रेडियोधर्मी पदार्थ ‘युरेनियम’ भन्दै ९८ करोड रूपैयाँमा बिक्री गर्न लागिएको पदार्थ युरेनियम नभएको पुष्टि भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीका अनुसार सो वस्तु युरेनियम नभएको पाइएको हो। युरेनियम भन्दै बिक्री गर्न लागिएको अवस्थामा उक्त पदार्थ प्रहरीले बरामद गरेको थियो।
‘हामीले खानी तथा भूगर्भ विभागमा पनि परीक्षण गर्यौ। त्यसपछि नास्टमा परीक्षण गरेर हेर्यौं,’ उनले भने, ‘दुवै ठाउँमा परीक्षण गर्दा पनि सो वस्तु युरेनियम नभएको पुष्टि भएको छ।’ युरेनियम नभएको पुष्टि भएपछि यस मामिलामा पक्राउ परेका ८ जनालाई प्रहरीले हाजिरी जमानीमा छाडिदिएको छ।
फागुन २ गते काठमाडौंको बौद्ध क्षेत्रमा रेडियोधर्मी पदार्थ ‘युरोनियम’ संकलन तथा भण्डारण गरी उच्चमूल्यमा बिक्री भइरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको टोलीले २ किलो ८ सय ग्राम शंकास्पद पदार्थसहित ८ जनालाई पक्राउ गरेको थियो। ह्यायत रिजेन्सी होटलको पार्किङ क्षेत्रबाट बा५च ८२०९ नम्बरको कारमा राखिएको अवस्थामा उक्त ‘युरेनियम जस्तो’ देखिने वस्तु प्रहरीले बरामद गरेको थियो।
उक्त पदार्थसँगै ललितपुर महानगरपालिका–१४ का ६० वर्षीय नवराज महत, मेलम्ची नगरपालिका–१ सिन्धुपाल्चोक घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका वडा–१० कपन बस्ने ३४ वर्षीय भूपेन्द्र खड्का, सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका–४ घरभई काठमाडाैं महानगरपालिका–६ महांकाल बस्ने ४० वर्षीय रामकृष्ण लामिछाने, लक्ष्मीपुर पतारी गाउँपालिका–३ सिराहाका ४० वर्षीय गोपीलाल दास, सिराहाकै वरियापारपट्टी गाउँपालिका–१ का ५५ वर्षीय जिवछ नारायण यादव र महोत्तरी घर भई हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ शिवचोक बस्ने ३८ वर्षीय सुरेन्द्रप्रसाद चौधरी पक्राउ परेका थिए।
उनीहरूसँगै दुईजना भारतीय ६३ वर्षीय उपेन्द्रकुमार मिश्र र ४४ वर्षीय राजु ठाकुर पनि पक्राउ परेका थिए। उनीहरूले सो वस्तुलाई युरेनियम भनेर प्रतिकिलो ३५ करोडमा ‘डिल’ गरेर बिक्री गर्ने तयारी गरेको प्रहरीले जनाएको छ। प्रहरी स्रोतका अनुसार त्यो वस्तु भारतबाट ल्याएर विदेशी नागरिकलाई बेच्ने उनीहरूको तयारी रहेको महानगरीय प्रहरी परिसर काठमाडाैंका प्रवक्ता मैनालीले बताए। पक्राउ परेका भारतका नागरिक मिश्रले युरेनियम भन्दै उक्त पदार्थ गयाबाट नेपाल ल्याएका थिए।
पक्रउ उनीहरूमाथि ‘रेडियोधर्मी पदार्थ (उपयोग तथा नियमन) ऐन, २०७७’ बमोजिमको कसुरमा मुद्दा चलाउनेगरी जिल्ला अदालत काठमाडौंबाट म्याद लिएर महानगरीय प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेको थियो। उक्त पदार्थ युरेनियम नभएको पत्ता लागेपछि उनीहरूार्य हाजिरी जमानीमा छाडिएको हो।
प्रकाशित: ८ चैत्र २०७८ ०५:५५ मंगलबार