४ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

स्रोत नेतृत्व समूहको अनुभव र योजना निर्माण सम्बन्धी कार्यशाला सुरु

प्रभावकारी शिक्षण सिकाइका लागि स्रोत नेतृत्व समूहको अनुभव आदान-प्रदान तथा योजना निर्माण सम्बन्धी दुईदिने कार्यशाला ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा सुरु भएको छ।

ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र(रिड)नेपालले आफ्नो कार्यक्षेत्र क्रमशः फक्ताङ्लुङ र सिरिजङ्गा गाउँपालिकाका स्रोत शिक्षकहरुको सहभागितामा कार्यशाला सञ्चालन गरेको हो। कार्यशालाको सुभारम्भ गर्दै शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले प्रभावकारी शिक्षण सिकाइका लागि कसरी नेतृत्व दिने र व्यवस्थापन गर्ने भन्ने विषय महत्वपूर्ण हुने बताए।

‘सारमा यो कार्यशाला त्यही विषयमा केन्द्रित हुने छ’ उनले भने। भट्टराईले कोरोना लगायतका अन्य यस्तै महामारीका बेला पनि निरन्तर सिकाइलाई अघि बढाउन सम्बन्धित पालिका, विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय र अन्य सरोकारवालाको भूमिका देखिने गरी योजना बनेमा त्यसले संक्रमणकालीन अवस्थामा समेत शिक्षण सिकाइमा निरन्तरता प्रदान गर्ने विश्वास लिए।

रिड नेपालका जिल्ला कार्यक्रम प्रवन्धक राजेन्द्र पन्तका अनुसार दुईदिने कार्यशालाका क्रममा प्रभावकारी शिक्षण सिकाइका तौढतरिका बारे एकआपासमा अनुभाव आदान–प्रदान हुने छ। यस्तै प्रभावकारी शिक्षण सिकाइका लागि चाहिने कौशलता, अनुगमन र मूल्याङ्कनका तरिका र आगामी दिनमा स्रोत नेतृत्वको आफ्नै अगुवाइमा प्रभावकारी शिक्षण सिकाइ व्यवस्थापनलाई कसरी अघि बढाउने भन्ने विषयमा कार्यशाला केन्द्रित हुने उनले बताए।

रिड नेपालका शिक्षा विकास अधिकृत रोमा मावो लिम्बूका अनुसार कार्यशालाका क्रममा एक विद्यालय अर्को विद्यालयबीच भएका उदाहरणीय कार्यको समिक्षा र आफ्नै अगुवाइमा निरन्तर र प्रभावकारी शिक्षण सिकाइ व्यवस्थापनका लागि काम गर्न सक्ने योजना र संयन्त्र निर्माण समेत हुनेछ।

कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतम, पूर्व अध्यक्ष खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो। सन् २००६ बाट ताप्लेजुङको शैक्षिक उन्नयनमा काम गर्दै आइरहेको रिड नेपालले फक्ताङ्लुङ गाउँपालिकाका इखाबु, लेलेप, तापेथोक र ओलाङ्चुङगोला तथा सिरिजङ्गा गाउँपालिकाका याम्फुदिन, खेवाङ र मामाङ्खेलाई कार्य क्षेत्र बनाएको छ।

प्रकाशित: १० चैत्र २०७८ ०९:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App