमण गरेर अव्यवस्थित बसोबास गर्नेहरूको तथ्यांक निकाल्न र सो सम्बन्धमा उपयुक्त सुझाव दिन समितिका एक बोर्ड सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ। मन्त्रालयबाट एक, राष्ट्रिय सुकुम्बासी मोर्चाबाट एक, विकास समितिबाट तीन, अभियन्ताबाट एक प्रतिनिधि रहनेगरी सात सदस्यीय मूल समिति गठन गरिएको छ।

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नदीकिनार अतिक्रमण गरेर बसेको बस्तीलाई हटाउँदै त्यसलाई व्यवस्थित गराउने बताउँदै आएकी थिइन्। त्यसैक्रममा केही समयअघि धोबीखोला किनारको बस्ती र त्यहाँको भएको अतिक्रमणको अवलोकन गर्नुका साथै त्यसलाई हटाउन निर्देशन दिएकी थिइन्। तर, उक्त अभियान पनि अघि बढ्न सकेको छैन।

प्रकाशित: ११ चैत्र २०७८ ०३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App